सञ्चारमन्त्री झण्डै सोत्तर

सञ्चारमन्त्री झण्डै सोत्तर

‘चुनावमा झण्डै सोत्तर हुनुपरेको’ भन्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले फौजका हाकिमहरुसँग दुखेसो पोखेका छन् । प्रतिनिधिसभा निर्वाचनमा सुनसरीको क्षेत्र नं. ४ बाट उम्मेदवार बनी एमालेका जगदिशप्रसाद कुसियैतलाई जम्मा १ सय १२ मतान्तरका साथ हराएका उनले यो पालिको चुनाव निकै डरलाग्दो भएको बताए ।

आइतबार दिउँसो अढाई बजे बधाई दिन आएका नेपाल प्रहरीका आइजी धीरजप्रताप सिंह, सशस्त्रका राजु अर्याल र राष्ट्रिय अनुसन्धानका हुतराज थापालाई उनले त्यस्तो बताएका हुन् । मत गणनाको क्रममा कर्मचारीले ६ सय मत बढी सूर्यलाई गणना गरिदिएको उनको गुनासो थियो । ‘१२ सय सूर्य हुँदा १३ सय रुख हुनुपर्नेमा १८ सय सूर्यतिर गणना भएको रहेछ’, भावुक हुँदै मन्त्री कार्कीले सुनाए ।

भन्दै थिए– हाम्रा कार्यकर्ता सोझा, होशै पु¥याएनन्, उता कर्मचारीले तिनको बेहोसीको फाइदा उठाउँदै झण्डै ६ सय मतले तलमाथि पारिदिएका । यही मत गणनाको विवादका कारण त्यहाँ झण्डै हप्तादिनसम्म मतगणना रोकिन पुगेको थियो । २–३ जना नयाँ माननीयलाई वरपर राखेर बसेका कार्कीलाई त्यसबेला अर्को पनि चिन्ता थियो गगन–शेखर मिल्लान् कि देउवाविरुद्ध अलगअलग उठ्लान् भन्ने ।

यस्तै पीर र सन्तापबीच उनले सुरक्षा फौजका हाकिमहरुसँग २० मीनेट बिताए । सेनाबाहेक ३ थरि सुरक्षा अंगका हाकिमहरुको यो सेट प्रचण्डदेखि प्रधानमन्त्रीकोमासम्म यसरी नै हुल बाँधेर जाने गरेको छ अचेल ।

टिप्पणीहरू