सबै सुरक्षा अंगका यस्ता छन् सामुहिक समस्या

सबै सुरक्षा अंगका यस्ता छन् सामुहिक समस्या

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा तल्लो दर्जाका अधिकृत र बिल्लादार जवानहरूको मर्काचाहिँ कसले सुन्ने ? नेपाली सेनामा ११ वर्षदेखि एकै पदमा बढुवा कुरेर बसेका करिब १९ हजार ७०० जना सिपाही र हवल्दारको बिल्ला कुरेर बसेका ८ हजार ४०० नायकसहित जमदार र सुवेदार पनि उत्तिकै मात्रामा छन् । नेपाल प्रहरीमा पनि सुधार र पुनरावलोकन भन्दै सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई पद त थपियो तर निरीक्षक र डिएसपीहरूको भविष्यबारे कसैले ध्यान दिएनन् । नेपाल प्रहरीमा ११ वर्षदेखि डिएसपी बढुवा कुरेर बस्ने निरीक्षक धेरै छन् भने नायब उपरीक्षक पनि उत्तिकै पाइन्छन् । 

सशस्त्र प्रहरीमा ६ हजारजति जवान १४ वर्षदेखि बढुवा पर्खेर बसेका छन् । उनीहरू ०६३ देखि ०६५ सालबीच भर्ना भएका हुन् । सहायक हवल्दार र हवल्दार पनि उत्तिकै छन् । जवान पदमा ०५९ सालमा भर्ना भएकाहरू हाल हवल्दारदेखि वरिष्ठ हवल्दार पदमा छन् । तर, २०५९ र २०६१ सालमा भर्ना भएका असईहरू निरीक्षकमा छन् । त्यसो त ०६१ सालमै भर्ना भएका सहायक निरीक्षकहरू १६ वर्ष भयो नायब निरीक्षक (सई) मा बढुवा नभएको । ०६१ देखि ०६७ सालसम्मका असईहरुको त बढुवा नभई पेन्सन पाक्ने अवस्था हुन लाग्यो । नेपाल प्रहरीको दंगाबाट जवान पदमा नियुक्त भएर सशस्त्र प्रहरीमा आएका सईहरू १७ वर्षदेखि र असईहरू १३ वर्षदेखि बढुवा कुरेर बसेका छन् । सशस्त्र प्रहरीका निरीक्षक पनि पीडितै देखिन्छन् । ०६१ सालमा निरीक्षक भएकाहरु ०७८ सालमा १७ वर्ष लगाएर बल्ल बढुवा भए । ०५९ सालमा भर्ना भएका इन्स्पेक्टर एसएसपी भइसके भने तीन वर्षपछि ०६२ सालमा खुला प्रतिस्पर्धाबाट अधिकृत दर्जामा भर्ना भएकाहरू अझै त्यी दर्जामा छन् । 

नेपाली सेनाले शान्ति मिशनमा एकपटकमै झण्डै ६ हजारको अलग–अलग  टोली पठाउँछ र त्यसमा ज्येष्ठतालाई प्राथमिकता दिन्छ । त्यताबाट बिल्लादार र जवानले चित्त बुझाउँछ । नेपाल प्रहरीले दर्जा थपेर भए पनि केही हदसम्म समस्या समाधान त ग¥यो तर सशस्त्र प्रहरी भने मिशनको अवसर न्यून हुँदा र बढुवाको अवसर नपाउँदा मारमा परेको देखिन्छ । त्यसो त सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको सई स्तरका कर्मचारीको ग्रेडसमेत समान छैन । 

उता, निजामती सेवा ऐन २०४९ को दफाअनुसार बढुवा समितिले वार्षिक कार्यतालिका बनाई कार्य सञ्चालन गर्नुपर्नेछ भनेको छ । जसअनुसार समय–समयमा बढुवा नियमित हुन्छ, बढुवामा नपरेका र १२ वर्षभन्दा धेरै सेवा गरेका कर्मचारीलाई पनि वृत्ति विकासको अवसर प्राप्त हुन्छ । तर, ट्रेड युनियन खोलेर सामूहिक आवाजको नाममा अराजक गतिविधिमा संलग्न नहुने अनुशासित सुरक्षा निकायलाई भने पक्षपातपूर्ण व्यवहार हुने गरेको पाइन्छ । योग्यता, दक्षता र भर्ना प्रक्रिया एउटै तर ग्रेड र बढुवामा सौतेनी व्यवहार किन ?

– पीडितहरु
 

टिप्पणीहरू