बालेनहरूलाई जोगाउनै बाधा

बालेनहरूलाई जोगाउनै बाधा

कोही रहरले उम्मेदवार बने, जित्ने–हार्ने कुरा अर्कै थियो । कोही बाध्यताले त कोही जितिन्छ नै भनेर चुनावमा उठे । अहिले जित्ने–हार्ने दुबैको पिरलो छ, खर्च विवरण नबुझाउँदाको जरिवाना !

यसमध्ये काठमाडौं महानगरका मेयर बालेन्द्र साहचाहिँ निर्वाचन आयोगमा पुगेका छन्, कारवाहीबाट जोगिनका लागि । तर, उम्कन पाइने सम्भावना छैन । निर्वाचन ऐनमा खर्च विवरण बुझाउनुपर्ने किटानी छ । तर, नबुझाउँदा जरिवाना तिर्नुपर्ने हुन्छ, तिर्न नचाहनेको हकमा कुनै पुनरावलोकन वा पुनरावेदन लाग्दैन । यो कुरा निर्वाचन आयोगका पूर्वपदाधिकारीले ख्याल गरेनन् । अहिलेका पदाधिकारीलाई पनि कर्मचारीले कागज देखाएपछि बल्ल थाहा भयो ।

जब आयोगकै पदाधिकारीमा त्यो चेतना थिएन भने मामुली उम्मेदवारहरूले त्यस्तो व्यवस्था होला भनेर कसरी सोच्नु ? यसर्थ, हेलचेक्र्याईं गरेर हैन, कानुन नबुझेर अहिले बालेनजस्ता हजारौँ उम्मेदवारहरू जरिवानाको फन्दामा पर्ने भएका छन् ।

बालेनले सामाजिक सञ्जालमार्फत ३० दिनभित्रै निर्वाचन खर्च सार्वजनिक गरेको भनी निवेदन दिए । तर, ऐनले खर्च विवरण सार्वजनिक गरेको वा नगरेको कुरा मान्दैन । आयोगमै विवरण बुझाएको हुनुपर्छ । यसपछि बालेनले एउटा निर्णय बहादुर भवनबाट भैदिए त्यसैमा टेकेर अदालत जाने सुर कसे । केही कर्मचारीले ‘गरिदिऊँ न त सर’ भनेर प्रमुखलाई लिखित राय पनि दिए । तर, निर्णय गरिएन । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सकिएको एक महिना पुग्ने अस्ति पुस ४ गतेपछि हो ।

‘त्यसपछि गरौँला’ भन्दै आजसम्म निर्णयलाई थाती राखिएको छ । त्यसमाथि बालेनको हकमा उनैले उल्लेख गरेको मितिभित्र खर्च विवरण सार्वजनिक गरेको भए पनि उक्त अवधिमा कानुनको म्याद कटिसकेको थियो । यसरी पछि ‘खर्च विवरण बुझाउनेलाई कुनै छूट दिन सकिने अवस्था नभएको हुँदा...’ भन्दै एउटा निर्णय दिए त्यसैमा टेकेर अदालतबाट व्याख्या गराउने र मुक्त हुने बालेनहरूको चाहना  बुझिन्छ ।

आयोग कस्तो अप्ठेरोमा परेको छ भने, उनलाई नतिराउने हो भने अरु थुप्रैलाई छूट दिनुपर्ने हुन्छ । यसरी उनले मात्रै आयोगलाई साढे सात लाख रुपैयाँ जरिवाना बुझाउनुपर्ने छ । 

यस्तो कानुनी व्यवस्थाबारे पूर्व आयुक्तहरूलाई पनि पत्तो रहेनछ । नत्र, ०७४ सालमै कार्यान्वयनमा जान्थ्यो । अहिलेका प्रमुख आयुक्त दिनेश थपलियालाई कर्मचारीहरूले देखाएर ‘केही न केही त गर्नुपर्छ सर’ भन्न गएपछि बल्ल आयोग त्यसमा छिरेको हो । तर, छिरेपछि भने निस्कनै गाह्रो भयो । 
 

टिप्पणीहरू