पहाडेहरूले किन हाले रञ्जितालाई भोट ?

पहाडेहरूले किन हाले रञ्जितालाई भोट ?

‘टीकापुर काण्ड’ को मुख्य योजनाकार भनिएका रेशम चौधरी जेल परेपछि रञ्जिता श्रेष्ठले नेपाल नागरिक उन्मुक्ति पार्टी सम्हालेकी छन् । पति सजायँ काटिरहेका भए पनि पत्नी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भइन् । तत्कालीन निर्वाचित सांसद रेशमकै निर्वाचन क्षेत्रबाट भारी मत ल्याएर उनले विजय हात पारेकी हुन् । उक्त क्षेत्रमा भएको थारुहरूको जनसंख्याभन्दा बढी मत ल्याएर रञ्जिता माननीय बनेकी छन् । सो क्षेत्रमा जनसंख्या जम्माजम्मी २३ हजार छ । तर, उनले ३० हजार बढी मत प्राप्त गरेकी छन् । यो कसरी सम्भव भयो त ? यो विषयमा जनआस्थाले स्थानीय तथा नागरिक अगुवाहरूसंग बुझ्ने प्रयास गरेको छ । 

थारुबाहेक पहाडी समुदायकाले पनि उनलाई मतदान गरेको जानकारहरूको बुझाइ छ । उनीहरूका अनुसार संघीय राजधानीमा रेशमबारे जे सोच छ, त्यसको विपरीत स्थानीय बुझाइ छ । धरातलीय यथार्थ फरक भएको उनीहरू बताउँछन् । रञ्जिताले अनुमान लगाइएभन्दा धेरै मत ल्याउनुको पछाडि पहाडको घरझगडा अझैपनि ताजा रहनुलाई मानिएको छ । तराईमा रहेका पहाडीहरूले अझैपनि उक्त घटना बिर्सिएका छैनन् । सो क्षेत्रमा अछामबाट झरेका पहाडीहरूको निकै बसोबास छ । पहाडमा रहेको थिचोमिचो र अहंकारले उनीहरू त्यता ओर्लिएका हुन् । आफूलाई उच्च वर्गका क्षेत्री ठान्ने खड्का, रावल, नायक, थापालगायतको रवाफविरुद्ध बोहोरा थरलगायतका चुनावमा सक्रिय भएका थिए । जसको असर मतपरिणाममा देखियो ।

एमाले उम्मेदवार तपेन्द्रबहादुर रावललाई पहाडी मतदाताले पत्याएनन् । बरु, रञ्जितालाई नै भोट हाले । एक स्थानीय नेताले भने, ‘थारुसँग उनीहरूको दूरी त्यति छैन, जति रावलहरूसँग दुश्मनी छ । यसले गर्दा पनि रञ्जितालाई भोट हालेका हुन् ।’ अर्कोतिर थारुहरूकै समूहबाट नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री रामजनम चौधरी १८ हजार ८ सय मत प्राप्त गरी दोस्रो स्थान पाए । तपेन्द्रले पाँच हजार मत मात्रै पाए । 

विजय गच्छदारको लोकतान्त्रिक फोरमबाट कांग्रेसमा प्रवेश गरेका रामजनममाथि अन्तर्घात भएको धेरैको बुझाइ छ । उनी गत कांग्रेस महाधिवेशनमा घरझगडामा मुछिएका थिए । यसविषयमा रामजनमले जनआस्थासँग भने,‘कतिलाई कारबाही गर्ने ? एकदुई भए पो ! थुप्रैले अन्तर्घात गरे ।’ अर्कोतिर चुनाव जित्नका लागि रञ्जिताले खर्च पनि गरिन् । उनको भोजभतेरको सर्वत्र चर्चा भयो । चारवटै पालिकामा चुनाव जितेका उम्मेदवारहरूले भोजभतेरको राम्रै व्यवस्था गरेका थिए ।

रञ्जिताले मुक्त कमैयाहरूको बसोबास रहेको ठाँउमा सामुदायिक कामका लागि आवश्यक रकमको व्यवस्थासमेत गरिदिएकी थिइन् । चुनावमा हुने अन्य आर्थिक गतिविधि पनि भए । यसले गर्दा रञ्जितालाई जित्न सजिलो भयो । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टीबाट नाउपाका नेता–कार्यकर्ताहरूले राम्रै मत ल्याए । कुनै बेला काठमाडौंको भृकुटीमण्डपस्थित रत्नराज्य क्याम्पसमा अध्ययनरत रेशम नेकपा एमाले निकट अखिलका तर्फबाट स्ववियु सदस्य पनि हुन् । सोही क्याम्पसमा उनले रञ्जितालाई भेटेका थिए ।
 

टिप्पणीहरू