जन्मिँदै सम्मान पाउने भाग्यमानी छोरीहरु

जन्मिँदै सम्मान पाउने भाग्यमानी छोरीहरु

जन्मेको वर्ष दिन पनि नपुगेका कलिला नानीहरु आमाको काखमा कोही निदाइरहेका थिए । कोही बालसुलभ नजरले यताउति हेरिरहेका थिए । ती अवोध बच्चीहरु कोही–कोही च्याँ–च्याँ गर्दै रोइरहेका पनि थिए । यदि बुझ्ने र बोल्न सक्ने भएका भए त्यो बेला उनीहरु सबैको मुहार हाँसेको हुन्थ्यो । खुशी अनि कृतज्ञ हुँदै भरतपुर महानगरपालिका र मेयर रेनु दाहाललाई विशेष धन्यवाद दिने थिए । हिजो भरतपुर महानगरपालिकाकै सभाहलमा, मेयर रेनुकै अगाडि थिए उनीहरु । पुरुषप्रधान समाजमा जुगौंदेखि विभेदको शिकार हुँदै आएका छोरीहरुलाई भरतपुरमा जन्मिँदै जुन सम्मान र सुविधा दिइँदैछ । यसका लागि वर्षौंवर्षपछि पनि मेयर रेनुको सम्झना ताजा हुनेछ, महानगरप्रति छोरीहरु गौरवान्वित हुनेछन् । 

भरतपुरकी मेयर रेनु दाहाल आफैं पनि छोरी । पूर्वप्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी उनी अहिले सिंगो भरतपुर महानगरपालिकाकै छोरीको रुपमा स्थापित भएर भरतपुरमा विकासको लहर फैलाउँदैछिन् । स्थानीय सरकारको पहिलो कार्यकालमा जनताको मन जितेर फेरि मेयरमा निर्वाचित रेनुले अन्य विकासकार्यका साथै महिला वर्गको उत्थानमा पनि विशेष ध्यान दिँदै आएकी छिन् । 

पहिलो कार्यकालको पहिलो निर्णयमा पनि महिलाकै भलो जोडिएको थियो, जसअनुसार महिलाहरुलाई भरतपुर अस्पतालमा ओपिडी टिकट निःशुल्क गरिएको छ । पछिल्लोपटक पनि पदभार ग्रहण गर्दैगर्दा छोरीकै हितलाई मध्यनजर गरी पहिलो निर्णय गरियो । भरतपुरको सरकारी अस्पतालमा जन्मिने छोरीहरुको रु। एकलाख सम्मको जीवन बीमा महानगरपालिकाले गरिदिने उक्त निर्णयसमेत जेठबाटै लागु हुने गरी कार्यान्वयनमा ल्याइएको छ । सरकारी अस्पतालमा छोरी जन्माउने १५३ जनाको आवेदन आएकोमा प्रक्रिया पूरा भएका ७२ जना छोरीको बीमालेख शुक्रबार महानगरपालिका कार्यालयमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । राष्ट्रिय बीमा संस्थानसितको सहकार्यमा भरतपुर महानगरपालिकाले छोरी बीमाका लागि प्रत्येकको नाममा रु। ५० हजारको ‘बाल उमङ्ग जीवन बीमा’ गरिदिएको छ, वर्षेनी नवीकरण पनि महानगरपालिकाले नै गरिदिने छ । बिमित छोरीहरुले १५ वर्षपछि करिब एकलाख रुपैयाँ पाउनेछन् । 

छोरी अर्पिता पौडेलको बीमालेख लिन कार्यक्रममा आएका भरतपुर–७ का भरत पौडेलले हाम्रो समाजमा अझै पनि छोरा र छोरीबीचको विभेद कायमै रहेको, छोरालाई बाेर्डिङ्गमा पढाएर छोरीलाई सामान्य स्कूलमा पठाउने प्रवृत्ति अझै यत्रतत्र देखिने गरेको भन्दै त्यस्ता विभेदलाई निरुत्साहित पार्न भरतपुर महानगरपालिकाले ल्याएको यो पृथक खालको एक उत्कृष्ट कार्यक्रम भएको बताए । भरतपुर–२२ का अशोकराज भुजेलले पनि महानगरपालिकाले सुरुवात् गरेको यो कार्यक्रम धेरै राम्रो भएको र छोरीको भ्यालु बढाउन ‘प्लस पोइन्ट’ हुने बताए । उनी पनि छोरी अमिस्का भुजेलको बीमालेखको प्रमाणपत्र लिन आएका थिए । छोरी दुयोना सुनारको बीमालेखको प्रमाणपत्र हातमा लिँदै भरतपुर–२४ की मनिषा विकले यो बीमा रकम छोरीको शिक्षामा लगानी गर्ने बताइन् । छोरी स्मारिका परियारको बीमालेखको प्रमाणपत्र लिन आएका भरतपुर–२४ कै मित्रलाल परियार र शर्मिला परियार भन्दै थिए, ‘छोरीको भविष्यका लागि राम्रो भयो ।’

‘पहिले छोरीको जन्मदर्ता ढिलो हुन्थ्यो, आवश्यक परेमात्र गरिन्थ्यो’ भन्दै भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले महानगरपालिकाबाट यो निर्णय भएपछि छोरीको जन्मदर्ता छिटो–छिटो हुन थालेको र छोरीहरुले पनि समयमै जन्मको पहिचान पाएको बताइन् । यो बीमा रकम छोरीको शिक्षा र सीप विकासमा सदुपयोग हुने विश्वास पनि उनले व्यक्त गरिन् । गर्भमा छोरी छ भनेर लिंग पहिचान गरी भ्रूण हत्या गर्ने समाजमा नजन्मिँदै मर्नुपर्ने ती छोरीहरुको जीवनरक्षाका लागि समेत यो कार्यक्रम महत्वपूर्ण भएको मेयर रेनु बताउँछिन् । उनी भन्छिन्, ‘यो कार्यक्रम निरन्तर अगाडि बढ्छ ।’ 

भरतपुरमा महिलाको सुरक्षाका लागि लैंगिक हिंसा व्यवस्थापन कार्यविधि नै बनाइएको छ । महिला तथा जोखिम समुदायसँग मेयर कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालय आउन–जान सजिलो होस् भनी विपन्न छात्राहरुलाई साईकल वितरण अनि विद्यालयहरुमा सेनिटरी प्याडको व्यवस्था पनि गरिएको छ । महिलाहरुको सशक्तिकरणका लागि उनीहरुले रोजेको व्यवसायमा तालिम दिएर व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग पनि गर्ने गरिएको सामाजिक विकास महाशाखा प्रमुख शान्ताले बताइन् । 
        

टिप्पणीहरू