रेशमले किन अरुणलाई टिकट दिन खोजेनन् ?
कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य जितेका अरुण चौधरीलाई किन रेशम चौधरीले उम्मेदवार बनाउन नखोजेका होलान् ? अहिले थारु समुदायमा निकै चर्चा हुन थालेको छ । रेशमकै सल्लाहमा क्षेत्र नम्बर २ बाट लड्ने गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका अरुणलाई टिकटबाट रोक्न पूरै प्रयास गरिएको खुल्न थालेको छ । अरुण स्थानीय चुनाव सकिएलगत्तै रेशमको पार्टीमा प्रवेश गरेका थिए । उनी क्षेत्र नं. २ मा लोकप्रिय रहेकाले नै नागरिक उन्मुक्तिमा प्रवेश गराइएको थियो ।
हुन पनि उनी ०७४ को स्थानीय चुनावमा लम्की चुहा नगरपालिकाबाट मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का मेयर उम्मेदवार बन्दा एक हजार मत कम पाएर पराजित भएका थिए । उनी विजय गच्छदारका कारण फोरममा थिए । विजय कांग्रेसतिर गएपछि उनी पनि कांग्रेस भए । त्यसपछि ०७४ को प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नं. २ कै ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार बने । सो चुनावमा पनि माओवादीका नन्दबहादुर साउदसित ८४५ ले पराजित भए । तर, तिनै अरुणलाई रोक्न रेशमले पूरै प्रयास गरे । जबकि उनकी श्रीमती तथा सो पार्टीको अध्यक्ष रञ्जिता चौधरी पनि अरुणकै पक्षमा थिइन् ।
रञ्जिता मात्र होइन, नागरिक उन्मुक्तिका क्रियाशील नेता, कार्यकर्ता पनि अरुणकै पक्षमा थिए । तैपनि, रेशम किन अरुणको विपक्षमा थिए बुझ्न कठिन भएको थारु नेताहरू बताउँछन् । उनलाई टिकट दिन कैलाली क्षेत्र नम्बर ३ को (ख) बाट निर्वाचित खुसीराम डगौरा थारुलगायत नेताले चर्को लबिङ गरेका थिए ।
अरुणले यसपटक एमालेका बहालवाला सांसद झपट र माओवादीबाट २०६४ का संविधानसभा सदस्य भगत बडुवाललाई पराजित गरेका छन् । कैलालीमा नागरिक उन्मुक्ति स्थानीय तह, प्रदेश र संघमा पहिलो पार्टी हो । उसले १३ पालिकामध्ये चार, प्रदेशका १० मा पाँच र संघका पाँचमध्ये तीन जितेको छ । ०७४ को चुनावमा भने रेशम मात्र कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
टिप्पणीहरू