भव्य आगमन, दुःखद बिदाइ
चार वर्षअघि सर्वाेच्च अदालतमा चोलेन्द्रसमशेर राणाको यति भव्य आगमन भएको थियो कि अहिले यस्तो बिदाइ होला भन्ने कमैले सोचेका थिए । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध इजलासमै विद्रोह बोल्ने राणाले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको साइनबोर्ड र कुर्सीसम्म पनि फालिदिएर दबंग शैलीमा न्यायालयभित्र ‘इन्ट्री’ मारेका थिए । शक्तिलाई ब्यालेन्समा राखेर खेल्न सिपालु राणा आफैंले पनि मंसिर २७ मा पैंसठ्ठी वर्षे उमेर हदका कारण यसरी अवकाश होला भन्ने सायदै सोचेका थिए ।
अलिअलि अमिलो मन बनाएर अवकाश पाउने त दर्जनाैँ प्रधानन्यायाधीश थिए तर तिरस्कृत र बहिष्कृत भएर घर जानेमा राणाको नाम पहिलो नम्बरमा आउने अवस्था बनेको छ । यसरी बिदाइ पाएको व्यक्तिले पेन्सन वा सुविधा पाउनु वा नपाउनुसँग तात्विक भिन्नता रहँदैन ।
राणाको जस्तो बिदाइ र अवकाशका घट्ना भविष्यमा नदोहोरिउन् भन्नका लागि महाभियोग टुंगोमा पुग्न आवश्यक रहेको कानुनविद्हरू बताउ“छन् । न्याय वा अन्याय हुनु उनीसँग नितान्त सम्बन्धित भए पनि अब बन्ने नजिरसँग समग्र न्यायपालिकाको अस्तित्व र स्वतन्त्रता जोडिन्छ भन्नेहरू कम छैनन् ।
सत्ता वा राजनीतिले मन नपराउने अवस्थामा भोलि कुनै पनि प्रधानन्यायाधीश कोपभाजनको शिकार हुनुपर्दैन भन्ने सुनिश्चितता नभएसम्म न्यायालयले स्वतन्त्र भूमिका खेल्न नसक्नेमा द्विविधा नै छैन । त्यसको ग्यारेन्टीका लागि समेत महाभियोगमा निर्णय हुन आवश्यक छ ।
आफूमाथिको महाभियोग पारित नभई प्रतिनिधिसभा विघटन भएपश्चात् राणा सर्वाेच्च अदालतमा फर्किन खोज्दा सरकारले नजरबन्दमा राख्नु र आफ्नै सहकर्मीहरूको संवैधानिक इजलासले ढोका बन्द गरिदिनु आफैंमा ऐतिहासिक र स्मरणीय परिघटना हुन् ।
एउटा प्रधानन्यायाधीशलाई सुरक्षाकर्मी खटाएर र ब्यारिकेड राखेर कार्यालय जानबाट रोक्नुपर्ने, सहकर्मी न्यायाधिहरूले तिमीलाई अदालतको ढोकामा छिर्न दिइनेछैन भनेर औपचारिक रूपमा बोल्नुपर्ने अवस्था संसारमा बिरलै मात्र देख्न पाइन्छ ।
संसदीय महाभियोग समितिमा बयान दिएर धेरैलाई गलत र आफूलाई सही सावित गर्न प्रयास गरे पनि राणा सर्वाेच्च अदालत फर्किन नसक्नुले पद मात्रै ठूलो कुरा होइन रहेछ भन्ने पुष्टि भइसकेको छ । मर्यादा, सम्मान र इज्जत सबैभन्दा माथिल्लो ठाउ“मा हुने गर्दछन् । उनले लगाएका आरोप सही पनि हुन सक्लान् या बदलाको अभिव्यक्ति मात्र मानिन पनि सक्छ तर चोलेन्द्र ओरालो लागेको अवस्थाले गर्दा ती सबै बतासे गफमा परिणत भएको भने पक्का छ । लोकमानसिंह कार्कीले जतिसुकै गीत पाठ गरे पनि उनका कुरा कसले पत्याउने ? त्यसैले भन्ने गरिन्छ– नियत ठीक भए सब ठीक हुन्छ ।
हिजो सुशीला कार्कीमाथि आईजीपी नियुक्ति प्रकरणमा काँग्रेस पृष्ठभूमिको भैकन पनि काँग्रेसले नै महाअभियोग दर्ता र निलम्मबन गरेको थियो । दीपक जोशी र गोपाल पराजुलीको अपमानजनक बहिर्गमन भयो भने दीपक कार्कीले समेत कन्फर्म खान पाएनन् । वकिलका धर्ना, नारावाजी, बेञ्च बहिष्कार, अदालत ठप्प यस्तै बीच हुन गए ।
टिप्पणीहरू