कुण्डका अध्यक्षलाई ज्यानको खतरा, मागियो सुरक्षा
म्याग्दीको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले ज्यानको सुरक्षा मागेका छन् । आफ्नो ज्यान धरापमा परेको उल्लेख गर्दै उनले माओवादी केन्द्रको जिल्ला कार्यालयमा निवेदन दिएका हुन् । मंसिर २८ गते जनआस्था साप्ताहिक र अनलाइनमा छापिएको समाचारपछि उनलाई सुरक्षा थ्रेट आएको स्रोतले बताएको छ । उक्त समाचारलाई लिएर हाकिमहरूले धम्क्याएको स्रोतको भनाइ छ । यसबारे समितिमा छलफलसमेत भएको छ । समितिका पदाधिकारीहरूले यसलाई ढाकछोप गर्न खोजेका छन् ।
अध्यक्ष वीरेन्द्रले भने, ‘धम्की नै आएको छैन भने मैले किन निवेदन दिनुप¥यो ?’ त्यस्तै, उपाध्यक्ष कुमार केसीले आफूलाई यसबारे केही जानकारी नभएको बताए । तर, समाचारको विषयलाई लिएर बैठक राखिएको उनले स्वीकारे । ‘निवेदनको विषयमा मलाई थाहा छैन तर शनिबार समाचारको विषयलाई लिएर बैठकचाहिँ राखेका थियौं ।’ माओवादीका बेनी नगर कमिटी सचिव ज्ञानेन्द्र सुवेदीले तातोपानी कुण्डबाट सुरक्षाका निम्ति निवेदन आएको स्वीकार गरेका छन् ।
‘तातोपानी कुण्डबाट केही दिनअघि निवेदन आएको छ तर मैले राम्ररी पढ्न पाएको छैन् । सुरक्षाको विषय नै उल्लेख गरिएजस्तो लाग्छ, म बाहिर छु, तपाईंलाई कार्यालय पुगेर पठाइदिन्छु’, उनले भने । तर, उनलाई फेरि सम्पर्क गर्दा निवेदनको प्रतिलिपि दिन मानेनन् । कार्यालयले नदिनु भनेकाले आफूले दिन नमिल्ने उनको भनाइ छ । ‘हाम्रो कार्यालयमा छलफल भएको थियो । कसैले पनि पत्रिकालाई पत्र नदिन भन्नुभएको छ’, उनी भन्छन्,‘त्यसैले मैले पत्र दिन मिल्दैन ।’ निवेदनमा भएको व्यहोरा पढेर सुनाइदिनु भन्दा उनले थपे, ‘मलाई पत्रमा लेखिएको कुनै पनि विषय आउट नगर्नु भनेर कडा निर्देशन आएको छ ।’ निर्देशन दिने व्यक्तिको नाम उनले खुलाउन चाहेनन् ।
माओवादी कार्यालयले निवेदन लुकाएरसूचनाको हक खोसेको छ । पहिले दिन मिल्ने, पछि फेरि दिन नमिल्ने भनिपछि शंका पैदा भएको छ । उनलाई पनि सुरक्षा निकायका हाकिमले धम्की दिएका हुन् कि ? भन्ने अड्कलबाजी स्रोतको छ । अध्यक्ष वीरेन्द्रमान माओवादीकै कार्यकर्ता हुन् । त्यसैले उनले आफ्नो सुरक्षाको माग गर्दै माओवादी कार्यालयमा निवेदन दिएका हुन् । यता, सचिव ज्ञानेन्द्र जिल्ला अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष छन् । उनै हुँदा समितिका सदस्यले गुण्डा उठाएर डाक्टरलाई कुट्ने धम्की दिएका थिए ।
जनआस्थाले ‘सुरक्षा निकायका जम्मै हाकिमलाई माफी मगाइयो’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । म्याग्दी जिल्लास्थित सबै सुरक्षा प्रमुख र स्थानीयबीच हंगामा भएको सिसिटिभी फुटेज फेला परेको छ । सुरक्षा टोलीले मदिरा सेवन गरी राति नशा उतार्न जाँदा कुण्डमा भाँडभैलो मच्चिएको, समितिका कर्मचारीमाथि हातपात गर्न खोजिएपछि विवाद उत्पन्न भएको र जनता उर्लेर तिनलाई माफी मगाइएको खबर गत हप्ता छापिएको थियो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानासहित डिएसपी तिलक भारती, मेजर सशांकराज अर्याल, सशस्त्रका प्रदीप थापा र गुप्तचर अधिकृत विजय पौडेलको टोली राति नशा चढाएर कुण्ड पुगेपछि लफडा भएको बताइन्छ । समितिका सबै पदाधिकारीले यो कुरा स्वीकार गरिसकेका छन् ।
टिप्पणीहरू