मैले भोगेको टिकापुर घटना
(२०७२ साल भदौ ७ गते)
म त्यतिबेला उग्रतारा गण टिकापुर कैलालीमा सशस्त्र प्रहरी जवानको रुपमा कार्यरत थिएँ । म स्वयं घटनाको घाइतेसमेत हुँ ।
केही दिनदेखि थरुहट समूह र अखण्ड सुदूरपश्चिमवाला समूहबीच बेला बेलामा झडप र विवाद भइरहेका थिए, २०७२ साल भदौ ६ गते यस्ता झडपलाई नियन्त्रण गर्ने उद्देश्यले सर्वपक्षीय बैठक बोलाइयो जसमा थारु संघर्ष समिति संयोजक रेशम चौधरीसहित, सुरक्षा निकाय संलग्न थिए । सशस्त्र प्रहरीको गणभित्रै विभिन्न निर्णय गरियो । जसमा आफ्नो मागसहित आन्दोलन जारी राख्ने तर निःशस्त्र र शान्तिपूर्वक प्रस्तुति देखाउने, प्रहरीले दमन नगर्ने बुँदा थियो । यसै सहमति र निर्णयलाई टेकेर सुरक्षा निकायका प्रमुखबाट आफ्नो टिमलाई बल प्रयोग नगर्न आदेश दिइयो ।
७ गते बिहान ६ बजेदेखि १५–२० जना (नेपाल प्रहरी र सशस्त्र) लाई रेशम चौधरीको निजी होटल (फुलबारी रिसोर्ट) मा खटाइयो किनकि अर्काे समूहबाट रेशममाथि हमला हुन नपाओस् । त्यही दिन टिकापुर क्षेत्रमा निषेधाज्ञा क्षेत्र पनि लगाइयो । ९–१० बजेतिर रेशम आफ्नो निवास (रिसोर्ट) बाट बाइकमा कालो चश्मा, कालो मास्कसहित नचिनिने तरिकाले बाहिर निस्किएसँगै आशंकित पार्ने खालको अभिव्यक्ति छोडेर गए, हामी उनको पहिरन र भनाइबाट सशंकित त थियौँ नै तर प्रहरीमाथि हमलासम्म होला भन्ने सोचेका थिएनौँ । हामीलाई अर्काे समूहसँग झडप हुन सक्नेसम्म आशंका भयो तर निषेधाज्ञा र सुरक्षाका कारण त्यसो गर्न संभव हँुदैन भन्ने लाग्यो ।
मेरो ड्युटी करिब ११ बजेतिर फेरियो र ब्यारेकतिर फर्किएँ, खाना खाँदै थियौं । सबै जनाले खाइसकेका थिएनौं । त्यतिबेलै भैंसी हाटबजार क्षेत्रबाट आन्दोलनकारी निषेधाज्ञा तोडेर सुरक्षाकर्मीलाई पछाडि पार्दै उग्ररुपमा अगाडि बढ्दै छन् भन्ने खबर आयो । थप सुरक्षाकर्मी बोलाइयो । जसमा म पनि सामेल भएँ । सशस्त्र प्रहरी उपरीक्षक लक्ष्मण सिंह, स्व.प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सरसहितको टोली त्यहाँ पुग्यो र ब्याक हुँदै गरेका सुरक्षाकर्मीहरू रोकिए । लक्ष्मण न्यौपाने सर आन्दोलनकारीहरूलाई सम्झाउँदै थिए तर त्यसको गलत फाइदा उठाउँदै हामीलाई नै अप्ठ्यारोमा पार्ने गरी चारैतिरबाट घेरेर गुलेलीबाट ढुङ्गा हान्न थाले ।
म लाठी र ढालसहित ड्युटीमा थिएँ । त्यहाँ लाठीको कामै थिएन किनकि उनीहरू टाढैबाट गुलेलीले प्रहार गरिरहेका थिए, हामी आफूलाई गुलेलीको ढुङ्गाबाट बचाउँदै चारैतिरबाट पछाडि, पछाडि हुँदै गयौँ । एकैछिनमा हामी (सुरक्षाकर्मी सबै) एकठाउँमा डल्लो हुन पुग्यौं । अब पछाडि हट्ने ठाउँ पनि रहेन किनकि चारैतिरबाट घेरिसकेको थियो । केही साथी हतियारसहित हुनुहुन्थ्यो तर फायर खोल्ने आदेश भएन । यतिसम्मको हमला होला भन्ने कल्पना पनि गरिएन र संयमित नै भइयो । एकैठाउँको गुल्ट्याई र गुलेलीको असंख्य प्रहारले हतियार खोल्नसमेत सम्भव भएन । त्यसको फाइदा ती आन्दोलनकारीले लिए । लाठी र अन्य घरेलु हतियारले नजिकै आएर हान्न थाले, हामी धेरै कुटियौं, पिटियौं ।
भाग्ने ठाउँ पनि केही बेरसम्म मिलेन । एकतिर घरले छेकेको, अर्काे दुईतिर रोड, जहाँ आन्दोलनकारी सयौंको संख्यामा थिए । अर्काे साइडमा खेत थियो । रोडको किनार ठुल्ठूलो काठ र तारले बारिएको थियो । तर, संयोगवश त्यो बार भत्किन पुग्यो र हामी त्यसको फाइदा लिँदै खेततिर निक्लियौं । त्यसैबेला ममाथि प्रहार भयो र हात भाँचियो । मैले समातेको ढाल त्यसै ठाउँमा झर्न पुग्यो । हातले काम गर्न छोडिसकेछ । खेतमा लगभग घुँडासम्म पानी थियो । आन्दोलनकारीहरू टाढैबाट प्रहार गर्दै थिए तर खेतको पानीका कारण नजिक आउन सकेनन् ।
त्यतिबेलै हामीबाट छुटेका साथीहरूलाई निर्मम हत्या गरिएछ । हामी लगभग सबैजना केही न केही घाइते भइसकेका थियौं । गुलेली नलागेको र डाम नभएको सायद बडी प्रोटेक्ट र हेल्मेट भएको बाहेक कुनै ठाउँ बाँकी थिएन, त्यही बेला भीडमाथि फर्केर हमला गर्न सकिएन र थप फोर्स आउन पनि ढिलाइ भयो । हामी खेतबाटै ब्यारेकतिर फर्कियौं । ब्यारेकभित्र पुगिसकेपछि घटनाको विस्तृत जानकारी पाएँ, त्यतिबेला थप टोली जाँदा आन्दोलनकारीहरू तितर–वितर भइसकेका रहेछन् । हाम्रो टिमका २ जना र नेपाल प्रहरीका ५ जनासहितको लाश भेटिन पुग्यो । जसमा हाम्रो एसपी सरको सुरक्षा गार्डसमेत रहेका हवल्दारलाई त पेट्रोल छर्केरै जलाएको र एसएसपी न्यौपाने सर, इन्स्पेक्टर केशव बोहरालगायतलाई भाला रोपेर मारेको पाइयो ।
अब भन्नुस् यो हत्या नभएर के हो ? यस्तो नियोजित हत्यालाई पनि राजनीतिकरण गरेर रिहाई गर्ने कुचेष्टा गर्नु अन्याय मात्र होइन, महाअपराध हो, त्यसैले देउवा सरकारलाई कलंकको टीका नलगाउनुहुन आग्रह छ । अन्यथा यसका विरुद्ध सडकदेखि अदालतसम्म जस्तोसुकै कदमका लागि मेरो साथ, सहयोग र पूर्ण समर्थन रहनेछ ।
टिप्पणीहरू