कांग्रेस एक्लैले सरकार बनाए ओलीको साथ
एमाले अध्यक्ष केपी ओलीले प्रस्ताव राख्नुभयो, ‘अरुलाई लिइरहनुपर्दैन, तपाईंहरु आफैँ सरकार बनाउनुस्, हामी बाहिरबाट सहयोग गर्छौं !’ जवाफ पाउनुभयो, ‘त्यस्तो हुँदैन ।’
आइतबार नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसँग आफ्नो निवास बालकोटमा भेट्दा ओलीले यस्तो प्रस्ताव राख्नुभयो । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका रुपमा महामन्त्री गगन थापा अगाडि सरेपछि उनका ससुरा तथा नुवाकोटे नेता अर्जुननरसिंहलाई ओलीले बोलाएर यसरी मुख सुँघ्नुभएको हो । केसीले गठबन्धनसहित चुनावमा गएको र परिणाम आएपछि साझेदार दलबिनै सरकार बनाउने कुरा नैतिक नहुने भन्दै ओलीले भनेजसरी सरकार बनाउने प्रस्ताव अस्वीकार गर्नुभयो । ‘हामी जसरी चुनावमा गयौँ र त्यसबाट जे परिणाम आयो, त्यहीअनुसार अबको सरकार गठन हुन्छ, राजनीतिमा नैतिकतालाई छोड्यो भने त्यसले देश र जनताको हित गर्दैन,’ केसीले भन्नुभयो ।
ओलीलाई सबैभन्दा रिस रहेछ, स्वतन्त्रहरु उदाएकोमा । भन्नुभयो, ‘यिनीहरुलाई हामीसँग केको रिस हो ? यिनीहरुको इतिहास र आगामी लक्ष्य के हो ? बडो अचम्मसँग आए त †’ केसीको भनाइ थियो, ‘त्यसो भनेर हुँदैन । तपाईंको र मेरो पनि नेतृत्वप्रतिको असन्तुष्टि हो यो । हाम्रो कार्यशैली, नेता, नेतृत्व, नीति र शैलीविरुद्धको आक्रोश हो । यसलाई समयमा सुधार गरेनौँ भने विस्तारै असान्दर्भिक हुन्छौं । त्यसैले यो घटना हाम्रालागि शिक्षा हो, अरु किसिमले लिइयो भने हाम्रो असफलतालाई कसैले रोक्न सक्दैन ।’
टिप्पणीहरू