बधाई दिन आउँदैमा राष्ट्रपति दिनुपर्छ र !

खिलराज अँध्यारोमा बालुवाटार छिरेको बारे प्रधानमन्त्री देउवाको खुलासा :

बधाई दिन आउँदैमा राष्ट्रपति दिनुपर्छ र !

शेरबहादुर देउवा ‘सल्लाहमै गर्ने हो’ बाहेक केही पनि भन्नुहुन्न । प्रचण्डले उहाँसँग भेटेपछि ‘गतिलो छाँट’ देख्नुभएन र आफूसहितका अन्य दलको हिसाब बोकेर सोलोडोलो कुरा गर्न थाल्नुभएको छ । माधव नेपाललाई गरिएको राष्ट्रपतिवाला प्रस्तावबारे उहाँ शुरुमा ‘नाइँ–नाइँ’ भन्दै हुनुहुन्थ्यो, अहिले ‘ठीकै हुन्छ कि क्या हो’ भन्नेमा पुग्नुभएको छ ।

यसरी अबको सरकार कस्तो, कसको र कसरी बन्छ ? राजनीतिक बृत्तमा बहुप्रतिक्षित विषय बनेको छ । एमालेको समर्थनमा अरु वामपन्थीलाई बाहिर राखेर कांग्रेस नेतृत्वको गैर वाम सरकार बन्ला ? वा पाँचदलीय गठबन्धनभित्र अरु दल थपेर जोडघटाउ मिलाइएला ? यस्ता प्रश्नहरूले ठोस रुप लिइसकेको छैन । बरु, राजनीतिक घटनाक्रम आन्तरिक र वाह्य शक्तिहरूका स्वार्थमुताविक अनेकन किसिमले विकास भइरहेका छन् । 

राष्ट्रपतिले सात दिनको समयसीमा तोकेर नयाँ सरकार गठनका निम्ति संविधानको धारा ७६ (२) बमोजिम आह्वान गरेपछि अनेक रस्साकस्सी शुरु भएको हो । विभिन्न सम्भावना र संशयबीच रुमल्लिएका ती प्रश्नमा नेपाली कांग्रेसले संसदीय दलको नेता छानेपछि एमाले र माओवादी दुबैले आ–आफ्ना स्वार्थ मुताविकका चलखेललाई तीव्र पार्ने छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनमा सहभागी दलका नेतासँग भेट हुँदा ती दललाई नछुटाई, त्यसमा थप दलसहितको बनाउने बताउँदै आउनुभएको छ । तर, यी त बाहिरी कुरामात्र भए । भित्रभित्र राजनीति फरक किसिमले चल्दैछ । एमाले चाहन्छ, एकीकृत समाजवादीबाहेकको सरकार बनोस् र त्यसनिम्ति नेपाली कांग्रेसलाई समर्थनको वचन दिनुपरे पनि तयार † यसअनुसार, नेपाली कांग्रेसको एउटा तप्का संसदभित्रका सम्पूर्ण गैरकम्युनिष्टलाई एक ठाउँमा लिएर सरकार बनाउनुपर्छ भन्नेमा हौसिएको छ । पाँचदलीय गठबन्धनभित्रचाहिँ सरकार बनाउने, तर ‘पावर शेयरिङ’ कस्तो हुन्छ भन्ने निश्चित नभएको स्थिति छ ।

एमालेको रणनीति अर्कै छ, कांग्रेससँग मिलेर सरकारमा जाने र माओवादी, समाजवादीलाई हेरेको हे¥यै बनाउने † त्यसो त यसनिम्ति स्वयं प्रधानमन्त्री देउवा तयार हुनुहुन्न । किनभने, एमालेले जसरी कांग्रेससँग सरकारमा सहभागिताको कुरा गरेको छ, माओवादीतिर पनि त्यसरी नै केही तुरुप फालेको पाइन्छ । यसपछि नै हो प्रचण्डले सोमबार ‘प्रधानमन्त्रीका लागि सबै चिज दाउमा नलगाउने’ भन्नुभएको । अर्थात्, एक थान प्रधानमन्त्रीका लागि गठबन्धन छाडेर अर्कै बाटो समात्नेजस्ता काम आफूबाट नहुने संकेत उहाँले गर्नुभएको छ । यसबाट बुझिन्छ, शेरबहादुरले चाहनुभएजस्तो गठबन्धनको सरकार निर्माण नै उहाँको प्राथमिकता हो ।

विभिन्न किसिमका भेटघाट र संवादले तीव्रता पाइरहँदा बजारमा एउटा हल्ला आयो, पूर्वप्रधानन्यायाधीश तथा ०६९ को कर्मचारी सरकारका अध्यक्ष खिलराज रेग्मीलाई राष्ट्रपति बनाइने । रेग्मीले प्रधानमन्त्री देउवासँग भेटिसक्नुभयो भन्ने हल्ला चलेपछि माधव–प्रचण्डले सोध्नुभयो, ‘कुरा के हो’ भनेर । देउवाको जवाफ थियो, ‘बधाई दिन्छु भनेर आउनुभयो, नआउनुस् कसरी भन्नु ? बधाई दिन आउँदैमा राष्ट्रपति दिनुपर्छ र ?’ 

यसपछि प्रचण्डले अर्को तुरुप फ्याँक्नुभयो, अर्का पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठबारे । ‘स्वतन्त्र वा गैरदलीय राष्ट्रपति’ को यो फण्डाले बजारमा ठाउँ पाउनुको पछाडि उहाँले निकाल्नुभएको उपाय पनि कारक बनेको नेताहरू बताउँछन्  । यदि त्यसो गर्ने हो भने शुरुमा संविधान संशोधन गर्नुपर्ने हुन्छ । देशमा त्यस्तो कुनै संकट वा जटिलता आएको छैन कि, भएको राजनीतिक नेतृत्वलाई बाहिर राखेर ‘स्वतन्त्र वा गैरदलीय’ व्यक्तिलाई जिम्मेवारी दिनु परोस् । 

बरु, ०७४ को निर्वाचनपछि अपनाइएको मोडालिटीमा जान कांग्रेस इच्छुक देखिन्छ । त्यो भनेको राष्ट्रपति र प्रधानमन्त्री दुबै एमालेले लिएजस्तै अहिले ती दुई पद आफै लिने । प्रमुख दलका नेताबाट राष्ट्रपतिमा प्रस्तावित हुनुभएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वयंले लौ त नि भन्दामात्रै हुने स्थिति छ । तर, उहाँले आफ्नो दलका लागि राष्ट्रपति मागिहाल्ने अवस्था छैन । उहाँ नहुने हो भने उक्त पार्टीका अर्का दावेदार हुनुहुन्छ, झलनाथ खनाल । उहाँलाई कांग्रेसकै नेताहरूले हुन दिँदैनन् । यसर्थ, स्वयं माधवले ‘म हुन्छु’ भन्दा पाउने, अरुका लागि नमिल्ने स्थिति भएको बताइन्छ । यदि उहाँले राष्ट्रपति स्वीकार्नु भएन भने त्यसमा कांग्रेसकै दावी रहने स्थिति छ । माधवले मान्नुभएन भने राष्ट्रपति र प्रधानमन्त्री अहिले कांग्रेससँगै राखेर प्रधानमन्त्री पदलाई आलोपालो गर्नेतिर स्थिति मोडिने सम्भावना छ । यस्तो हुँदा माओवादीलाई सभामुख, मधेसवादीमध्येबाट उपराष्ट्रपति हुनसक्छ ।

यो घटनाक्रमलाई प्रचण्ड–माधवको भेटमा भएका संवादले पुष्टि गर्छ । शेरबहादुर देउवासँग भेटेर फर्किएपछि प्रचण्डले शनिबार माधव नेपाललाई भन्नुभयो, ‘मैले त राम्रो छाँट देखिनँ है †’ उहाँले प्रधानमन्त्री हुने आफ्नो बाटो कांग्रेसले छेक्न लागेको कुरालाई ‘नराम्रो छाँट’ का रुपमा बुझ्नुभएको र राष्ट्रपति पनि आफैँले लिने भनेर पेल्न खोजेको अनुभूतिका साथ निराशा व्यक्त गर्नुभएको हो । तर, २ गते शनिबार साँझ माधवसँगको भेटमा देउवाले ‘बसेर छलफल गरौँ, गठबन्धन मिलाएरै जाने हो’ भन्नुभएको छ ।

रमाइलो त के भने, चुनावको मुखमा माओवादी केन्द्र र कांग्रेस नेताहरूको पेलानका कारण गठबन्धन छाडी एमालेसँग चुनावी तालमेल गरेको उपेन्द्र यादव नेतृत्वको जसपा पनि गठबन्धनमा फर्किएको छ । उपेन्द्रहरू फर्किएपछि लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पीर छ, गठबन्धनको बैठकमा नबोलाइने हो कि भन्ने † आइतबार दिउँसो माधव नेपालसँग भेट्न पुग्नुभएका महन्थको अनुरोध थियो, ‘हामीलाई पनि गठबन्धनको बैठकमा बोलाइदिनुस् †’

सोही दिन माधवलाई वामपन्थी नेता वामदेव गौतमले सरकारमा नगई पार्टी निर्माणमा तल्लिन हुन र एमालेसँग धेरै टाढा नहुन सुझाव दिनुभयो । माधवले ‘पार्टीमा आउनुस्’ भन्नुभयो । तर, एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकार नगरेको भन्दै उक्त प्रस्ताव स्वीकार्नुभएन । 

वामदेवको अर्को माग थियो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति । तर, हाम्रोजस्तो देशमा त्यो कुरा घातक हुने र जस्तो पायो त्यस्तै पात्र प्रकट हुने भन्दै उक्त पार्टीका नेताहरूले यो माग पनि स्वीकारेका छैनन् । त्यस्तै, पूर्ण समानुपातिक निर्वाचन प्रणालीले जनप्रतिनिधिमा जनताप्रतिको उत्तरदायित्व समाप्त हुन्छ भन्दै त्यतातिर समेत जान नसकिने बताइएको छ ।
 

टिप्पणीहरू