सम्भव होला त बिद्या भण्डारी राष्ट्रपतिमा तेहरिन ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री चयन भएसँगै अब मुलुकको ध्यान राष्ट्रपतिको निर्वाचनतर्फ केन्द्रित हुन थालेको छ । आलंकारिक भएपनि मुलुककै सबैभन्दा माथिल्लो पद भएकाले भावी राष्ट्रपतिबारे आमचासो छ । लिखित रुपमा बाहिर नआए पनि एमाले-माओवादी नेतृत्वको सत्ता गठबन्धनभित्र 'पावर सेयरिङ'मा सहमति हुँदा राष्ट्रपति र सभामुख पद नेकपा एमालेको भागमा परेको चर्चा छ ।
गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले राष्ट्रपति एमालेको पोल्टामा जाने सम्भावना देखिन्छ । एमालेले राष्ट्रपति पाउने चर्चासँगै सम्भावित पात्रहरुका विषयमा पनि राजनीतिक बजारमा विभिन्न अड्कलवाजी हुन थालेका छन् । पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई एमालेभित्र भावी राष्ट्रपतिका उम्मेदवारको रुपमा हेरिएको छ । त्यस्तै, पूर्व अनुशासन विभागका प्रमुख अमृत बोहोराको नाम पनि बाहिर आएको छ ।
अहिलेकै राष्ट्रपति भण्डारीलाई समेत अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको सूचीमा राखेको एमाले वृत्तमा चर्चा छ । अध्यक्ष ओली भण्डारीलाई तेस्रो पटक राष्ट्रपति बनाउने मनशायका साथ त्यसको सम्भावनाका विषयमा कानुनका जानकार र निकट नेताहरुसँग परामर्शमा रहेको एमालेका एक नेताले बताए ।
एमाले स्रोतका अनुसार आफू प्रधानमन्त्री भएका बेला अप्ठेरो अवस्थामा साथ दिएको गुण तिर्न राष्ट्रपतिमा भण्डारीको निरन्तरता ओलीको चाहना हो । एमालेको आन्तरिक राजनीतिमा पनि भण्डारी सधैं ओलीनिकट मानिनुहुन्छ । त्यसकारण पार्टीभित्रको समीकरण मिलाउन पनि उहाँ राष्ट्रपतिमा तेहरिने सम्भावना अत्यधिक रहेको एमाले स्रोतको दावी छ ।
तर,संविधानले एक व्यक्ति दुई पटकमात्र राष्ट्रपति बन्न पाउने व्यवस्था गरेकाले त्यस्तो सम्भावना नरहेको एमालेकै अर्कोथरी नेताहरु बताउँछन् । संविधानले एउटै व्यक्तिलाई दुई पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने प्रष्ट व्यवस्था गरेको छ । संविधानको भाग ६ मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया,पदावधि,योग्यता,उनीहरुको काम,कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था छ । सोही भागको धारा ६४ मा योग्यता तोकिएको छ । उक्त धाराको उपधारा २ मा 'दुई पटक निर्वाचित भैसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन' भनिएको छ ।
संवैधानिक कानुनका एकजना जानकार अधिवक्ता ओमप्रकाश अर्यालले पनि वर्तमान राष्ट्रपति पुन: उम्मेदवार हुन संविधानले नदिने बताउनुभयो । 'संविधानले प्रष्टरुपमा दुई पटक मात्र उम्मेदवार हुन पाउने भनेपछि उहाँ स्वत: अयोग्य भैसक्नु भयो । त्यसकारण उहाँलाई राष्ट्रपतिमा निरन्तरता दिने कुरा संविधानको अक्षर र भावनाको प्रतिकूल हुन्छ',उहाँले भन्नुभयो ।
थप प्रष्ट पार्दै उहाँ भन्नुहुन्छ, 'जोसुकै साक्षर मान्छेले पनि संविधान पढ्यो भने बुझ्ने कुरा के हो भने उहाँ (भण्डारी) उम्मेदवारका लागि योग्य हुनुहुन्न । यदि उम्मेदवार हुनुभयो भने निर्वाचन आयोगले नै रोक्न सक्छ । नभए अदालतमा जान्छ ।'
राष्ट्रपतिमा विद्या भण्डारीको निरन्तरता खोज्नेहरुले भने 'दुई पटक' भन्ने वाक्यलाई 'दुई कार्यकाल' का रुपमा व्याख्या गरेका छन् । भण्डारी पहिलो पटक राष्ट्रपति हुँदा प्रदेशको निर्वाचन नभएकाले इलेक्टोरल कलेज नबनेको र प्रतिनिधिसभाबाट मात्र निर्वाचित भएकाले पछिल्लो कार्यकालमात्र गणना हुने उनीहरुको तर्क छ ।
तर,संविधानले प्रदेशसभाको निर्वाचन नभएका कारणले मात्र निर्वाचक मण्डल (इलेक्टोरल कलेज) गठन गर्न बाधा नपर्ने भनेकाले त्यस्ता तर्कमा कानुनी दम देखिंदैन । धारा ६२ को उपधारा २ मा भनिएको छ 'उपधारा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रदेशमा प्रदेशसभाको निर्वाचन नभएका कारणले मात्र राष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि निर्वाचक मण्डल गठन गर्न बाधा परेको मानिने छैन ।'
अधिवक्ता दिनेश त्रिपाठी पनि संविधानमा कार्यकाल नभनी पटक भनेकाले विद्या भण्डारी उम्मेदवारका लागि अयोग्य भैसकेको बताउनुहुन्छ । यदि एमालेले भण्डारीलाई उम्मेदवार बनाए त्यो संविधान उल्लंघन हुने उहाँको ठहर छ । भन्नुहुन्छ, 'बाहिर आएका चर्चा सत्य हुन् भने त्यो संविधानको अपव्याख्या हो । संविधानको कपटपूर्ण अभ्यास हो ।'
एमालेका एक जना नेताले चाहिँ अदालतबाट थप ब्याख्या गराएर जान सकिने सम्भावना औँल्याए । त्यसका लागि अदालतमा रिट हाल्नेसम्मको तयारीको संकेत गरे ।
अधिवक्ता त्रिपाठी भने त्यसमा सहमत हुनुहुन्न । उहाँका अनुसार संविधानको अक्षर र त्यसको भावना प्रतिकूल अदालतले अन्यथा व्याख्या गर्ने ठाउँ नै छैन । त्यसो गरियो भने संविधानको गम्भीर अपब्याख्या हुन्छ । संविधान सिध्याउन खोजेको अर्थ लाग्छ ।
राष्ट्रपति भण्डारीको अहिलेको कार्यकाल विवादास्पद रहेका कारण पनि उहाँ राष्ट्रपतिका लागि अयोग्य भैसकेको अधिवक्ता त्रिपाठीको दावी छ । 'उहाँको ट्रयाक रेकर्ड राम्रो छैन । कार्यकाल अत्यन्त विवादास्पद रह्यो',उहाँ भन्नुहुन्छ, 'प्रधानमन्त्रीको गैरसंवैधानिक प्रस्ताव दुईचोटी सदर गर्ने उहाँले त्यतिबेलै नैतिकताका आधारमा राजीनामा दिनुपर्थ्यो ।'
राष्ट्रपति भण्डारीको यो दोस्रो कार्यकाल हो । त्यसअघि उहाँ नयाँ संविधान जारी भएपछि २०७२ कात्तिक १२ मा पहिलो कार्यकाल राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । ०७४ को आम निर्वाचनसम्म करिब दुई वर्ष मात्र राष्ट्रपति हुनुभएकी उहाँ तत्कालीन वाम गठबन्धनको उम्मेदवार भएर दोस्रो कार्यकालका लागि चुनिनुभएको हो । त्यसअघि रामवरण यादव राष्ट्रपति हुनुहुन्थ्यो ।
मुलुकले अब चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदैछ । संविधानअनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । राष्ट्रपति भण्डारी २०७४ फागुनमा निर्वाचित भएकाले आउँदो फागुनसम्म उहाँको कार्यकाल बाँकी छ । सम्भवत: फागुनको दोस्रो साता नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनेछ । निर्वाचन आयोगले निर्वाचनको मिति तोक्ने तयारीसमेत गरिसकेको छ ।
यसवीच एकथरीले नेकपा पुनः ब्युँतेर माधव नेपाल राष्ट्रपति,प्रचण्ड प्रधानमन्त्री र केपी ओली पार्टी अध्यक्षका रुपमा सन्तुलन मिलाएर जान सकिने सम्भावनावारे पनि चर्चा चलाएको सुनिन्छ तर त्यो निकै जटिल कुरा हो । आफ्ना दुबै विरोधीलाई दुई शीर्ष पदमा राख्न केपी तयार हुने सम्भावनै नरहेको उहाँको स्वभाववारे जानकार श्रोत बताउँछ । त्यसो त राष्ट्रपतिकै आकाँ क्षी सुवास नेम्वाङलाई उहाँले वरिष्ठ उपाध्यक्ष नबनाए झैं सभामुखमै निरन्तरता दिन संकेत गर्नुभएको समेत च्यासल पार्टी कार्यालयमा गाइँगुई छ ।
टिप्पणीहरू