लुम्बिनीमा यसरी सल्टियो चीनसँगको लफडा
सन् १९९५ मा चिनियाँ परराष्ट्र मन्त्रालयको एसियाली विभागका पूर्व उपनिर्देशक चाङ चिउह्वानसँग काउन्सिलरको रुपमा विदेशमा काम गरेको अनुभव थियो । त्यतिबेला नेपालका लागि चिनियाँ राजदूतलाई बर्खास्त गरिएको कारण चाँडोभन्दा चाँडो नयाँ राजदूतको खोजी हुँदै थियो । पहिला कार्यरत काउन्सिलरहरूमध्येबाटै राजदूत छान्ने गरिएको थियो तर पछिल्लोपटक यो प्रक्रियालाई उपयुक्त मानिएन । पछि चीन फर्किसकेकाहरूमध्येबाट छनोट गर्ने नीति लिइयो । चाङले आफ्नो जिम्मेवारी राम्रोसित निभाएका थिए भने युवा पनि थिए । भबिष्यमा अझ राम्रो काम गरेर देखाउन सक्ने प्रचुर सम्भावना थियो । यसर्थ उनी नेपालका लागि राजदूतमा चयन भए । नियुक्त हुँदा ४० वर्षका उनी आधुनिक चीन स्थापनापछिका सबैभन्दा कान्छो राजदूत बने ।
लुम्बिनीमा चिनियाँ मन्दिर
उनी यता राजदूत नियुक्त भएको अर्को वर्ष सन् १९९६ अप्रिलमा जेनेभामा अमेरिकीहरूले मानवाधिकारको विषयलाई लिएर चीनमाथि आक्रमण गर्न थाले । उनले नेपाल आएर प्रधानमन्त्री देउवालाई भेटे र विकासोन्मुख देशहरूका लागि मानवअधिकारको मुद्दा जीवन निर्वाह र विकासको अधिकारसित जोडिएको बताए । उनले त्यसो भन्दा प्रधानमन्त्री देउवाले टाउको मात्र हल्लाए । उनले चीन र नेपाल नजिकको मित्र भएकोले यो मुद्दामा दुवैको राय एउटै हुनुपर्ने बताए । चाङले त्यसो भन्दा पनि देउवाले टाउकै मात्र हल्लाइरहे । चाङले आश्चर्य मानेर सोधे, ‘के तपाईं मेरो कुरामा सहमत हुनुहुन्न ?’
कुरो सकेपछि देउवाले भने, ‘कृपया ढुक्क हुनुहोस्, पश्चिमाहरुका अनुचित कार्य रोक्ने सवालमा चीनसँग मिलेर काम गर्न म हाम्रा प्रतिनिधिहरूलाई अवश्य निर्देशन दिनेछु ।’ प्रधानमन्त्रीको कुरा सुनेपछि बल्ल चाङले बुझे– नेपालमा टाउको हल्लाउनुलाई पनि सहमति रहेछ भनेर बुझ्नुपर्ने रहेछ । १९९६ को शुरुमा कूटनीतिक वार्ता हुँदा देउवाले चाङलाई एउटा पुरानो प्रसंग सम्झाए । दशौं पञ्चेन लामाले १० वर्षअघि नेपाल भ्रमण गर्दा नेपालका राजासामु लुम्बिनीमा चिनियाँ मन्दिर बनाउने वाचा गरेको तर यतिका वर्षमा पनि निर्माण शुरु नभएकोमा प्रधानमन्त्रीको गुनासो रहेछ ।
चाङलाई यो कुरा थाहा थिएन । सन् १९८४ मा श्रीलंकामा सम्पन्न विश्व बौद्ध मित्रता सम्मेलनमा नेपालले चिनियाँ पक्षलाई एउटा चिनियाँ मन्दिर निर्माणको निम्ति प्रस्ताव राखेको रहेछ । त्यस्तै सन् १९८६ मा नेपालमा बुद्धिस्टहरूको वल्र्ड फेलोसिप आयोजना हुँदा तत्कालीन नेशनल पिपुल्स कंग्रेस स्थायी समितिका उपाध्यक्ष र चीनको बौद्ध संघका मानार्थ अध्यक्ष १० औं पञ्चेन लामाले उक्त प्रस्तावलाई अनुमोदन गरेका रहेछन् । चीनको बौद्ध संघका अध्यक्ष झाओ पुचुले पनि ‘चुङकुओ टेम्पल’ बनाउने कुरा लेखेका रहेछन् तर पछि नेपालमा भएको राजनीतिक परिवर्तनका कारण त्यस काममा ढिलाइ भएको रहेछ ।
चाङ मन्दिर नबान्नुको पृष्ठभूमि थाहा पाउनेबित्तिकै साइट भ्रमणमा गए । सबैभन्दा पहिले उनले एउटा अज¨को बोधी रूखका छेउमा एउटा ठूलो पोखरी देखे । पोखरीको उत्तरमा अशोक स्तम्भ थियो । लुम्बिनी विकास कोषका उपनिर्देशकले चाङलाई चिनियाँ मन्दिर बनाउनका लागि खाली राखिएको ठूलो ठाउँ पनि देखाए । त्यसपछि दलाई लामाले बनाएको तिब्बती बौद्ध मन्दिर देखाए, जुन नजिकै थियो । उनले यही ठाउँलाई प्रयोग गरेर केही पृथकतावादीले काठमाडौंमा लुकेर सिमाना पार गरी तिब्बतसम्म तस्करी र तोडफोडका गतिविधिहरू सञ्चालन गर्ने गरेको बताए ।
उनले यो पनि बताए कि चीनले आयोजना शुरु नगरे ताइवान अघि सर्न तयार छ । चाङले त्यहाँबाट फर्केर दूतावासमा आफ्ना साथीहरूसँग यस विषयमा छलफल गरे । उनीहरूको रिपोर्ट पाएपछि चीन सरकारले यसलाई ठूलो महत्व दियो । यो आयोजनालाई छिट्टै अगाडि बढाउने विषयमा अध्ययन गरी निर्णयमा पुग्न विशेष राज्य सम्मेलनको आयोजनासमेत गरियो । शुरुमा, तीस लाख मिलियन युआन छुट्याउने निर्णय गरिएको थियो, तर त्यो पर्याप्त नहुने देखिएपछि चाङले यसलाई थप ३० मिलियन युआन बढाएर कूल ३३ मिलियन युआनको व्यवस्था मिलाए ।
सन् १९९६ को अप्रिलमा देउवाले चीन भ्रमण गर्दा तत्कालीन प्रधानमन्त्री लि फङले ग्रेट हल अफ पिपुलमा भेटेर चिनियाँ मन्दिर छिट्टै निर्माण हुने आश्वासन दिए । यो सुनेर देउवा खुशी भए । डिसेम्बर १, १९९६ मा, चिनियाँ मन्दिरको शिलान्यास भयो । समय अलि कम थियो किनभने निर्माण अप्रिलबाट शुरु गर्ने निर्णय थियो । यसबीच नेपाली पक्षले अक्टोबर १, १९९६ मा अशोक स्तम्भ फेला परेको १००औँ वर्षगाँठको दिन शिलान्यास गर्दा राम्रो हुने बतायो ।
सोही वर्षको डिसेम्बर ४ मा राष्ट्रपति जियाङ जेमिन नेपाल आउँदै थिए । एकातिर दूतावासले राष्ट्रपतिको भ्रमणको तयारी गर्नुपरेको थियो भने अर्कोतिर लुम्बिनीमा चिनियाँ मन्दिर बनाउनैपर्ने थियो । नभन्दै दुई वर्षमै चिनियाँ मन्दिर निर्माण सम्पन्न भएको थियो । सन् १९९८ मा झाङलाई चीन फर्काइँदा चिनियाँ मन्दिरको मुख्य हल र सहयोगी घरहरू निर्माण भइसकेका थिए । चिनियाँ मन्दिरको काम पूरा भएपछि, तिनीहरूले मुख्य भिक्षुलाई नेपाल पठाए । पहिलो मुख्य भिक्षु मास्टर हुइसान थिए, जो त्यहाँ १० वर्षसम्म बसे ।
त्यतिबेला चीनमा बजार अर्थतन्त्र लागू थियो तर लुम्बिनीको अवस्था भने अझै अप्ठ्यारो नै । त्यहाँ बस्ने भिक्षुहरूले धेरै दुःख भोगे, यसको बाबजुद उनीहरू बुद्ध धर्मको प्रवद्र्धनमा अडिग रहे र विभिन्न देशका गुम्बासँग सम्पर्क राख्ने काम गरे । त्यसपछि दलाई लामाले फेरि लुम्बिनी भ्रमण गर्ने हिम्मत गरेनन् र पृथकतावादी गतिविधि भएनन् । अहिले पनि समय–समयमा चाङ मन्दिरको प्रगतिबारे सोधपुछ गर्ने गर्छन् । उनले २० वर्षदेखि मन्दिर राम्ररी चलिरहेको सुनेका छन् । मास्टर हुइसानको ठाउँमा यिनसुन मुख्य भिक्षु छन् ।
टिप्पणीहरू