माओवादी लडाकू कति बाँकी छन् सेनामा ?

माओवादी लडाकू कति बाँकी छन् सेनामा ?

देशमा फेरि प्रचण्डको ‘सत्ता’ आएको छ । उहाँका ‘सेना’ भने धमाधम घरतिर लाग्दैछन् । नेपाली सेनामा समायोजित १४ सय हाराहारी विभिन्न दर्जाका पूर्वजनमुक्ति सेनामध्ये कोही पेन्सन पकाएर त कोही जागिरको अवधि सिध्याएर अनि कोही विदेश मिशनबाट फर्कनासाथ राजीनामा दिएर घर जाने क्रम चलेको छ । सबभन्दा माथिल्लो दर्जामा समायोजित एकतारे जर्नेल यामबहादुर अधिकारी (प्रतिक्षा) जागिरको उत्तरार्धमा छन् । अहिले राजनीतिक अवसरको प्रतिक्षा गरिरहेका छन् । स्थानीय निर्वाचनअघि राजीनामा दिन ठिक्क परेका थिए ।

त्यसबेला धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्षमा उठ्ने चाहना थियो । तर, पाँच दलीय गठबन्धनभित्र उक्त गाउँपालिका नेपाली कांग्रेसको भागमा परेपछि माओवादीले त्यहाँबाट उर्मिला तामाङ गुरुङलाई उठायो, उनले हारिन् । कांग्रेसका मेघनाथ रिजालले ८ सय ५९ मतले माओवादीलाई हराए । प्रतिक्षा अहिले पूर्वी पृतनामा छन् । जागिर अवधी र स्टाफ कलेज नगरेका कारण उनले दुई तारे जर्नेल हुन भ्याउँदैनन् । तर, अब प्रधानमन्त्रीले चाहे भने विशेष या मानार्थ बढुवा दिएर घर पठाउन सक्छन् ।

प्रतीक्षापछि समायोजित पूर्वजनमुक्ति सेनाका अफिसरमध्ये धेरैजसो क्याप्टेन र मेजर दर्जामा छन् । पहिला वन, पर्यावरण, विकास निर्माणका नाममा समायोजित भए पनि अहिले इन्फेन्ट्रीतर्फ घुलमिल भइसकेका छन् । उनीहरूलाई विभिन्न पाँच वटा गुल्म बनाएर विभिन्न पोष्टमा थोरै थोरै गरी लगिएको थियो । त्यसमध्ये एकजना मिशनमा गए, अर्कोलाई पोष्टमा राख्ने नीति पनि बन्यो ।

समायोजनमा कर्णेल भएकाहरू प्रायः सबै घर गइसके । अहिले शान्ति सेना मिशनबाट १३ पूर्वमाओवादी फर्किने र तीन जना जाने तयारीमा छन् । जानेहरू क्याप्टेन थिए भने, बाटैमा मेजरसम्म पनि भएका छन् । ०६३ पछि प्रवेश भएको मानिँदा १४७ जना पूर्वलडाकू अझै नेपाली सेनामै छन् ।
 

टिप्पणीहरू