अवसर नपाउने नानीमैयाँहरु अनगिन्ती

अवसर नपाउने नानीमैयाँहरु अनगिन्ती

विचार तब मात्र जीवित हुन्छ जब संगठन बच्छ तर दलभित्रका विकृति टुलुटुलु हेरेर बस्ने ‘दास’हरू बढेको अवस्थामा सबै महिला कहाँ नानीमैयाँ नेपालजस्तै हुन्छन् र ? संघर्ष गर्नुपर्दा उपत्यकाभित्रका दलितहरू जाग्नुपर्ने तर अवसर यहाँका कुनै दलितले नपाउने भएपछि तीतो पोखियो अस्ति सोमबार । 

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य रमेश अछामी, काठमाडौं जिल्ला सभापति गंगा सुनुवार, समानुपातिकमा सिफारिस भएका हरिशरण नेपाली, उपत्यका समन्वय समितिका पूर्वसंयोजक लालबहादुर भित्रकोटी अतिथिका रूपमा आमन्त्रित थिए तर दलका विरुद्ध बोल्दा दण्डित हुने भयका कारण कार्यक्रममा कोही पनि उपस्थित भइदिएनन् । रमेश अछामीले बहाना बनाए– काका बिरामी भएको, अन्यले मोबाइलै स्विच्ड अफ गरेर बसेपछि हैरानी खेपिन् एक्ली नानीमैयाँले ।

कुपण्डोल र जावलाखेललाई मात्र ललितपुर ठान्ने नेताको चिन्तन छ तर राजधानीभित्रैको कर्णाली मानिने लुभु, लामाटार, प्युटार, गिम्दी, गोटीखेलका गाउँ बस्तीमा पुगेर आफूले संगठन निर्माण गरेको र अवसरचाहिँ उर्मिला केसीहरूलाई दिइएको भन्दै नानीमैयाँले ‘आगो’ ओकलेकी हुन् ।

०६२/६३ को आन्दोलनपछि निरन्तर चारतारे झण्डा बोकेर हिँडेकी उनले ०६४ सालदेखि ०७३ सम्म लगातार ९ वर्ष नेपाल दलित संघ (ललितपुर) को सभापति चलाइन् । ०७० मै समानुपातिक टिकट हात पारेकी थिइन् । यसपटक प्रतिनिधिसभाबाट टिकट पाउने पक्कापक्की थियो तर ललितपुरमा कांग्रेसको बीजारोपण गर्नेमध्येका एक पूर्वसभापति ओमकार श्रेष्ठका लागि मैदान छाडिदिएको भए पनि जिल्ला सभापति जितेन्द्र मलेकु श्रेष्ठ र क्षेत्रीय सभापति महेश्वर थापाका कारण गठबन्धन हार्नुपरेको कारण नैतिकताका आधारमा ती दुईले राजीनामा दिनुपर्ने उनको माग छ । 

महेश्वर थापाले मुखैमा आएको दलित समन्वय समितिको संयोजक, दलित आयोगको सदस्य र नगर सभा सदस्यलगायतका पद खोसेर विकास रोक्कालाई पोसिएको प्रति पनि नानीमैयाँले पीडा पोखेकी छन् । 
 

टिप्पणीहरू