काभ्रे कांग्रेसमा कारवाहीको कोर्रा

२०५१ सालमा नेकपा एमालेका उम्मेदवार केशव बडाललाई जिताउन भूमिका खेलेको आरोप लागेका तत्कालीन कांग्रेस जिल्ला सचिव शिवप्रसाद हुमागाईं गिरिजाप्रसाद कोइराला निकट थिए । मध्यावधि निर्वाचनमा पार्टी नेता विष्णु हुमागाईंंलाई टिकट दिइएपछि सचिव पदबाट राजीनामा दिएर असहयोग गरे । त्यति बेलाबाट शुरु भएको अन्तर्घाती खेलमा २०७९ सम्म आइपुग्दा हुमागाईंं आफैँले पीडा ब्यहोर्नुपरेको छ । 

कांग्रेसका पुराना एक नेताले भने– ‘अन्तर्घातको बिउ रोप्ने उनै शिवप्रसाद हुन् । अहिले अन्तर्घातका नाममा अरुमाथि कारबाहीको डण्डा प्रयोग गरिरहेका छन् ।’ २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराई हटाउन गरेको भाषण तथा कार्यक्रममा पनि काभ्रेबाट हुमागार्इंको समूह गएको थियो । पछि मधु आचार्यलाई सभापति भएका बखत कारवाही गरे र आफैं त्यो ठाउँमा पुगे । फेरि कारवाही गरेर उनी केन्द्रीय सदस्य भए । कमला थापालाई कारवाही गरेको केही वर्षमै उनी पनि सांसद बनिन् । विष्णुप्रसाद हुमागाईंंका बुबा कांग्रेस केन्द्रीय कार्यालयमा कर्मचारी भएको आधारमा विष्णुले टिकट ल्याएका थिए । 

    

नेपाली कांग्रेस काभ्रेमा फेरि एक पटक नेताहरूलाई खुइल्याउने क्रम शुरु भएको छ । पोस्टरमा रहेका तस्बिर अपमानजनक शैलीले छापेर भिडियोसमेत सार्वजनिक गर्ने अभियानमा नेता सक्रिय भएका छन् । तस्बिर छोपेको अघिल्लो दिन शनिबार कांग्रेसले तीन नेतालाई कारबाही, दुई नेतालाई स्पष्टिकरण र दुईलाई निश्कासनको निर्णय गरेको थियो । कारवाहीको सिफारिस भएकामा केन्द्रीय सदस्यद्वय मधु आचार्य र गणेश लामा, स्पष्टिकरण खानेमा बागमती प्रदेश महामन्त्री तथा प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे र बनेपा नगर सभापति महेश कर्माचार्य, निश्कासनमा पर्नेहरूमा नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेका साधुराम बडाल र धावा लामा छन् । मधु आचार्य जेलमा हुँदा आफँैलाई सभापति घोषणा गर्ने शिवप्रसादले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक फेरि पराजय भोगेका छन् । एमालेका गोकुलप्रसाद बाँस्कोटालाई सहयोग गरेको आरोपमा जिल्ला समितिले कारबाहीको सिफारिस र स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । आचार्यलाई हुमागाईंले २०५८ सालदेखि अपमानजनक व्यवहार गर्दै आएका छन् । 

हुमागाईंलाई माथिल्ला निकायमा जान असहज भएपछि असार १५ गते दही–चिउरा कार्यक्रममार्फत देखावटी मिलापत्र गरिएको थियो । त्यसपछि फेरि आचार्य सभापति बने । उनको समूहले मात्रै हालिमुहाली गरेको आरोप लागेपछि हुमागाईं समूह फेरि सक्रिय भयो । त्यसको असर वडा अधिवेशनदेखि स्थानीय तहको निर्वाचन र पछिल्लो प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा समेत देखा परेको छ । साधुराम बडाल एमालेमै फर्किसकेपछि निश्कासनको निर्णय गरिएको हो । कञ्चनचन्द्र बादे महामन्त्री छन् । महेश खरेल प्रतिनिधिसभा २ का सभापति र पाँचखाल नगरमा दोश्रो कार्यकालका लागि प्रमुख छन् । बडालसँगै गएका रामकृष्ण हुमागाईं कांग्रेसको कुनै कुनामा पनि अटाउन सकेका छैनन् । चोक्टा खान गएको झोलमा डुबेझँै भएका हुमागाईंको परिवार पनि एमालेमा फर्कने तयारीमा छ भनिन्छ । 

पटक–पटक कारबाही 

पार्टीबाट निकाल्न खोजिएका कांग्रेस केन्द्रीय सदस्य आचार्यमाथि २०७० सालको चुनावलगत्तै पनि कारबाहीको सिफारिस गरिएको थियो । २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा हुमागाईंं साविकको काभ्रे क्षेत्र नम्बर २ बाट उठेका थिए । एमाले उम्मेदवार रामहरि सुवेदीसँग पराजित भएपछि प्रतिशोध साँध्दै नेता मधु आचार्यसहित ५ जिल्लास्तरीय नेतामाथि कारबाही गरेका थिए । 
०७० मंसिर १७ गते बसेको जिल्ला समितिको बैठकबाट कारबाहीमा पर्नेमा पूर्वसभापति मधु आचार्य, पूर्व सहसभापति तीर्थ पसखल, पूर्व सभासद कमला थापा, महाधिवेशन प्रतिनिधि उद्धव कोइराला र शंकर मिजार थिए । उनीहरूलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको थियो । 

पोस्टरको पनि अपमान

अहिले कारबाहीको सिफारिसमा परेका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति तथा पाँचखाल नगरका प्रमुख महेश खरेलको जिल्ला कार्यालयमा राखिएको फ्ल्लेक्स ब्यानरको तस्बिरलाई अपमानजनक रूपमा छोपेर भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा जिल्ला कार्यालयका सहसचिवद्वय समिर ब्याञ्जु र रवीन्द्र सिग्देल देखिन्छन् । उनीहरूले नियोजित रूपमा नै सोही कार्य गरी साउण्डसमेत म्युट गराउँदै भिडियो सार्वजनिक गरेका हुन् । उक्त भवन महेश खरेल र मधु आचार्यले निर्माण गरेका थिए । शिव हुमागाईं समूहले भवन निर्माणका लागि असहयोग मात्रै गरेनन् क्रियाशील सदस्यहरूसँग उठाएको रकम पनि बुझाएको छैनन् । फेसबुकमा नेता मच्छिन्द्र लामाले लेखेका छन् – ‘समीर ब्यान्जुजी र रवीन्द्र सिग्देलजी, चौधौं अधिवेशनमा निर्वाचित तपाईं जिल्ला सहसचिवद्वयलाई आफ्नो पदीय हैसियतअनुरूप कार्य गरेको अनुभूति त भयो होला । जनताले आगामी दिनमा यस प्रकारको घृणित कर्मको मूल्यांकन गर्ने नै छन् । तपार्इंहरूको सीमा र परिधिभित्रको भित्ताको फोटोहरूमा कागज त टाँस्नुहोला तर जनताको मनमा रहेको फोटोमा त कृतघ्नहरूको केही लाग्दैन । जयनेपाल !’

माेतीराम तिमल्सिना
 

टिप्पणीहरू