खेलाँची गर्दागर्दै देउवा कसरी खुस्किए ?

खेलाँची गर्दागर्दै देउवा कसरी खुस्किए ?

(शेरबहादुर देउवालाई शक्ति सन्तुलन मिलाउन, अरुको मन बुझाउन खप्पिस राजनीतिक खेलाडीका रुपमा कांग्रेसभित्र चर्चा गरिन्छ । तर, कसैको विश्वास गरेपछि आफू सिद्धिँदासम्म चाल नपाउने उहाँको स्वभाव अहिलेको सत्ता परिवर्तनका बेला झन् छर्लंग भएको छ । यसअघि ०६१ माघ १९ गते देउवाको यस्तै अन्धविश्वासका कारण राजा ज्ञानेन्द्रले बहुदलीय व्यवस्थामाथि ‘कू’ गर्न सकेका थिए । के थियो माघ १९ को पृष्ठभूमि र देउवा कसरी हुस्सु बन्नुभयो ? ०६२ मंसिर १३ गते प्रकाशित मेरो पुस्तक ‘माघ १९ को महाभारत’ बाट यो अंश– किशोर श्रेष्ठ)

०६१ माघ–१८ गते सोमबार बिहान क्याबिनेटमा खासै गम्भीर एजेण्डाहरू थिएनन् निर्णयका निम्ति । त्यसो त प्रधानमन्त्री देउवा पनि हतारमा हुनुहुन्थ्यो । शान्ति सेनाको डफ्फालाई विदाइ गर्न सिंहदरबारबाट सोझै पा“चखाल जाने कार्यक्रम थियो दिउँसो । त्यसैले देउवा घडी हेर्दै उठ्ने तरखरमा लाग्नुभयो । तर, ‘सधैं बैठकलाई महत्व नदिई हिँड्न पाइन्छ ? कि क्याबिनेट बेलुका राख्नोस् । राजा, युवराज जाने, सेनाको कार्यक्रम भन्नासाथ जुनसुकै बेला सबथोक छाडेर हिँड्ने ?’ भन्दै साबिक रुटिन झैं लाग्ने गरी झगडा शुरु भैहाल्यो ।

त्यही भनाभनको फाइदा उठाएर एमालेले बैठकमा अत्यन्त संवेदनशील एउटा प्रस्ताव घुसाइदियो । जसअनुसार, अघिल्लो वर्ष सिरहामा सेनाद्वारा भएको भनिएको चर्चित स्थानीय नेता हेमनारायण यादवको हत्याकाण्डसम्बन्धी छानबिन आयोग सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंहको अध्यक्षतामा गठन नगरी देउवा कांग्रेसले धरै पाइएन । देउवा विवाद टुङ्ग्याएर विमानस्थलतिर जान देउवा मिटिङ्गबाट उठ्दा एमालेका मन्त्रीहरूले ठट्टा गरे– ‘पोहोर लोकेन्द्रलाई पाँचखालबाट फर्केकै भोलिपल्ट हटाइएको थियो, तपाईंलाई चा“हि त्यस्तो नहोस् नि !’ देउवा हल्का हाँस्दै बाटो लाग्नुभयो ।

दिउँसो राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीलाई दरबारमा बोलाइयो । तर, राजा र लोहनीबीच कुनै सहमति भएजस्तो बुझिएन । बिहान क्याबिनेटमा गरिएको ठट्टाजस्तै साँझ त देउवालाई अकस्मात दरबार जानु परिहाल्यो । यसरी कहिलेकाँही ठट्टा पनि सत्यमा परिणत हुँदोरहेछ । 

१९ गते बिहान स्वास्थ्य मन्त्री अशोक राईले अघिल्लो दिन आफूले मन्त्रालयमा रेकर्ड गराएको आयोडिनयुक्त नून सेवन गरौं भन्ने सन्देश कस्तो आएछ भनी सुन्न रेडियो खोल्दा १० बजे शाही घोषणा हुने सूचना प्रशारण हुँदैथियो । ‘अब के गर्ने ?’ उहाँले तत्कालै कोटेश्वरमा फोन गर्नुभयो । महासचिव माधव नेपालसँग तुरुन्त स्थायी समितिको बैठक डाक्ने र आवश्यक कदम चाल्न बालुवाटारमा मन्त्रिमण्डलको आपत्कालीन बैठक बोलाउने निर्देशन प्राप्त भयो ।

उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई रेडियोको सूचनासम्बन्धी कुनै अत्तोपत्तो थिएन, त्यसैले उहाँले अशोकसँग सोध्नुभयो– ‘शाही संबोधन कि शाही घोषणा ?’ अशोकले भन्नुभयो– ‘शाही घोषणा ।’ थप पुष्टिको निम्ति बालुवाटारमा फोन गर्दा प्राप्त जवाफ भने उदेकलाग्दो थियो । उताबाट भनियो– ‘प्रधानमन्त्रीज्यू सुकला होइस्या छ ।’ त्यसपछि मन्त्रीहरू भटाभट बालुवाटारतिर दौडिन थाले । भर्खरै नित्यकर्म सकी आगन्तुक कक्षमा ओर्लिएका प्रधानमन्त्रीको मुखमुद्रा प्रसन्न थिएन । एकैछिनमा भारतीय र बेलायती राजदूतहरू आइपुगे । देउवा उनीहरूसँगै अर्काे कोठातिर लाग्नुभयो । हलमा चाँहि मन्त्रीहरू एकै ठाउ“ बसेर शाही घोषणा सुन्न थाले । लगत्तै मन्त्रिमण्डलका तर्फबाट तत्काल दिनुपर्ने प्रतिक्रियाको मस्यौदा भयो । उत्तिखेरै बीबीसीका प्रतिनिधि आइपुगे । उनैसँग प्रम र उपप्रमको प्रतिक्रिया रेकर्ड गराउने काम भयो ।

थप पुष्टिको निम्ति बालुवाटारमा फोन गर्दा प्राप्त जवाफ भने उदेकलाग्दो थियो । उताबाट भनियो– ‘प्रधानमन्त्रीज्यू सुकला होइस्या छ ।’ 

यसअघि देशैभरिका फोन लाइन काट्ने काम फत्ते भइसकेको थियो । त्यहीँबाट महिलामन्त्री अष्टलक्ष्मी शाक्यलाई सशस्त्र प्रहरीले आफ्नो प्रधान कार्यालय स्वयम्भू, हल्चोकतिर लानेगरी घिच्याउन थाले । तर, उहाँ जान मान्नुभएन । शाही घोषणा सुनेर तीन चीत खाएका मन्त्रीहरूलाई अब त्यहाँ बसिरहनु उचित लागेन । अघि–अघि स्थानीय विकास राज्यमन्त्री कृष्णगोपाल श्रेष्ठ, बीचमा अर्थमन्त्री भरतमोहनको कार, उपप्रमको सुरक्षार्थ खटिएको सशस्त्रको पछुवा जीप, पछिल्तिर अशोक राईको गाडी र सबभन्दा पछाडि सशस्त्रकै अर्काे गाडी, यसरी ताँती लागेर मन्त्रीहरू आफ्नो निवास पुल्चोकतिर दौडिन थाले ।

स्वास्थ्य मन्त्री अशोक राईले आफ्ना अङ्गरक्षक, सैनिक सुबेदारको वाकीटकी सेट सुन्दा आफ्नो पछिपछि आइरहेको सशस्त्रको गाडीबाट हाकिमहरूलाई को–को, कता–कता, कसरी गइरहेका छन् भन्ने कुराको रिपोर्टिङ्ग हुँदै थियो । त्यतिबेलासम्म मन्त्री क्वार्टरमा सुरक्षाकर्मीहरू छ्याप्छाप्ती भैसकेका थिए । त्यहाँ पुग्नासाथ काठमाण्डौका जनतामाझ भिजेका कृष्णगोपाललाई जुलुस निकाल्न नपाओस् भनी पक्राउ गरियो । अशोक बोरिया बिस्तरा कस्नतिर लाग्नुभयो । स्थानीय विकासमन्त्री युवराज ज्ञवालीकी पत्नी डेरा खोज्न दौडिइन् । हामीलाई कता लाने हो भनी सोध्न जाँदा एकजना प्रहरी निरीक्षकले विभिन्न ठाउँमा बुझेर अशोक र रघु पन्तलाई हजुरहरूका सम्बन्धमा केही आदेश छैन, घरै पाल्नुभए हुन्छ भनी बाटो खोलिदिए । 

१८ गते नै केही हुन्छ भन्ने हल्का आभाष रहेछ एमालेका केही मन्त्रीलाई । त्यसैले उनीहरू अघिल्लो साँझ देउवा सरकारमा आफ्ना टोली नेता भरतमोहनको पुल्चोकस्थित सरकारी निवासस्थानमा भेला भएका थिए । उक्त जमघटमा प्रजातान्त्रिक कांग्रेसको तर्फबाट शिक्षामन्त्री रहेका बिमलेन्द्र निधिलाई पनि सामेल गरियो । त्यहीँबाट प्रधानमन्त्रीकोमा फोन गयो । प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई आश्वस्त तुल्याउँदै भन्नुभयो– ‘आत्तिनु पर्दैन, अस्तिमात्र ३ जना राजदूतले राजालाई भेटेर सरकारलाई बर्खास्त गर्नु उचित नहोला भनी सम्झाएका छन् । विदेशीले चेतावनी दिएको दुई–तीन दिन पनि नबित्दै राजा कसरी तलमाथि गर्न अघि सर्लान् र !’ तर, भोलिपल्टै प्रमाणित भयो– राजाप्रतिको देउवाको त्यो विश्वास त फेरि पनि भ्रममात्र पो रहेछ !

मङ्गलबारको दिन राजाले शक्ति हातमा लिए र पर्सिपल्टै शक्ति र संहारकी प्रतीक गोरखकालीको दर्शन गर्न गए । त्यसअघि अघिल्लो मङ्गलबार उनी पाथिभरा माईकोमा गएका थिए । र, फेरि कोटीहोममा आएका विश्वहिन्दू महासंघका अध्यक्ष अशोक सिंघललाई दर्शनभेट दिएर आफ्नो कदमको सपोर्टमा वक्तव्य निकाल्न लगाए । व्यक्तिगत र धार्मिक तवरमा दक्षिणबाट राजाले पाएको समर्थन यतिमात्रै हो । कम्युनिष्टहरूको समेत सशक्त सहभागिता रहेको भारतीय केन्द्रीय सत्ताले प्रजातन्त्र मास्ने मनसुवालाई समर्थन गरेन । उत्तरतिरको छिमेकीलाई फकाउने क्रममा युवराज पारसले बचन दिएर फर्केको लगत्तै शाही ‘कू’ को तीन दिनअघि लाजिम्पाटस्थित दलाई लामाको सम्पर्क कार्यालय बन्द गराइयो । 

टिप्पणीहरू