एकाइ कावागुची कसरी नेपाल आइपुगे ?

एकाइ कावागुची कसरी नेपाल आइपुगे ? – नारायणबाबु थापा

सेरावले मलाई त बसेको घरको कान्छी छोरीसँग बिहे गर भनेर प्रस्ताव पो गरे । कहाँ भिक्षु बनेर हिँडेको मान्छे घरजम गरेर कसरी बस्नु ? चराङमा सबैको प्यारो थिएँ । चराङमै सन् १९०० साल लाग्यो । बुद्ध ग्रन्थ तथा मन्त्रहरू पढेर जापानको उन्नतिको कामना गरें । सवैले मलाई चिनियाँ लामा भनेर चिने । चराङमा अदाम नारिंगसँग भेट भयो । उनी मार्फाका रहेछन् । तिब्बतमा ब्यापार गर्ने उनले बुद्धका किताब ल्याएका रहेछन् । मलाई मार्फा जान भने । मार्चमा मार्फा झरियो । मलाई चराङ बस्दा ११ महिनामा धेरै घुलमिल भएकाले विभिन्न उपहार दिएर बिदाइ गरे । यसरी झन् उत्तर लाग्नुपर्ने कावागुची त दक्षिण पो झ¥यो । 

मार्फामै सरत दासको पत्र पाएँ महावोधी जर्नलसहित । मेरो बारेमा अफवाह पनि फैलियो । म कुनै विशेष कार्यको लागि खटिएको जासुस पो हुँ कि भन्ने भयो । मैले अदाम नारिंगलाई प्रष्ट पारेँ । त्यहाँ बुझेअनुसार जुन, जुलाई र अगष्ट महिना तिब्बत जान सहज रहेछ । मैले यात्राका निम्ति आवश्यक सामानहरू पाएँ । धवलागिरीको भ्यालीसम्म सहयोगी मिल्यो । सिधै उत्तर गए दश दिनमै तिब्बत पुग्न त सकिन्थ्यो तर मैले तेईस दिन लाग्ने गोप्य बाटो समाउने भएँ । १२ जुन १९०० मा मार्फा छाडें । सान्दा गाउँ आयो । जम्मा दश वटा घर विकट, हिमालको बीचमा । तीन महिना मात्र बाहिरी दुनियाँसँग सम्पर्क हुने रहेछ । मार्फा छाडेको पाँचौं दिन तासिथांग पुगियो । कहिले गुफा, कहिले खुला स्थान, कठिन बाटो भएर यात्रा अघि बढ्यो । धवलागिरिको किनारजस्तो लाग्यो । छार्का पुग्यौं । १ जुलाईमा सँगै आएको गाईडलाई मार्फा फर्कन भनें । म एक्लै खाम्बुथाङ निस्कन्छु भन्दा अचम्मै मान्यो, आँशु निकालेर फर्कियो, ऊ ओझेल नहुन्जेल हेरिरहें । सायद मलाई देख्ने अन्तिम मान्छे पनि ऊ नै हुन सक्छजस्तो लाग्यो । 

कठिन बाटो, हिमालका चुचुरा पार गरेर २६ जुन १८९७ मा जापानबाट बाटो लागेको म, करिब तीन वर्षसम्म तिब्बतमा पाइला टेकुँला भन्ने थियो । हुन पनि मैले ४ जुलाई १९०० मा टेकें एक्लै एक्लै । 
कता हो कताको बाटोमा पालहरू भेटें । छोरी मान्छे रहिछन् । सहारा दिइन् । उनको छोराले गेलोंङ रिम्पोछेकोमा लगिदिने भए । त्यहाँका प्रसिद्ध सिद्ध रहेछन् । चौंरी पनि मिलाए सामान बोक्नको लागि । गुफामा बस्ने रहेछन् सिद्ध । धेरै मानिस दर्शन गर्न आएका थिए । सत्तरी वर्षका रहेछन् भिक्षु । जिन्दगीभरि तपस्या गरेर अनकण्टार स्थलमा बसेका । मैले घुमन्ते भएको बताएँ । दोश्रो पटक पनि दर्शन गरें । मलाई बाटोको लागि खानेकुराहरू दिए । 

त्यहाँबाट एक्लै लागें । एउटा नदी आयो । दुई कुराको डर भयो– एक, चितुवा र अर्को डाँकाहरूको । खामबाट आएका तीर्थालु भेटिए । गेलोङ रिम्पोछेकोबाट आएको भनेपछि सहज भयो । १२ जुलाईमा लद्दाखबाट आएका ब्यापारीहरू भेटिए । आल्चु लामासँग भेट भयो । उनले त तीन वटा पो बिहे गरेका रहेछन् । हैन भने तिब्बतमा त्यो बेला धेरै भाइले एउटै बिहे गर्थे । आल्चु फरक रहेछन् बूढा त । यात्रामा फेरि पालहरू भेटें । वाङचुक रहेछन् मुखिया । पहिला त शंकाले हेरे, रिम्पोछेको नाम लिएकाले सहज भयो । तामचोक खावाव आयो । १५ दिनको कठिन यात्रापश्चात् मानसरोवर र कैलाश पर्वत अर्थात् काङ रिम्पोछे जाने बाटो भेटियो । कहिले नदी तर्दै, कहिले हिउँको पहाड उक्लंदै फेरि पालहरू भएको स्थानमा पुगें । कुकुरहरूले झण्डै झम्टेका । तीन वटासम्म पालेले वास्ता गरेनन्, चौथोले स्वागत गरे । 

३ अगष्ट भयो । एउटा गाउँमा पुगें । चिनियाँ लामाले ध्यान गरेको, धार्मिक ग्रन्थहरू पढेको देखेर आश्चर्य माने । मलाई कैलाश सँगै परिक्रमा गराउने भए । छोरी रहिछे दावा, भर्खरकी । मलाई मन पो पराउन थाली । प्रेम गर्नै थालीजस्तो लाग्यो । मलाई खाना पकाउने, बस्ने र सुरक्षाको समस्या भएन । कैलाश पर्वत देखियो । मानसरोवर आयो । तिब्बतीले माफाप याम्त्सो भन्ने रहेछन्, संस्कृतमा अनभतप्त । बुद्धिष्ट गुम्बामा आएँ त्से को लो । लामा रहेछन् । खासै ज्ञानको भने कमी पाएँ । चीनमा पनि बुद्धिष्ट भनेर अचम्म माने । श्रीमती पनि राखेर बसेका रहेछन् लामाले । म मानसरोवर तालमा पुगें । नेपाल र भारतबाट तीर्थ गर्न आएकाहरू भेटिए । उनीहरू पवित्र तालमा डुबुल्की लगाउँदै थिए । कैलाश पर्वतलाई भगवान् शिवको अवतार मान्ने रहेछन् । मलाई लामा भिक्षु भनेर उपहारहरू दिए । राक्षस ताल र मानसरोवर देखियो । बढी पानी पर्दा १५ वर्ष जतिमा राक्षस तालको पानी मानसरोवरमा मिसिन्छ र यसलाई बूढाबूढी भेट भएको भन्ने रहेछन् तिब्बतीले । गंगा नदी बुरांग भएर बग्ने रहेछ । बुरांग हुँदै धेरै ब्यापारी आउने रहेछन् सिजनमा । तिब्बत त अझै बार्टर सिष्टममै चलिरहेको रहेछ । हिसाब गर्नै नजान्ने, धेरै हिसाब गर्नुपरे जापानीले एक घण्टामा गर्ने हिसाब तीन दिन लगाउने रहेछन् विचराहरू । 

ग्या निमामा एकसय पचासजति सेता पालहरू, करिब ५–६ सय मानिसको भेला । ब्यापार मजाले चल्ने रहेछ– भारतीय, नेपाली अनि तिब्बतीको बीचमा । सेप्टेम्बरसम्म हुने रहेछ व्यापार । ग्या कार्कोमा झन् ठूलो बजार । एउटा भारतीय भेटियो अंग्रेजी बोल्ने । उसले मलाई भारतीय ठानेछ । मैले चिनियाँ हुँ भनें । हिमचिम राम्रै भयो । मैले राय सरतलाई तिब्बत छिरेको जानकारी दिएर चिठी लेखें । भित्री खामबाट जापानमा हिगे तोकुजुसो र इतो इचिकोलाई पनि चिठी लेखें । फर्किएपछि थाहा पाएँ कि मेरो चिठी पुगेछ जापान, भारतीय साथी इमान्दार रहेछन् । 

म सँगै साथ दिन आएका, साथै मेरो प्रार्थनाले गर्दा मसँग परिक्रम गर्दा धर्म हुन्छ भन्ने ठानेर दावा छोरीसहित साथमा रहेकाहरू भएकोले सहज भयो । दावाले पो मलाई नछाड्ने भइ । अनेक गरेर फकाउने गर्न थालि बिहे गरौं भनेर । मैले तिम्रो आमा खोइ त भनेर सोंधें । बाबु, काकाहरूसँग तीर्थ गर्न आएको, आमा घरै छिन्, हामी फर्कंदासम्म बाँच्छिन्, बाँच्दिनन् भनी । मैले धर्मका कुराहरू गरेर उसलाई सही बाटोमा ल्याउन प्रयास गरें । अब भने बल्ल मायालु तवरमा हैन कि लामा गुरुको रूपमा देख्न थाली । 

यात्रा अघि बढ्यो । तीन वटा बाटा रहेछन् कैलाश परिक्रमाको । प्रित पुरी आयो । पाल्देन आतिसाले नाम दिएका रहेछन् प्रित पुरीलाई । मेरो मुखियाले कैलाशलगायत चुचुराहरू देखाएर एउटा शाक्यमुनी बुद्ध, अर्को बोधिसत्व मञ्जुश्री अवलोतिश्वर र अर्को भने बज्रपानी हुन् भनी चिनाए । गुम्बाहरू भेटिए बाटोमा । धेरै तिब्बतीयन, युवा युवतीहरू पनि परिक्रमा गर्दै रहेछन् । कहिलेदेखि चलेको होला यो यात्रा ? कोही त लम्पसार परेर पनि परिक्रमा गर्ने रहेछन् । कसरी सकेका ? धर्म हुन्छ भनेपछि शरीरलाई अनेक कष्ट दिएरै पनि मानिस निरन्तर त्यसमा लागिरहेकै छन् जस्तो लाग्यो । 
उचाई पुगियो, डोल्मा ला रहेछ । राजा कुवेर अर्थात् धनको देउताको बासस्थान भने । कालिदासले मेघदूतमा पनि उल्लेख गरेका । मलाई त धेरै गाह्रो भयो श्वास बढेर । याकमा चढें हिँड्न नसकेर । तिब्बतियन योगी जेत्सुन मिलारप्पाले पत्ता लगाएको गुफा भेटियो । ती निकै ठूला कवि रहेछन् तिब्बतका । तिनको बारेमा पश्चिमाहरूले खोज गरेर उनको कविता अरु भाषामा उल्था भएको रहेछ । मैले पछि दार्जिलिङमा रसियनहरूलाई यो प्रसंग बताएँ । 

सेप्टेम्बरको मध्यतिर दावाले मलाई माया गर्छे भन्ने कुरा बाहिरियो । उसको बुबा र भाइहरू झगडा पो गर्न थाले । कसैसँग बिहे गर्दिने सुरमा रहेछन् काका । तिनीहरू त पहिला डकैती, हत्या गरेको पोल खोलाखोल गर्न थाले । त्यही पाप पखाल्न पो यता तीर्थ आएका रहेछन् मोराहरू । ढुंगा हानाहान गर्न थाले । छुट्याउने कोसिस गर्दा मैलाई लागेर घाइते भएँ । भोलिपल्टै सबै अलग–अलग बाटो लागे । बल्ल मैले काउसोबाट छुटकारा पाएँ दावाको । कहाँ यतिबिध्न कष्ट भोगेर बुद्ध धर्मको बारेमा ज्ञान हासिल गर्न, तिब्बतको भ्रमणमा निस्केको मान्छे मानसरोवर, कैलाशको काखमा आएर दावालाई बिहे गरेको भए के हुन्थ्यो होला मेरो ?

क्रमश: (उनैको: तिब्बतमा तीन वर्षमा आधारित)
 

टिप्पणीहरू