महाकाली नदी छेक्ने भारतीय योजना स्वीकृत
भारतको केन्द्र सरकारले महाकाली नदी किनारमा १८ किमि लामो पक्की तटबन्ध निर्माणको ठूलो योजना स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालयले राज्य सरकारको सिञ्चाइ विभागबाट प्रस्तावित तटबन्ध निर्माणको योजनालाई नोभेम्बर २४ मा सदर गरेको हो । पिथौरागढ जिल्लाको धारचुला तहसिल मुख्यालयदेखि जौलजीवी बजारसम्मको महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माण गर्ने योजना स्वीकृत भएको र बजेट भने रक्षा मन्त्रालयले उपलब्ध गराउने कुरा छ ।
धारचुलादेखि जौलजीविसम्मको महाकाली नदी किनारक्षेत्रमा भारतीय सुरक्षा निकायका ब्यारेक रहेकाले रक्षा मन्त्रालयले तटबन्ध निर्माणमा बजेट खर्चन लागेको हो । भारतीय सेनाको कुमाउँ स्काउट, गोरखा रेजिमेन्ट, भारत–तिब्बत सीमा पुलिस (आइटिबिपी), सशस्त्र सीमा बल (एसएसबी), सीमा सडक संगठन (बिआरओ) र उत्तराखण्ड प्रहरीका दर्जनौँ चौकी र ब्यारेकहरू महाकाली नदी किनार क्षेत्रमा छन् । नदी किनार कटान र बाढीको जोखिम रहेकोेले केन्द्र सरकारको बजेटले पक्की तटबन्ध निर्माणको योजना कार्यान्वयन गर्न लागिएको हो । उत्तराखण्ड राज्य सरकारको सिञ्चाइ विभागले २६ वटा स्थानमा तटबन्ध निर्माणको प्रस्ताव केन्द्र सरकारलाई पठाएको थियो ।
प्रधानमन्त्री कार्यालयले यीमध्ये ६ स्थानमा संरचना निर्माणको योजना स्वीकृत गरेको समाचार सार्वजनिक भएको छ । नदी किनारैकिनार सञ्चालित राष्ट्रिय राजमार्गको छेउमै तटबन्धको संरचना निर्माण गरिनेछ । धारचुलादेखि जौलजीवीसम्मको सडक दूरी २८ किमि भए पनि प्रमुख ६ स्थानमा गरी १८ किमि लामो पक्की तटबन्धको संरचना बनाइनेछ । स्वीकृत योजनामध्ये चार ठाँउमा तटबन्धको संरचना र दुई स्थानमा पहिरो रोकथामको कार्य गरिनेछ । धारचुला बजार नजिकैको खोतिला पहिरो क्षेत्र र धारचुला बजारछेउ एलाधार क्षेत्रको पहिरो रोकथाम पनि गरिने जनाइएको छ ।
०७० सालमा महाकाली नदीको बाढी र कटानले नेपालका साथै भारततर्फ पनि ठूलो क्षति पुगेको थियो । नेपाल सरकारले दार्चुला सदरमुकाम क्षेत्रको कोर एरियामा ५ किमि लामो पक्की तटबन्धको संरचना निर्माण गरिसकेको छ । खलंगा बजारसँगै जोडिएको धारचुला बजार क्षेत्रको महाकाली नदी किनारमा भारत सरकारले अहिले एक किमि लामो पक्की निर्माण गरिरहेको छ । ७७ करोड भारतीय रूपैयाँको लागतमा केन्द्र सरकारले ९ सय ८५ मीटर लामो र ९ मीटर अग्लो पक्की तटबन्धको संरचना बनाउँदै छ ।
उत्तराखण्ड राज्य सरकारको सिञ्चाई विभागमार्फत निर्माण भइरहेको धारचुला बजार क्षेत्रको पक्की तटबन्ध निर्माण ३ महिनाभित्र गरिसक्ने योजना छ । महाकाली नदीले धारचुलादेखि जौलजिवीसम्मको तटीय क्षेत्रमा कटान गरी क्षति पु¥याएकाले बृहद तटबन्ध निर्माणका लागि केन्द्र सरकारसँग योजना माग गरिएको धारचुला नगरपालिका अध्यक्ष राजेश्वरीदेवीले बताइन् । महाकाली नदी किनार क्षेत्रमा एक दशक अवधिमा ८ सयभन्दा बढी परिवार प्रभावित बनेको सिञ्चाइ विभागको तथ्यांक छ । नदी किनार क्षेत्रका ५ सय १० परिवारले २०७० सालको बाढी र नदी कटानबाट आफ्नो घर, जग्गा र सम्पत्ति गुमाएको छ ।
नदीकिनार क्षेत्रमा यो संरचना निर्माण सम्पन्न भएपछि धारचुला तहसिल क्षेत्रका ६० हजार जनसंख्यालाई बाढी र कटानबाट सुरक्षा पुग्ने धारचुला विकास खण्ड प्रमुख धनसिंह धामीले बताउनुभयो ।
टिप्पणीहरू