कामबाट निकालिएपछि एक दर्जन नेपाली विदेशमा अलपत्र

कामबाट निकालिएपछि एक दर्जन नेपाली विदेशमा अलपत्र

रोजगारीको सिलसिलामा मलेसिया पुगेका १३ जना युवा अलपत्र परेका छन् । कम्पनीले कामबाट निकालेपछि उनीहरु एक महिनादेखि एउटा कोठामा थुनिएर बस्नु परेको जनाएका छन् । रुकुम पश्चिमका चार जना र सुनसरीका नौ जना युवाले आफूहरु मलेसियामा अलपत्र परेको जनाएका छन् । वैदेशिक रोजगारीको लागि गत कात्तिकमा उनीहरु त्यहाँ पुगेका थिए । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ का ईन्द्रबहादुर ओली र टिकाराम भण्डारी, सोही नगरपालिका ११ का टेकबहादुर केसी र सुनिल शाहसँगै सुनसरीको बराहक्षेत्र नगरपालिकाका सन्देश राई, दिपकचन्द्र बंशी, देवनारायण यादव, भरतप्रसाद यादव, सन्तोष यादव कामविहीन अवस्थामा रहेका छन् । त्यसैगरी सुनसरीकै कोशी गाउँपालिकाका विवेककुमार मण्डल, हरिनगरा गाउँपालिकाका सुधिरकुमार पाल, कुन्दनकुमार पाल र दिपेन्द्रकुमार पाल अलपत्र परेको जनाएका छन् । 

उनीहरु रुकुम पश्चिमका यज्ञबहादुर बटाला, सुनसरीका शम्भु मण्डल र विष्णु घिमिरे एजेन्ट मार्फत् ग्लोबल रिक्रुटमेन्ट प्रा.लि मेनपावरको सम्पर्कबाट त्यहाँ गएका हुन् । सोही  कम्पनीले उनीहरुलाई एचआर त्रिवेणी मेनपावरबाट भिसा लगाएर मलेशियामा क्लिनरको काम गर्ने भन्दै पठाइएको पीडितहरुले जनाएका छन् । ग्लोबल मेनपावरका हरि क्षेत्रीले आफूहरुलाई कामको ब्रिफिङ गर्दा सजिलो काम र धेरै पारिश्रमिक पाउने आश्वासन दिलाएको उनीहरुले जनाएका छन् । तर अहिले जंगलमा अप्ठ्यारो काममा लगाइएको उनीहरुको दाबी छ ।

मलेसियामा आफूहरु अलपत्र अवस्थामा रहेको बताउँदै ईन्द्रबहादुर ओलीले उद्धारको निम्ति अपिल गरेका छन् । निकै अप्ठेरो काममा लगाएपछि आफूहरु काम गर्न नसक्ने अवस्थामा पुगेको उनले जनाए । आफूलाई नेपालकै कम्पनीले झुक्काएर सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएको मलेसिया पुगेपछि मात्र थाहा भएको ओलीको भनाइ छ ।

‘सम्झौताअनुसारको काममा लगाइपाउँ भन्दा कम्पनीले हामीलाई निकालिदियो, कसरी बाँच्ने हो ? हामीलाई समस्या भयो,’ मलेसियाबाट सुनसरीका सन्देश राईले गुहार भने, ‘हामीलाई कि काम गर्ने, कि घर पुग्ने वातावरण मिलाइदिनुपर्यो ।’ पीडितहरुका अनुसार कम्पनीले विमानस्थल पुगेको बेला भीसा, टिकट र पासपोर्ट एकैसाथ दिइएको थियो । अंग्रेजीमा भएकाले आफूहरुले नबुझेको तर मलेसिया पुग्दा फरक काममा लगाइयो ।

एलाईट ह्युमन रिसोर्स कम्पनीले ग्लोबल ईन्टरनेशनल म्यानपावर मार्फत मलेसियाको नेगिरी सिम्बिलिनमा रहेको पिआरएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा उनीहरुलाई पठाइएको बुझिएको छ । नेपालबाट आउँदा जनही दुई लाख ६० हजारदेखि दुई लाख ८० हजारसम्म तिरेको उनीहरुले बताएका छन् । मुलुक फिर्ता गराइदिन अनुरोध गर्दा कम्पनीले उल्टै पैसा माग्ने मागेको पीडितहरुले बताएका छन् ।

म्यानपावर कम्पनीका एजेण्ट सुनसरीका विष्णु घिमिरेले आफूहरु मार्फत् मलेसिया पुगेर अलपत्र परेका भनिएका युवाहरुलाई कि काममा लगाउन कि नेपाल फर्काउन मेनपावर कम्पनीलाई लगातार दबाब दिएको बताए । उनले कम्पनीलाई तत्काल भनेबमोजिमको काममा लगाउन अल्टिमेटम दिइएको उल्लेख गरे । काममा नलगाए भोलिबाटै नेपाल फर्काउन थालिने उनेको दाबी छ ।

 
रुकुमको चौरजहारी निवासी एजेन्ट यज्ञबहादुर बटालाले कम्पनीले भनेअनुसारको काममा नलगाएकाले कम्पनी परिवर्तन नै गर्ने प्रक्रियामा गएको बताए । ‘कम्पनी बदल्नको निम्ति पासपोर्ट अर्को कम्पनीमा बुझाइसकेका छौ,’ बटालाले भने, ‘केही दिनमै काम बन्नेछ ।’

टिप्पणीहरू