वर्षमानले यस्तरी लगाए कि बल
नेपालको राजनीतिमा ‘चीनको चक्मा’ ले दक्षिणी र पश्चिमा देशका ‘खेलाडी’ हरू चकित परेका छन् भने उत्तरी शुभेच्छालाई कुशलतापूर्वक ‘गोलपोष्ट’ मा छिराउने खेलाडीका रुपमा माओवादी नेता वर्षमान पुन (अनन्त) ले आफ्नो राजनीतिक उचाईलाई मजबुत बनाएका छन् ।
स्वास्थ्योपचारका क्रममा दोस्रोचोटि हङकङपारिको शहर सेञ्चन पुगेका वर्षमानलाई त्यहाँका चिकित्सकले अझै केही दिन आराम गर्न सुझाव दिएका थिए । ‘जान्छु’ भन्दा पनि अनुमति दिएकै हैनन् । तर, ‘जनार्दनहरूले प्रचण्डलाई लतार्छन्’ भन्दै उनी डाक्टरलाई मनाएर हत्तपत्त आए । खासमा चुनावअगाडि नै वर्षमानको प्रयास थियो, वामपन्थीहरूलाई मिलाएर जाने । स्थानीय तह निर्वाचनमा माओवादीका हकमा मत ट्रान्सफर नभएपछि फेरि पनि त्यही हविगत हुने आँकलन उनले गरेका थिए । तर, मंसिर ४ को चुनावअगाडि विभिन्न कारणले त्यो काम अगाडि बढाउन सम्भव भएन । तर, चुनावलगत्तै सुवास नेम्वाङ, विष्णु पौडेलहरूसँग कुराकानी थाले ।
संवाद सकारात्मक थियो । तर, सरकार बन्ने मुखसम्म पनि छलफलले ठोस आकार ग्रहण नगर्दा अझै हप्ता–दश दिन आराम गर्नुपर्ने वर्षमान विदेशको अस्पताल छाडेर आए । आएपछि एमाले नेताहरू पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, विष्णु रिमालहरूसँग कुराकानी गरे । प्रचण्डले भोलिपल्ट कुरा टुंग्याउनुअघि नै देउवालाई शनिवार गएर उनैले अझै पनि मान्नुभएन भने भोलिपल्टदेखि ‘यात्रा सकियो’ भनी खबरदारी गरेकै थिए ।
०७४ को स्थानीय निर्वाचनदेखि यसचोटि तीनै तहका निर्वाचनसम्मलाई हेर्दा कम्युनिष्टहरूले कांग्रेससँग गर्ने सहकार्य कृत्रिम भयो भन्ने निश्कर्षमा वर्षमान पहिल्यै पुगेका हुन् । किनभने, जनताले त्यस किसिमको गठबन्धनलाई स्वीकार नगरेको परिणामबाट देखिएको छ । तर, ०७४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमालेसँग सहकार्य हुँदाको परिणाम फलदायीमात्रै हैन, ऐतिहासिक रह्यो भन्ने उनको बुझाइ हो ।
यसरी उत्तरी शुभकामनाको सफलतासँगै ‘चीनमार्का’ को प्रतिनिधित्व वर्षमानले गरेका छन् । चीनले पहिला माओवादीतिर कृष्णबहादुर महरा, अग्नि सापकोटा, कांग्रेसमा सुजाता कोइरालाहरूमाथि राम्रै भरोसा गरे पनि त्यसबाट कुनै फल निस्किएन ।
राजदूतका रुपमा काठमाडौंमा होउ यान्छी बसुञ्जेल उनले देखिने र बुझिने गरी घरदैलो गर्थिन् र कतिपय खेलो दक्षिणी र पश्चिमाहरूले बिगारिदिन्थे । अहिले त्यही काम सट्याकसुटुक भएको छ । अर्कातिर, माओवादीभित्र पनि ‘शक्ति बस्नेत फ्याक्टर’ ले शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउनका लागि पश्चिमाको विश्वासमा रहनु जरुरी भनिरहेको अवस्था छ ।
टिप्पणीहरू