चुनावी ‘रोग’बारे राष्ट्रपतिका चिन्ता

चुनावी ‘रोग’बारे राष्ट्रपतिका चिन्ता

सम्माननीय राष्ट्रपतिलाई चिन्ता रहेछ, ‘चुनावी रोग’ को । भन्नुभयो, ‘कतै–कतै त जनताले भोट हाल्नै पाएनन् भन्ने पनि सुनियो !’ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सम्पूर्ण परिणाम पेश गर्न गतहप्ता निर्वाचन आयोगका पदाधिकारीहरू शीतल निवास पुग्दा राष्ट्रपतिले त्यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘राम्रोसँग चुनाव सक्नुभयो, यसले स्थायित्व, सुशासन देओस् ।’ त्यसदिन उहाँ मोरङको स्कुल उद्घाटनमा जाने हतारोमा हुनुहुन्थ्यो । भन्नुभयो, ‘धेरै कुरा गर्न मन थियो ।

तर, बाहिर जानुपर्ने भयो । अघि नै हिँड्थें, तर तपाईंहरू आउने भनेपछि एकछिन ढिला गरेँ ।’ उहाँले दोलखा, बाजुरा र स्याङ्जामा भएका विभिन्न चुनावी घटना स्मरण गर्र्दै जनताले मताधिकार नपाउने पुरानो रोग अहिलेसम्म कायम रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

फागुनमा घर जाने निर्वाचन आयुक्त ईश्वरी पौडेलतिर हेर्दै भन्नुभयो, ‘तपाईं त दुबै (०७४ को पनि) चुनाव गराउन भ्याउने भाग्यमानी...!’ आयोगको टोली गलल हाँस्यो । उहाँले अरु आयुक्तहरूलाई अर्को चुनावसम्म पनि पदमै रहन शुभकामना दिनुभयो र थप्नुभयो, ‘तपाईंहरूले भाग्यमानी हुन खोज्दा देशलाई दुर्भाग्यचाहिँ नहोस् ।’ 

०७४ मा निर्वाचन परिणाम पेश भएको भोलिपल्टै केपी ओलीलाई शीतल निवास बोलाएर प्रधानमन्त्रीको शपथ गराइएको थियो । त्यो हेरिकन यसचोटि ढिला भएको छ ।  एउटा व्यक्तिले सांसदका रुपमा वैधानिकता पाउने अन्तिम विधि शपथ ग्रहण हो, त्यसमा भाग नलिई माननीयका हैसियतले प्रधानमन्त्री र मन्त्री बन्ने प्रक्रियामा जानु उल्टो बाटो भएको संविधानविद्हरूले तर्क गरेका छन् । यस्तो कुरा उठेपछि भोलि बिहीबार नै सांसदहरूको शपथ ग्रहण तय भएको छ ।

अब नयाँ संसदका सदस्यहरूले शपथ लिइसकेको र सरकार बन्ने प्रक्रिया शुरु भैसकेकाले बीचैमा वैधानिक बाटो छलेर नागरिकता विधेयक, केही नेपाल ऐन संशोधनलगायत राष्ट्रपति कार्यालयमा अड्किएका विधेयक र अध्यादेश जारी नगर्ने बाटो पनि खुल्ने भएको छ ।

सरकार गठनका लागि केन्द्रको बाटो नखुल्दासम्म प्रदेशहरूमा अलमल भइरहेको छ । केन्द्रमा कस्तो सरकार बन्छ भन्ने कुराले सातै प्रदेशका सरकारको बान्की निर्धारण हुने छ । उता, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पूरा गर्नुपर्ने मतसंख्या, अर्थात् ‘थ्रेस होल्ड’ को व्यवस्थाबारे सर्वोच्च अदालतमा रिट दायर भएको छ । ऐनमा यसबारे केही व्याख्या छैन । थ्रेस होल्ड नकाट्ने दलका बाँकी मतलाई सदर मत मानेर त्यसलाई १ सय १० ले भाग लगाउने र त्यही आधारमा अन्य दललाई मत दिनु मतदाताको अपमान भनी रिट दायर भएको हो । मतदाताले एउटा दलका लागि दिएको मत थ्रेस होल्ड नकटेको नाममा अरु दलहरूमा जाने कुराले निर्वाचनको स्वच्छतामा प्रश्न उठाइएको छ । 

 

टिप्पणीहरू