विकल्पबारे साेध्दै हिँडे विदेशी
नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्कने या अर्कोखाले समीकरणबाट नेपालमा नयाँ सरकार बन्ने झिनो सम्भावनाबारे विदेशीहरुले जिज्ञाशा राख्न थालेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बिहीबार दिउँसो २ बजे पार्टी कार्यालयमा भेट्न गएका नेपालस्थित कार्यवाहक चिनियाँ राजदूत वाङ सिनले त्यस्तो सम्भावनाबारे जान्न खोजेका हुन् । करिव डेढ घण्टाको कुराकानीका क्रममा वाङले लिङ्देनसँग सीधै अब के होला त भनेनन् । तर, राप्रपाको नाडी छाम्दै घुमाउरो पारामा सोधे, ‘कसैको बहुमत नपुगेको अवस्थामा गठबन्धन हुनु राम्रो हो, यसको विकल्प बन्ने सम्भावना कस्तो छ ? तपाईंको भूमिका के रहन्छ ?’
डिसिएम वाङ अध्यक्ष लिङ्देनलाई भेटेर फर्किएपछि राप्रपाका नेताहरू उपाध्यक्ष हेमजंग गुरुङ (सचिवालय प्रमुख), महामन्त्री राजेन्द्र गुरुङ, कुन्ती शाही, कुन्ती पोखरेल, निरञ्जन थापा, केदार कोइराला, मुकुन्दश्याम गिरी, केदार न्यौपाने, गोपी न्यौपाने चर्चा गर्दै थिए, ‘यसचोटिको निर्वाचनमा राप्रपाले धेरै सीट ल्याउँछ भनेर अमेरिकाले घण्टीलाई अगाडि बढाएको हो ।’ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ घण्टीबाट उठ्न खोजेको चर्चा पनि चल्यो । उनका जेठान तथा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले भनेका रहेछन्, ‘जानै मन भए एमाले, कांग्रेसतिर जाऊ, माओवादी र घण्टीतिर हैन बरु राप्रपामा आऊ ।’
राप्रपाले चुनाव जिते नेपाल हिन्दू राज्य बन्ने दिशातिर उन्मुख हुने चिन्ता पश्चिमाहरूमा भएका कारण घण्टीलाई अगाडि बढाइएको र त्यसले राप्रपाको मत तानेको उनीहरूको ठम्याई छ । पार्टी अफिसमा बसेर उनीहरूले समीक्षा गरे– ‘२ अर्बभन्दा बढी जनसंख्या भएका विश्वमा ६० क्रिश्चियन राष्ट्र छन् । संसारभर १ अर्ब ८० करोड मुसलमानको जनसंख्या छ र ५० राष्ट्र तिनैले चलाउँछन् । विश्वभर १ अर्ब ४० करोड हिन्दू जनसंख्या छ, तर हिन्दू राष्ट्र कतै छैन । भएकै एउटा राष्ट्र नेपाललाई पनि अमेरिका र युरोपियन युनियनले पैसा खन्याइ खन्याइ ०६२÷६३ को आन्दोलनपश्चात सोत्तर बनाए ।’
टिप्पणीहरू