‘मसँग मन्त्री मागेको थियो, उपप्रधानमन्त्री पो पाएछ’

रवि र गगनमाथि आरजूको रौद्ररूप

‘मसँग मन्त्री मागेको थियो, उपप्रधानमन्त्री पो पाएछ’

‘हेर्नुस् न कांग्रेसको महामन्त्री रे, पार्टीको हातबाट प्रधानमन्त्रीसहित अरू सबै चिज फुत्किएको छ र पनि खुशी भएर खुच्चिङ गर्दै छ ।’ ११ गते सोमबार दिउँसो अढाई बजेतिर आफ्ना पतिसँग बिदा माग्न आएका उहाँकै क्याबिनेटका २ जना महिला मन्त्रीसामु देउवापत्नी आरजू राणा यसरी प्रकट हुनुभयो । भूमिसुधार र ऊर्जामन्त्री शशी श्रेष्ठ र पम्फा भुषालका सामु उहाँ भन्दै हुनुहुन्थ्यो – ‘गगनको हड्डीदेखि हाँसो खुलेको छ, सामाजिक सञ्जालमार्फत अनेकथरी लेखेर बहादुरी देखाउँदै छ ।’

सन्त नेता कृष्णप्रसाद भट्टराईपछि डा. बाबुराम र प्रचण्ड हुँदै शेरबहादुर देउवा त्यस्तो पूर्वप्रधानमन्त्री हुनुभएको छ, जो बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेपछि निजी घर हैन, डेरामा सर्दै हुनुहुन्छ । अर्को कार्यकालका लागि समेत प्रधानमन्त्रीका रुपमा बालुवाटारमै बस्ने सोचाइमाथि अकस्मात् ठेस लागेपछि उहाँले त्यो निवास त छोड्नुपर्ने नै भयो । सरकारी सुविधा छोडेपछि स्वाभाविक रुपमा बूढानीलकण्ठस्थित निजी निवासमा सोझै जाने कुरा हुन्थ्यो । तर, परिस्थिति त्यस्तो भएन ।

आरजूसँग बिहे गरेपछि बनाएको भयंकरको उक्त घर पुरानोमात्रै भएन, जगदेखि नै पुनर्निर्माण (रेट्रो फिटिङ) गर्नुपर्ने अवस्था छ । त्यसैले उहाँ बालुवाटार छोडेर बूढानीलकण्ठ नगई धुम्बाराहीतिर लाग्दै हुनुहुन्छ । त्यहाँ संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव डा. कुलचन्द्र गौतमको घर ६ महिनाका निम्ति भाडा सम्झौता गरेर देउवाले केही महिना बिताउनुहुने भएको हो । संयोग कस्तो छ भने, उक्त घरका मालिक कुलचन्द्र उहाँकै क्याबिनेटमा उर्जा मन्त्री रहेकी पम्फा भुसालकी ठूलीआमाका छोरा हुन् ।

उक्त घरमा ठूलो कम्पाउण्ड र प्रशस्त पार्किङ सुविधा छ । देउवा यति छिट्टै पद त्याग्नुपर्ला भन्ने एकरति मनमा नलागेकै कारण निजी निवासको अवस्था सुधार्नेतिर लाग्नुभएको थिएन । अहिलेको विकसित घटनाक्रमपछि अब बालुवाटार फर्कने सम्भावना नदेखिएरै उहाँ स्थायी रुपमा आफ्नै घर राम्ररी मर्मत गर्नतिर कस्सिनुभएको छ ।

सोमबार दिउँसो बालुवाटार छाड्नुअघि आफैँसँग बिदा हुन आएका केही कर्मचारी र पूर्वमन्त्रीलाई भेट्दा सरकार ढल्नु र पुनः प्रधानमन्त्री हुन नसक्नुप्रति उहाँमा कुनै पश्चात्ताप वा गल्तीको भाव देखिँदैन थियो । बरु, ‘रवि लामिछानेले आफूसँग मन्त्री चाहियो भन्दै थियो, उपप्रधानमन्त्री पो पाएछ’ भन्दै आश्चर्य प्रकट गर्नुभयो । पटक–पटक भनिरहनुभयो– ‘त्यो फटाहा हो ।’ 
 

टिप्पणीहरू