डलर अर्बपतिले फेरि पैसा विदेश दौडाए
डलर अर्बपति तथा कांग्रेस सभासद् विनोद चौधरीले फेरि ठूलो परिमाणमा विदेशी मुद्रा श्रीलंकाको राजधानी कोलम्बो पु¥याएका छन् । त्यहाँको एउटा समस्याउन्मुख बैंक खरिद गर्ने भन्दै उनले उक्त रकम कोलम्बो ओसारेका हुन् । नेपालको विद्यमान कानुनले विदेशमा लगानी गर्ने छुट कसैलाई पनि दिएको छैन । तर, चौधरीले विदेशमा खोलेको एउटा कम्पनीमार्फत उताको डलर उतै खर्चन लागेका हुन् । उनले युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर किन्ने क्रममा उक्त डलर लगानी गर्दै छन् । सोही सिलसिलामा अघिल्लो साता कोलम्बो गएका थिए । निजी र व्यापारिक काममा हिँड्दा वा भिआइपी कक्ष प्रयोग गर्न पनि उनलाई सांसद नबनी भएको छैन । उनले लिन लागेको बैंकको सेयर कारोबार मूल्य गत साता प्रतिकित्ता श्रीलंकन रुपैयाँ ७.६० थियो । तर, चौधरीले ठूलो हिस्सा सेयर खरिद गर्ने सहमतिपछि कोलम्बोमा सो बैंकको सेयर मूल्य क्रमशः घट्दोे छ ।
डलर अर्बपतिले युनियन बैंकको यसअघिको मुख्य लगानीकर्ता कल्चर फाइनान्सियल होल्डिङ्स प्रालिबाट सेयर आफूतिर सार्ने सम्झौता गरेको देखिन्छ । उनको निजी कम्पनी सिजी क्यापिटल पार्टनर ग्लोबल प्रालिले सो सेयर किन्ने सम्झौतापत्रमा उल्लेख छ । कोलम्बोको स्टक एक्सचेञ्जमा सूचीकृत कूल सेयर १ अर्ब ८ करोड ३५ लाख कित्तामध्ये ७६ करोड ७५ लाख ५८ हजार कित्ता सेयर अब चौधरीको भागमा आउनेछ । उक्त सेयर बैंकको ७०.८४ प्रतिशत हो । सम्झौतामा खरिद मूल्य उल्लेख छैन, तर औसतमा श्रीलंकन रुपैयाँ ६ मा प्रतिकित्ता सेयर किनबेच भएमा उनले स्थानीय रुपैयाँ ४ अर्ब ६० करोड ५३ लाखभन्दा बढी बराबरको विदेशी मुद्रा तिर्नुपर्ने हुन्छ । त्यो भनेको हालको मूल्यअनुसार न्यूनतम १ करोड २६ लाख १८ हजार अमेरिकी डलर हुन आउँछ । चरम आर्थिक मन्दिको सामना गरिरहेको श्रीलंका र त्यहाँको बैंकिङ क्षेत्रले खेपेको संकट टार्न उनले उक्त डलर कोलम्बोमा लगानी गर्ने भनेको निकट स्रोतको दाबी छ ।
यसअघि उनले सन् २००१ मा कोलम्बोस्थित ताज समुद्र होटलमा यसैगरी लगानी गरेका थिए । श्रीलंका जस्तै नेपालमा पनि विदेशी लगानीमा निकै कमी आएको छ । रेमिट्यान्स आम्दानीले जेनतेन विदेशी मुद्राको सञ्चितिलाई थेगेको छ । व्यापार घाटा र शोधनान्तर अवस्था ओरालो लागिरहेको बेला मुलुकको विधायिकामा निर्वाचित व्यापारीले विदेशमा कमाएको भनिएको मुद्रा स्वदेश नल्याई उतै घुमाउनुको अर्थ बुझिनसक्नु छ । ‘यता ल्याए सबैको आँखा लाग्छ । फेरि विदेश लैजाँदा अनेक शंका हुन्छ । उताको रकम उतै चलाएपछि डलर आम्दानी सुरक्षित हुने र आन्तरिक लफडाबाटसमेत बचिने भएकाले चौधरीले यस्तै यस्तै काम गर्छन्,’ राष्ट्र बैंकका एक जना कार्यकारी निर्देशकले बताए ।
उनले एक महिनाअघि सम्पन्न आमनिर्वाचनको प्रचारका क्रममा पश्चिम नवलपरासीका मतदातालाई आफूले सबथोक नेपाल र नेपालीमा मात्र देखेको बताएका थिए । यहीँका जनताको समृद्धिका लागि थप लगानी गर्ने र रोजगारी बढाउने दाबीसमेत गरेका थिए । तर चुनाव जितेलगत्तै उनी श्रीलंकाको राजधानी कोलम्बो गएर सवा करोड डलरमा त्यहाँको एउटा बैंकमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । बैंकको स्वामित्व किनबेच सम्बन्धमा दुई मुलुकका दुई पक्षबीच गत नोभेम्बर ३० मा सम्झौता भएको र दुई सातापछि मात्र नियमनकारी निकायलाई त्यसबारे जानकारी गराइएको बताइन्छ ।
टिप्पणीहरू