भरतपुरमा पिसाबै महँगो !

भरतपुरमा पिसाबै महँगो !

शीर्षक पढ्दा पिसाबको पनि मूल्य हुन्छ र ? भन्ने लाग्ला १ हुन त दिसा–पिसाबलाई व्यवस्थित ढंगले जम्मा गरी मूल्यवान प्रांगारिक मल र बायोग्यास पनि बनाउन सकिने विज्ञ बताउँछन् । तर यहाँ कुरो अर्कै हो । मलमूत्र फ्याँक्नैपर्ने शरीरको विकार हो । दिसापिसाब समयमै नगर्दा, रोकेर राख्दा, लामो समयसम्म च्यापेर बस्दा शरीरमा विभिन्न किसिमका रोग बन्न जान्छ । घरमा त सबैकै चर्पी हुन्छ नै ! बाहिर सार्वजनिक स्थलहरुमा सरकारले नै सार्वजनिक शौचालयको व्यवस्थापन गरिदिनुपर्ने हो । तर देशका प्रमुख शहरहरुमै सार्वजनिक शौचालय व्यवस्थित छैनन् । खानेकुरा त किन्नैपर्यो । पालिकाहरुले जनतासँग हरतरहको दस्तुर र कर पनि असुल्छन् । फेरि फोहोरमैलाको पैसा पनि छुट्टै ! त्यहि पनि जनतालाई खाएको फोहोर फ्याँक्न समेत सास्ती छ । सितिमिति सार्वजनिक शौचालय नै भेटिँदैन, भेटिए पनि पैसा नतिरी सुख छैन ।

 सरकारले ठाउँ–ठाउँमा निःशुल्क शौचालयको प्रबन्ध नगर्दा व्यापारी ठेकेदारहरुले मान्छे राखेर पैसा उठाउँदै आएका छन् । अहिलेको जमानामा पिसाबको पाँच रुपैयाँ र दिसा गरेको १० रुपैयाँ त सबैतिर सामान्य र सर्वमान्य नै भइसक्यो । त्यसमाथि चितवनको भरतपुरस्थित चौबीसकोठीमा भने दिसाकोमात्रै होइन सिर्फ पिसाब फेरेको पनि १० रुपैयाँ ठटाएर अचाक्ली गरिएको छ ।

भरतपुर विमानस्थलले चौबीसकोठी चोकमा ठूलो दुईतले व्यापारिक भवन बनाएर ठेकेदारलाई भाडामा चलाउन दिएको छ । भुइँतलामै २२/२४ वटा सटरमा पसल व्यवसाय सञ्चालित छन् । माथिल्लो तलामा पनि व्यवसायका लागि थुप्रै सटर छन् । होटलहरु धेरै छन् । अरु पसलमा नभए पनि होटलहरुमा खान आउने ग्राहकलाई हातमुख धुने, दिसा–पिसाब गर्ने ठाउँ होटलले नै दिनुपर्ने हो तर यहाँ त्यो पनि छैन । शौचालय पनि व्यापार गर्ने विशेष अखडा जसरी बनाइएको छ । पूरै व्यापारिक भवनमा जम्मा २–३ वटा सःशुल्क शौचालय बनाएर बाटो हिँड्ने यात्रु हुन् या होटल–पसलका ग्राहक सबैसित पैसा असुलिन्छ । यहाँ तुरुक्क पिसाब फेरेकै १० रुपैयाँ लिएर चर्काे व्यापार गरिएको हो । 

गत बुधबार उक्त बाटोमा यात्रा गर्दैगर्दा त्यस शौचालयमा पिसाब फेर्न पुगेकी थिइन् भरतपुर, शुक्रनगरकी सुष्मा सुनार । स–साना दुईवटा बच्चा लिएर उनी कतै हिँडेकी थिइन् । उनको बच्चाले पनि त्यहाँ पिसाब फेरेका थिए । पिसाब फेरेको एकजनाकै १० रुपैयाँ लिनु अत्यन्त महँगो भएको उनले बताइन् । ‘सबैतिर पाँच रुपैयाँ लिन्छ, यहाँ पनि पाँच नै होला भनेर आएको । १० रुपैयाँ लियो’, उनले भनिन् । सोही बेला भरतपुुर–२४, नयाँबस्तीका दुईजना केटीहरु पनि यहाँ पिसाब फेर्न आए । पिसाब फेरेकै १० रुपैयाँ लिनु लुटधन्दा भएको उनीहरुले पनि बताए । अर्की एक महिला भन्दै थिइन्, ‘महँगो भएर के गर्नु, दिनैप¥यो !’

भरतपुरकै पोखराबसपार्क र केन्द्रीय बसपार्कमा रहेको शौचालयमा पनि दिसा–पिसाब गरेको पैसा लिइन्छ– पिसाबको ५ र दिसाको १० रुपैयाँ । पोखरा बसपार्कको शौचालय ठेक्कामा चलाउने राजेश राउतले समेत पिसाबको १० रुपैयाँ लिनु ‘अति’ भएको बताए । 

नारायणगढ, पुलचोकमा कैलाश पेट्रोल पम्पले सार्वजनिक प्रयोगका लागि बनाएको शौचालयमा पैसा नतिरे पनि आवश्यक परेकालाई दिसा–पिसाब गर्न दिइन्छ । त्यहीँ सामान बेच्ने एकजना पसलेले यहाँ शौच गरेको पैसा तिर्न कसैलाई कर नभएको बताउँदै बाकसमा स्वेच्छाले पैसा हाल्न सकिने जनाए । चौबीसकोठीमा पिसाब फेरेकै १० रुपैयाँ लिनु अत्यधिक भएको उनी पनि बताउँछन् । 

पुलचोकमा भरतपुर खानेपानी व्यवस्थापन बोर्डले पनि सशस्त्र प्रहरी र सर्वसाधारणका लागि पुलको मुखैमा सार्वजनिक शौचालय बनाइएदिएको छ, जहाँ मलमूत्र विसर्जनका लागि पैसा तिर्नैपर्ने छैन । खानेपानी पनि निःशुल्क पाइन्छ । सामाजिक उत्तरदायित्वअन्तर्गत भरतपुर खानेपानी व्यवस्थापन बोर्डले आँपटारीमा पनि यस्तै स्वैच्छिक सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा रहेको बोर्डका प्रशासन शाखा प्रमुख सञ्जय बरालले जानकारी दिए । बोर्डले धेरै मान्छेको चहलपहल हुने वीरेन्द्र क्याम्पस चोक, चौबीसकोठी चोक, केन्द्रीय बसपार्क चोक र मालपोत चोकमा पनि सार्वजनिक शौचालय बनाउन खोजिरहेको तर जग्गा पाउन नसकिएको बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल बताउँछन् । 

भरतपुर–माडी आउजाउ गर्ने राष्ट्रिय निकुञ्जको बाटोमा कसरा–वनकट्टा चेकपोष्टमा गाडी रोक्दा पिसाब फेर्न टिनले बारिएको ठाउँमा गन्हाएर उत्पात हुने बताउँदै जङ्गलमै खुला रुपमा दिसापिसाब गर्न मानिसहरु बाध्य रहेको बोर्डका प्रशासन प्रमुख सञ्जय बरालले जनाएका छन् । राष्ट्रिय निकुञ्जजस्तो पर्यटकीय क्षेत्रमा एउटा व्यवस्थित शौचालयसमेत नहुनु लाजमर्दाे भएको उनी बताउँछन् । 

टिप्पणीहरू