वामपन्थी सरकार बन्ने संभावना कति बलियो ?
एकछिन एमाले भएरै सोचौँ त, माधव नेपाल वा झलनाथ खनाल राष्ट्रपति भएर आकाशै खसिहाल्ने त हैन । बरु, धाँजा फाटेको एमाले एक ठाउँमा आउनसक्छ । अध्यक्ष केपी ओलीमा रहेको हठी प्रवृत्तिलाई सच्याएर जाने हो भने त्यो कुरा सम्भव पनि देखिन्छ ।
यदि यस्तो भइदियो भने यही संसदबाट सम्पूर्ण शक्ति वामपन्थीमा केन्द्रित हुने मौका बलियो छ । त्यसका लागि सच्चिनुपर्ने ओलीले हो । बाहिर नभनिए पनि यो कुरा राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकारहरुमार्फत माधव नेपालसमक्ष पुगेको छ । तर, एकोहोरो ‘मिलौँ’ भनेर एकता नहुने, त्यसका निम्ति हठ र दम्भको प्रवृत्तिलाई सम्पूर्ण रुपमा त्याग्नुपर्ने भनिएपछि कुरा अड्किएको बताइन्छ ।
एमाले र एकीकृत समाजवादी मिल्न सक्ने अवस्था बन्यो भने माओवादी केन्द्र पनि एकतामै वा सोसरहको स्थितिमा रहन्छ । यदि यो काम गर्न ढिलाइ भयो भने एकीकृत समाजवादीले एमालेसँगको संवाद पनि प्रचण्डमार्फत गर्नुपर्ने अवस्था आउन सक्छ । प्रचण्ड चम्किनुअघि नै एमाले र पूर्वएमाले एक ठाउँमा भइदिए माओवादी केन्द्र एक्लै कांग्रेससँग बसिरहँदैन । यो स्थितिमा लाभचाहिँ एमालेलाई बढी छ । केपीले दुई कार्यकाल प्रधानमन्त्री चलाउनुभयो, ०७४ देखि ०७८ सम्म, अर्थात् साढे तीन वर्ष लगातार प्रधानमन्त्री चलाउने कीर्तिमान पनि राख्नुभयो । तर, त्यहाँ अवसरका लागि वर्षौंदेखि पर्खी बसेका थुप्रै नेता छन् । तिनले अवसर पाउनका लागि पनि पुराना तुष मेटाएर गए राम्रो अवसर छ । यस्तो हुँदा प्रचण्ड दुई वर्षसम्म प्रधानमन्त्री हुने बाटो खुल्थ्यो र वाम एकता पनि कायम रहन्थ्यो भनिँदैछ ।
भनिन्छ, यस्तो पहलकदमी भित्रभित्रै शुरु पनि भएको छ । अहिले राष्ट्रपतिमा झलनाथ खनाललाई कांग्रेसले स्वीकार गर्दैन । खिलराजको नाम लिएर बाबुरामलाई अगाडि बढाउन खोजिएको छ । अमेरिकी लबीको प्रधानमन्त्री भए भारतीय लबीको राष्ट्रपति हुनुपर्छ भन्ने कुरा उठेको छ । त्यसमाथि राष्ट्रपतिमा प्रस्तावित हुनुभएका माधवले पनि ‘जानुपर्छ कि क्या हो’ भन्न थाल्नुभएको चर्चा छ तर त्यसो गर्दा पार्टी कसले हाँक्ने ? कस्तोखाले एकतामा जाने भन्ने टुंगोमा पुग्नुपर्ने हुन्छ । माओवादीसँग एकता गराएर बेदुरामलाई महासचिव वा घनश्याम भुसाललाई भित्र्याए हुने विकल्प पनि अगाडि आएको छ । एकता नहुने हो भने पनि माघमा राष्ट्रिय भेला वा महाधिवेशन गरी घनश्याम भुसाललाई अध्यक्ष, रामकुमारी झाँक्री वा उनकै पुस्ताका युवालाई महासचिव, अथवा भीम रावललाई अध्यक्ष, घनश्यामलाई महासचिव बनाउँदै जाने हो भने पनि पार्टी निर्माण हुनसक्ने सुझाव माधवलाई केही शुभचिन्तकले दिएका छन् ।
कांग्रेसले यो कुरा बुझ्नुअघि नै भित्री रुपमा सबै मामिला सल्टिएको हुनुपर्छ । उसले चाल पाइदियो भने भाँड्नका निम्ति दक्षिणदेखि पश्चिमासम्मले काठमाडौंमा डेरा जमाउँछन् भनिन्छ । किनभने, अहिले उनीहरूले भनेको मान्ने मान्छेलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउनु छ । केही सीप लागेन भने पहिलो चरणमा प्रचण्डलाई पनि अगाडि लगाउन सक्छन् । नेपालको राजनीतिमा सबभन्दा अस्थिर पात्र प्रचण्ड नै हो भनेर बदनाम गरिएको छ । विदेशीले नियन्त्रित अस्थिरता चाहेका छन् । केही बुद्धिजीवीले तर्क गर्दै हिँडेका छन्– त्यसलाई रोक्न वामहरू नमिली सुख छैन ।
नत्र, एक समयको हठ, दम्भ र उन्मादले राजनीतिलाई वर्षौंपछाडि धकेल्छ भन्ने कुरा त विगतका केही घटनाबाट पनि पुष्टि भएका छन् । शान्तिप्रक्रियामा आइसकेपछि माओवादीले ०६४ को पहिलो संविधानसभामा २ सय ४० मध्ये १ सय २० सीट जित्यो । त्यो उन्मादमा राष्ट्रपति बनाउने बेला गिरिजालाई ‘बाहेक’ गर्दै रामराजाप्रसाद सिंह भनेर खेल्न खोज्दा द्वन्द्व बढेर बेथितीतर्फ मुलुक गयो । ०७२ मा संविधान जारी गर्नुअघिको सहमतिबमोजिम सुशील कोइरालालाई राष्ट्रपति बनाउने सल्लाह बीचमै भाँडियो । दलीय प्रणालीमा फरक विचारलाई पनि समेटेर जानु उपयुक्त हुन्छ भन्ने शिक्षा ती घटनाले दिएका छन् । त्यसैले गिरिजामाथि प्रचण्डले गरेको गल्ती सच्याएर जाने मौका पनि यो हो । किनभने, हिजो माओवादीको दम्भले केही अस्थिरता जन्मायो । त्यो अस्थिरताबाट उसले सिकेन । बरु, आफैँ पातलियो ।
यसप्रकारको अस्थिर राजनीतिलाई व्यवस्थापन गर्ने पात्र नेपालमा विरलै छन् । शेरबहादुर देउवाले तुलनात्मक रुपमा त्यो क्षमता प्रदर्शन गर्नुभएको छ । भारतमा ज्योति बसु र मनमोहन सिंहले हो, राजनीतिक व्यवस्थापनमा निपूर्णता प्रदर्शन गरेको । पश्चिम बंगालका मुख्यमन्त्री ज्योति बसुले आफ्नो बहुमत हुँदा पनि फरवार्ड ब्लक, सिपिआईलाई साथ लिएर गए । मनमोहन सिंहले गठबन्धन सरकारलाई १० वर्ष चलाए । नेपालमा त्यस्तो चलाउने उदार र लचिलो पात्र शेरबहादुर देउवा नै देखिनुभएको छ ।
नेपालमा कम्युनिष्टहरू सारमा मिले पनि रुपमा मोर्चाबद्ध हुन्छन् नै । किनभने, एमालेमा फर्किए पनि माधव नेपालपक्षीयहरू फरक धारका मानिन्छन् । माओवादीहरू जहिल्यै ‘माओवादीजस्ता’ देखिने नै भए । एमालेमै पनि दुई–तीन धारको विकास हुन्छ । राष्ट्रपतिबाट फिर्ता भएपछि विद्या यही उमेरमा निस्क्रिय हुने छाँट छैन । उहाँ एमालेको एउटा शक्तिका रुपमा उदय हुने निश्चितै छ । उहाँसँग शंकर पोखरेल, गोकुल बाँस्कोटा, भानुभक्त ढकाल, राजन भट्टराई, विष्णु रिमालहरूको एउटा समूह नियमित हुन्छ ।
अर्कातिर, ओली सरकारको पालामा अध्यादेशमार्फत संवैधानिक परिषद्को संरचना हेरफेर गर्दै भएका नियुक्तिहरू संकटमा परेका छन् । त्यसबेला विभिन्न संवैधानिक अंगमा नियुक्त भएका ५२ भाइबारेको सुनुवाइका लागि सर्वोच्च अदालतले पुस २७ को मिति तय गरेको छ ।
यसैबीच, महन्थ ठाकुर, रेशम चौधरी र सिके राउतहरूले देउवालाई समर्थन गर्ने भएका छन् । प्रचण्डचाहिँ आफूसँग ६० को संख्यामा वर्चस्व रहेको दावी गर्दै हुनुहुन्छ । यदि शेरबहादुरले अन्य दलसँगको साझेदारी प्रस्तुत नगर्ने हो भने विकल्प धारा ७६ को उपधारा २ बाट ३ मा जान्छ । त्यसो गर्दा पनि शेरबहादुरलाई नै मौका मिल्ने हो किनभने संख्याले उहाँकै दल सबभन्दा ठूलो छ । त्यसो गर्दा जोखिम हुन्छ, विश्वासको मत लिने बेलामा । दिएर आफ्नो बनाउन माहिर देउवाले त्यसबेलासम्म चाहिने जतिलाई मन्त्री बनाएर पनि त्यो संख्या पु¥याउनुहुने पक्का छ ।
टिप्पणीहरू