एमालेलाई झड्का दिने यस्तो छ अंकगणित

एमालेलाई झड्का दिने यस्तो छ अंकगणित

प्रदेश सभाको अन्तिम मतपरिणामले सरकार गठनमा सबैतिर एमालेलाई झड्का हान्ने अवस्था देखिएको छ । एमाले प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा ठूलो दल त बनेको छ तर सरकार बनाउन बहुमत भने पुग्दैन ।  मंसिर ४ मा सम्पन्न निर्वाचन परिणामअनुसार कांग्रेस बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो दल बन्न सफल भएको छ । कूल ५३ सिट रहेको सुदूरपश्चिम प्रदेश सभामा उसले प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ७ गरी कुल १९ सिट जितेको छ । यस्तै माओवादी केन्द्रले प्रत्यक्षमा ८ र समानुपातिकमा ३ सहित ११ सिट जितेको छ । 

यता, एमालेले प्रत्यक्षमा ३ र समानुपातिकमा ५ गरी ८ सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ५ र समानुपातिकमा २ गरी ७ सिट जितेको छ । एकीकृत समाजवादीलाई प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी ४ सिट हात लागेको छ । राप्रपाले समानुपातिकमा १ सिट मात्र जितेको छ । सुदूरपश्चिममा एक जना स्वतन्त्रबाट विजयी भएका छन् । यो प्रदेशमा गठबन्धनको शक्ति निकै बलियो देखिएको छ ।

४० सिट रहेको कर्णाली प्रदेश सभामा कांग्रेस ९ र ५ सहित जम्मा १४ सिट जित्दै पहिलो दल बनेको छ । ९ र ४ समेत १३ सिट प्राप्त गरी माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ । एमालेले ५–५ गरेर १० सिट जितेको छ । यस्तै एकीकृत समाजवादी र राप्रपाले समानुपातिकतर्फ १–१ सिट ल्याएका छन् । १ जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् । यसरी यो प्रदेशमा पनि गठवन्धन नै बलियो पोजिसनमा छ । 

मधेश प्रदेशका १०७ सिटमध्ये एमालेले १५ र ८ गरी २३ सिट जितेको छ । कांग्रेसले १३ र ९ गरी २२ सिट पाएको छ । माओवादी केन्द्रले ४ र ४ गरी जम्मा ८ सिट जितेको छ । मधेशमा जसपाले प्रत्यक्षतर्फ ९ र समानुपातिकको ७ सिट गरी १६ सिट जितेको छ । एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिटमा बाजी मारेको छ । यता लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी कूल ९ सिटमा जित हासिल गरेको छ ।

जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी कूल १३ सिट जितेको छ ।  राप्रपा नेपाल, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ १÷१ सिट मात्र प्राप्त गरेका छन् । मधेस प्रदेशमा ६ जना स्वतन्त्र सांसद विजयी भएका छन् । सत्ता गठवन्धनको सिट जोड्दा यहाँ पनि गठवन्धन नै बलियो अवस्थामा छ । यता ९३ सिट रहेको प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० सिट जितेको छ । कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सिट जितेर दोस्रो ठूलो दल भएको छ । 

माओवादी केन्द्रले ९ र ४ सहित १३ सिट जितेको छ । एकीकृत समाजवादीले ३ र  १ सहित ४ सिट पाएको छ । राप्रपाले प्रत्यक्षमा २ र समानुपातिकमा ४ गरी ६ सिट जितेको छ । जसपाले समानुपातिकमा १ सिट पाएको छ । गठवन्धनका लागि तुलनात्मक रूपमा कमजोर रहेको प्रदेश १ मा गठवन्धन इतरको १ सिट मात्र बढी देखिन्छ । यहाँ पनि तानतुन गरेर सरकार बन्ने संभावना छ । 

यसैगरी ११० सिट रहेको बागमती प्रदेशसभामा कांग्रेसले २५ र १२ गरी ३७ सिट जितेर पहिलो दल बनेको छ । एमाले २७ सिटसहित दोस्रो पोजिसनमा छ । माओवादी केन्द्र २१ सिट पाएर तेस्रो ठूलो दल बनेको छ । राप्रपाले १३ सिट ल्याएको छ । बागमती प्रदेशमा नेमकिपाको २ सिट छ । बागमतीमा पनि गठबन्धन नै बलियो अवस्थामा छ । ८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा पनि सत्ता गठबन्धनकै पल्लाभारी देखाएको छ । एमालेले २९, कांग्रेसले २७, माओवादीले ९ सिट जितेका छन् । 

जसपाले नागरिक उन्मुक्ति पार्टी र राप्रपाले २–२ सिट जितेका छन् । लोसपाले ३, जनमत पार्टीले २, जनमोर्चाले १ सिट सुरक्षित गर्दा यहाँ ३ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । 

६० सिट रहेको गण्डकी प्रदेशसभामा कांग्रेसले २७, एमालेले २२, माओवादीले ७ सिट प्राप्त गरेका छन् । प्रत्यक्षतर्फ नेपाल समाजवादी पार्टीले १ र स्वतन्त्रले १ सिट जितेका छन् । राप्रपाले समानुपातिकबाट २ सिट प्राप्त गरेको छ । यसरी गण्डकीमा पनि गठवन्धन निकै बलियो छ । अघिल्लो निर्वाचनको तुलनामा ठूला दलको समानुपातिक मत घटेको देखिन्छ । 
 

टिप्पणीहरू