जनार्दनका बैंकिङ सल्लाहकार फर्किए

जनार्दनका बैंकिङ सल्लाहकार फर्किए

हिजोदेखि निवर्तमान भएका अर्थमन्त्री जनार्दन शर्माका बैंकिङ सल्लाहकार आफ्नो कार्यालय फर्केका छन् । नेपाल राष्ट्र बैंकका उपनिर्देशक शालिकराम पोखरेल आजदेखि नेपाल राष्ट्र बैंक फर्केका हुन् ।

नयाँ मन्त्रिमण्डलमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारीमा आएपछि पोखरेलले सामाजिक सञ्जालमा मन्त्रीसँग उभिएर खिचेको फोटो राख्दै मन्त्रालयबाट फिर्ता भएको उल्लेख गरेका छन् । 

यसअघि अर्थमन्त्री शर्मा बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्तिलाई सामेल गराएर करको दर परिवर्तन गरेको आरोपमा केही समय जिम्मेवारी बाहिर रहेका थिए । त्यतिबेला उनै पोखरेल लामो समयसम्म बैंकमा फिर्ता भएका थिएनन् । 

शर्मा मन्त्रीमा पुनः बहाली हुनुभन्दा केही दिनअघि उनी बैंकको केन्द्रीय कार्यालयमा हाजिर हुन जाँदा बैंक प्रशासनले उनलाई आर्थिक अनुसन्धान विभागमा खटाएको थियो । विभागले उनलाई कर्मचारीको चिठी पत्र तयार पार्ने आन्तरिक प्रशासनको जिम्मेवारी दिएको थियो । 

शर्मालगत्तै मन्त्रालयमा हाजिर भएपछि उनी पुनः त्यहाँ आएका हुन् । पदीय र अनुभवको हिसाबले कच्चा व्यक्तिलाई मन्त्रालयमा लगिएको भन्दै बैंकका माओवादी समर्थित निर्देशकहरुले पार्टी नेतृत्वसमक्ष असन्तुष्टिसमेत राख्दै आएका थिए । ‘उनीहरुले बैंकमा कुनै क्षमता देखाउन नसकेका व्यक्तिलाई मन्त्रीले अमुक स्थानको निर्देशन र अनुरोधमा पोखरेललाई च्यापेर जग हँसाएको,’बताउँदै आएका थिए ।

टिप्पणीहरू