खनालद्वारा राष्ट्रपति बनाउन आग्रह

खनालद्वारा राष्ट्रपति बनाउन आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा आफूलाई भावी राष्ट्रपतिको रूपमा सघाउन प्रस्ताव गर्नुभएको छ । उहाँले अध्यक्ष माधवकुमार नेपाललगायत नेतालाई यसको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रहसमेत गर्नुभएको थियो । उपमहासचिवद्वय डा. गंगालाल तुलाधर र डा. विजय पौडेलले उक्त पदका निम्ति कुरा राख्नु अहिले पार्टी अनुकूल परिस्थिति नरहेको र स्थानीय र प्रतिनिधिसभा चुनावपछि उहाँद्वारा व्यक्त धारणाका कारण नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि यो कुरालाई सहजै स्विकार्न असहज हुने तर्क राखेको बताइन्छ । पार्टी अध्यक्ष नेपालले चुनाव नलड्न गरिएको आग्रहलाई लत्याएर चुनाव लडेको र पराजित मान्छेलाई राष्ट्रपति बनाउने कुरामा गठबन्धनका अरू दलहरू सहमत हुन गाह्रो पर्ने अवस्था रहेको बताएको दाबी स्रोतले गरेको छ । सोही बैठकमा राष्ट्रपति बन्न सांसद हुनै पर्ने प्रावधान नभएकाले खनाललाई चुनाव नलड्न आग्रह गरिएको तर उनले नमानेको स्मरण गराउँदा त्यहीबेला ग्यारेन्टी भएन क्यारे त्यसैले चुनाव लडेको भनेपछि प्रत्युत्तरमा राजनीतिमा कसले भविष्यको ग्यारेन्टी गर्न सक्छ भनिएको बताइन्छ । 

बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे ब्रिफिङ गर्नुुभएको बताइन्छ । नेपाललाई देउवाले प्रचण्डलाई नै प्रधानमन्त्री बनाए पनि मलाई आपत्ति छैन भन्नुभएको रहेछ । नेपालका अनुसार देउवा पार्टीभित्रको कलहका कारण धेरै कुरा खोल्न सक्ने स्थितिमा हुनुहुन्न ।  कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई जंगल पठाउने र एमालेलाई सिध्याउने प्रयास एकौचोटि गरेको, त्यसपछि माओवादीलाई बराबरकै हैसियत दिएर एमालेलाई साइजमा ल्याउने काम गरेको, मर्ने बेलामा गल्ती कमजोरी महसुस गर्दै गणतन्त्र घोषणासहित संविधानसभामार्फत संविधान निर्माण प्रक्रिया थाल्न तयार भएको तर जोखिमपूर्ण यस्तो राजनीतिक काम देउवाले गर्न नसकेको हुँदा भिजनबिनाका उनलाई कतिञ्जेल काँध थाप्ने भनेर समेत एकछिन बैठकमा छलफल चलेको थियो । 

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई राष्ट्रपतिको रूपमा एसका अध्यक्ष नेपालसामु प्रस्ताव राखेको स्रोतले बताएको छ । देउवाले यदि पौडेललाई राष्ट्रपति बनाउन सके मलाई सहयोग पुग्छ भनेको बताइन्छ । सो  प्रस्ताव सुनेर प्रचण्डले प्रधानमन्त्री तपाईंलाई, राष्ट्रपति पनि तपाईंलाई नै कसरी हुन सक्छ ? यी दुवै पद दिएपछि विद्यादेवी भण्डारीले केपी ओलीले जे लगे पनि गेटैमा बसेर थप–थप सही गरेजस्तै गराउने त होला नि ! भन्दै अस्वीकार गरेको बुझिएको छ । यो कारणले गर्दा पनि गठबन्धनका दुई नेताबीच तिक्तता जन्मिएको अनुमान गरिएको छ । 
ओबेरायलाई नेपाली टोपी लगाएपछि ........

माओवादी अध्यक्ष प्रचण्डले समाजवादीका केही नेतासँग भेटघाट हुँदा कांग्रेसले पूरै हेपेको महसुस भएको बताउने गर्नुभएको छ । कांग्रेसको हेपाइ खानुभन्दा प्रतिपक्षमा बस्न तयार रहेकोसमेत बताउनुभएको छ । विश्लेषकहरूका अनुसार गठबन्धन नतोड्ने तर आलोपालो नीति अँगाल्दै सरकारको नेतृत्व गर्ने अथवा महत्वपूर्ण धेरै मन्त्रालय हात पार्न दबाब सिर्जना गर्ने रणनीतिअन्तर्गत यी कुरा बोलिएको हुन सक्छ । चलचित्र अभिनेता तथा भारतीय जनता पार्टीनिकट सुरेश ओबेराय र उनकै छोरा विवेक ओबेरायसँगको भेटको विवरण बताउन नचाहेपछि अन्य दलका नेता सशंकित हुन पुगेका छन् । नेपाल आएका ओबेरायहरूलाई नेपाली टोपी लगाएर प्रचण्डले स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याइएको थियो । अरुले जानकारी लिन खोज्दा औपचारिकता निभाउने भेटघाट मात्र भएको प्रचण्डले बताउनुभएको छ । औपचारिकता निभाउने भेटघाटमा ३ घण्टा समय बित्नुलाई सामान्य रूपमा लिइएको छैन । यस्ता भेटमा दलका अन्य नेतालाई पनि संलग्न गराइएको थिएन ।
 

टिप्पणीहरू