संयोगकै खेल त रहेछ नि यो संसार

संयोगकै खेल त रहेछ नि यो संसार

अन्तिम राणा प्रधानमन्त्री मोहनसमशेरका नातिलाई गणतन्त्रकालीन सांसदलाई शपथ खुवाउने सौभाग्य जुरेको छ । भोलि दिँउसो १ बजे सबैभन्दा ज्येष्ठ सदस्यको हैसियतमा अन्य सांसदलाई शपथ खुवाउँदैछन् पशुपतिसमशेर राणाले । 

नागरिकताअनुसार राणाको उमेर ८१ वर्ष ७ महिना १० दिन पूरा भएको देखिएको छ । भोलि दिउँसो १ बजेअगावै राष्ट्रपतिबाट शपथ लिएर राणाले अन्य २७४ सांसदलाई शपथ खुवाउन लागेका हुन् । राप्रपामा समानुपातिकतर्फ खस आर्य समूहबाट सांसद चुनिएका उनलाई ज्येष्ठ सदस्यका रूपमा पहिलो बैठकको अध्यक्षता गर्ने र अन्य सदस्यलाई शपथ खुवाउने अवसर जुरेको हो । 

सचिवालयले जनआस्थालाई दिएको जानकारीअनुसार राणाभन्दा चित्रहादुर केसी २ महिना मात्र कान्छो छन् । तेश्रोमा महन्थ ठाकुर छन््, जसले अघिल्लो पटक अर्थात् ०७४ मा ज्येष्ठ सदस्यका रूपमा अरुलाई शपथ गराएका थिए । नागरिकताअनुसार सबैभन्दा ज्येष्ठ (८५ बर्ष) सदस्य देखिन्छन्, महेन्द्र राय यादव तर उनले अघिल्लो पटक (०७४)मै आफू ज्येष्ठ सदस्य नभएको बताएपछि महन्थका लागि त्यो अवसर जुरेको थियो । महेन्द्र रायका अनुसार नागरिकतामा १९९४ साल वैशाख २४ गते लेखिएको भए पनि उनको वास्तविक जन्ममिति २०११ असार १५ गते हो । यो अनुसार उनी ६८ बर्षका मात्र भए । उनीभन्दा रामचन्द्र पौडेल (७८), देउवा (७७) जेठा हुन् । 

मुद्दा चलिरहेका यी माननीय

सरकारी निकायलाई ज्ञात छ, केही निर्वाचित सांसदउपर भ्रष्टाचारजन्य, फौजदारी कसुरको मुद्दा विचाराधीन छ । तैपनि, संवैधानिक निकायहरु ‘विचरा’को हालतमा छन् । उनीहरू आफैँ अग्रसर भएर केही गर्न सक्दैनन् । आयोग वा संसद सचिवालय आफैंले ‘लौ, तीउपर उजुरी हाल’ भनेर कसैलाई उकास्न पनि मिलेन । 

यसपटक निर्वाचित भएकामध्ये प्रतिनिधि सभाका दुई र प्रदेश सभाका तीन सांसदउपर विभिन्न कसुरमा मुद्दा विचाराधीन छ । कतिपय प्रहरीको ‘फरार’ सूचीमा दर्ज छन् त केहीउपर अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ । जस्तो ः प्रतिनिधिसभातर्फ टेकबहादुर गुरुङ र लक्ष्मी कोइरी महतो । मनाङका टेकबहादुर हुन् वा महोत्तरी–१ बाट चुनिएका लक्ष्मी, कानुनी व्यवस्थाअनुसार दुबै सांसदको शपथ लिन अयोग्य छन् । गुरुङउपर काठमाडौंको प्रदर्शनीमार्गस्थित फनपार्क ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतलाई गुहार्दै ३१ करोड भ्रष्टाचार मुद्दा दायर गरेकोमा अहिले उनी फास्ट ट्र्याकबाट मुद्दाको छिनोफानो गर्नतिर लागिपरेका छन् । यस्तै, लक्ष्मी कोइरी सशस्त्रका असई थमन बिकको हत्या अभियोग लागेर फरार सूचीमा छन् ।

मधेस आन्दोलनताका २५ भदौ ०७२ मा बिकलाई गाडीबाट थुतेर भाला तथा धारिलो हतियारले घोची मारेको अभियोग कोइरीमाथि छ  । उनलाई २ असोज ०७६ मा जिल्ला अदालत महोत्तरीले एक लाख धरौटीमा छाड्न आदेश दिएकोमा उच्च अदालत जनकपुरले पक्राउ आदेश दिएपछि फरारको सूचीमा छन् । यसका अलावा लुम्बिनी प्रदेशअन्तर्गत बाँके ३ (२) बाट निर्वाचित बादशाह कुर्मी, गण्डकी प्रदेशको मनाङ (२) बाट निर्वाचित दीपक मनाङे र मधेस प्रदेशअन्तर्गत महोत्तरी ३ (क) बाट निर्वाचित अभिराम शर्माविरुद्ध पनि मुद्दा विचाराधीन छ तर नेपालको कानुन दैव जानुन् भनेझैं फौजदारी कसुर लागेका व्यक्ति उम्मेदवार बन्न मिल्ने, सांसदको शपथ लिन नपाउने अवस्था रहन्छ, कथं कोही कसैले उनीहरूउपर उजुरी दिएको खण्डमा मात्र । एक निर्वाचन आयुक्तका अनुसार अदालतमा मुद्दा चलिरहेका र प्रहरीको फरार सूचीमा परेका व्यक्तिउपर उजुरी परेको खण्डमा मात्र शपथ रोकिन सक्छ ।

कहीँ–कतैबाट उजुरी नपरे आयोग आफैं अग्रसर भएर केही गर्न सक्दैन । यस्तै, संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे पनि बहालवाला सांसदको हकमा भ्रष्टाचारजन्य मुद्दा वा फौजदारी अभियोगमा मुद्दा चलेको खण्डमा उनीहरू स्वतः निलम्बनमा जाने तर त्यसका लागि कोही–कसैको उजुरी जरुरी हुने, अहिलेसम्म त्यस्तो उजुरी सचिवालयमा भने नपरेको बताउँछन् ।

 

टिप्पणीहरू