राष्ट्र बैंकका हाकिमहरुको विभागीय ‘कटमट’, तालिम दिने रेवती लघुवित्त विभागमा

राष्ट्र बैंकका हाकिमहरुको विभागीय ‘कटमट’, तालिम दिने रेवती लघुवित्त विभागमा

नेपाल राष्ट्र बैंकले नौ जना विभागीय प्रमुखको सरुवा गरेको छ । जनशक्ति व्यवस्थापन विभागले आज जारी गरेको पत्रमा हिजोको निर्णयानुसार गरिएको सरुवा आगामी आइतबारदेखि लागु हुने उल्लेख छ । सरुवा भएका कार्यकारी निर्देशकमा वित्तीय संस्था सुपरीवेक्षण विभागका पीताम्बर भण्डारीलाई मौद्रिक व्यवस्थापन विभाग लगिएको छ । उनको ठाउँमा आन्तरिक लेखापरीक्षण विभागका विश्रुत थापा पुगेका छन् । 

सूचना प्रविधि विभागका प्रदिपराज पौड्याल गैह्रबैंक वित्तीय संस्था सुपरीवेक्षण विभाग र मौद्रिक व्यवस्थापन विभागका नरेश शाक्यलाई मुद्रा व्यवस्थापन विभागको जिम्मा लगाइएको छ । त्यस्तै सुमनकुमार अधिकारीलाई संस्थागत योजना विभागमा पुर्याइएको छ । उनी लघुवित्त संस्था सुपरीवेक्षण विभागमा थिए । संस्थागत योजना विभागका दयाराम शर्मा पंगेनीलाई बैंकिग र मुद्राका रेवती नेपाललाई लघुवित्त संस्था सुपरीवेक्षण विभागमा लगिएको छ ।

सरुवा सूचीअनुसार कार्यकारी निर्देशक रामबहादुर मानन्धरलाई सूचना प्रविधि विभागमा लगिएको छ भने,गैह्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका विमलराज खनाललाई आन्तरिक लेखापरीक्षण विभागको जिम्मा लगाइएको छ ।

बैंकका आकर्षक मानिने जनशक्ति व्यवस्थापन, बैंक तथा वित्तीय संस्था नियमन,बैंक सुपरीवेक्षण,आर्थिक अनुसन्धान,विदेशी विनिमय व्यवस्थापन, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशकलाई यथावत राखिएको छ ।

यीमध्ये पछिल्लो समयमा मुद्रा व्यवस्थापन विभागमा रहेका र अहिले लघुवित्त पुगेका रेवती नेपालले बैंकको स्वीकृति नलिई विभिन्न बैंक तथा वित्तीय संस्थाको आन्तरिक तालिममा भाग लिने गरेको आरोप लाग्दै आएको छ । उनी विशेषगरी आफ्नै जेठान हर्ताकर्ता रहेको बैंकिङ फाइनान्स एण्ड इन्सुरेन्स इन्स्टिच्युट अफ नेपाल  (बिफिन) ले आयोजना गर्ने तालिममा प्रायः शनिबार र सार्वजनिक बिदाको दिन इन्स्ट्रक्टरको रुपमा सहभागी हुने गरेको बैंकका अवकाशप्राप्त एक जना कार्यकारी निर्देशकले बताए ।

केन्द्रीय बैंकले आफ्ना कर्मचारीलाई पूर्वस्वीकृति लिएर मात्र तालिम लिने वा दिने कार्यमा सहभागी हुन पाउने कानुनी व्यवस्था गरेको छ ।

टिप्पणीहरू