के गर्दै छन् पूर्वराजाका भतिजी–ज्वाइँ ?
पूर्वराजा ज्ञानेन्द्र शाहका भतिजी–ज्वाइँ राजीव शाहीमाथि सेनाभित्र व्यापक अनियमितता गरेको आरोप लागेको छ । सैनिक अस्पताल छाउनीको क्लिनिकल रजिष्ट्रारका रुपमा कार्यरत एकतारे जर्नेल शाहीमाथि सिटिस्क्यान र एमआरआई मेसिन ल्याउनै नदिएर आफ्नो क्लिनिकलाई उकासेको बात लागेको हो । ज्ञानेन्द्रका कान्छा भाइ धीरेन्द्रकी जेठी छोरी पूजाका श्रीमान् शाही आर्मी हस्पिटलमा रेडियोलोजिष्ट छन् । उनलाई अरुण शर्मापछि हुनेवाला सिइओका रुपमा पनि लिइन्छ ।
सेनाको नेतृत्वदायी भूमिकामा रहेका शाहीले आफ्नै स्वामित्वमा कुण्डलिनी एमआरआई सेन्टर पनि चलाएका छन् । आफ्नो क्लिनिकको व्यापार बढाउन मानव स्वास्थ्यजस्तो संवेदनशील विषयलाई मजाक बनाएर सैनिक अस्पतालमा सिटिस्क्यान र एमआरआई मेसिन चालू हुनै नदिनेदेखि नयाँ खरिद रोक्नेसम्मको हर्कत गरेको सेनाभित्रैबाट आरोप छ । वीर अस्पतालका कर्मचारीले मेसिन बिगारेर बिरामीलाई निजीमा पठाउने र त्यसबापत मोटो रकम लिने शैलीमा शाहीले पनि आफ्नो क्लिनिकमा पठाउने गरेको स्रोत बताउँछ । यसैबीच, मित्रराष्ट्र चीनले नेपाली सेनालाई सहयोगस्वरूप दिने भनेको एमआरआई मेसिन १२ वर्षपछि बल्ल भित्रिएको छ।
सैनिक अस्पतालमा उक्त मेसिन उपलब्ध हुँदा आफ्नो व्यापार बिग्रने भएकाले शाहीले करिव २० करोड पर्ने चिनियाँ कोशेली रोक्न गरेका हरसम्भव प्रयास अन्ततः असफल भएको र १२ वर्षपछि खोला पनि फर्किन्छ भनेझैँ अनेकौँ खेल चिर्दै सेनाले सो मेसिन प्राप्त गरेको हो । एक हप्ताअगाडि नेपाल आइपुगेको मेसिन अहिले जडान कार्य भैरहेको र एक महिनापछि सञ्चालनमा आउने बुझिएको छ ।
उनको क्लिनिकमा समेत आर्मी अस्पतालका कर्मचारी कार्यरत छन् । सरकारी तलब खाएर आर्मी अस्पतालको ड्युटी हाप्दै कुण्डलिनी धाउने डा. सुजाता पन्थ पनि बहालवाला लेफ्टिनेन्ट कर्नेल हुन् । त्यस्तै, ल्याबतर्फका केही जमदार, सुवेदारलाई पनि शाहीले दुबैतिर ड्युटी गराएको बताइन्छ । राजतन्त्रात्मक व्यवस्थाबाट मुलुक गणतन्त्रमा प्रवेश गरेको डेढ दशक भैसकेको छ । तर, पनि सेनामा अझै राजतन्त्रको धङधङ्गी छ भनिन्छ । कतै यस्तै पात्र र प्रवृतिका कारण त सेना बदनाम भैरहेको छैन ?
टिप्पणीहरू