प्रचण्डलाई बालकोटमा यसरी राखियो प्रस्ताव

प्रचण्डलाई बालकोटमा यसरी राखियो प्रस्ताव

केपी ओली भन्दै हुनुहुन्थ्यो, ‘शेरबहादुरले भर्खरै मलाई फोन गर्नुभयो, मिलेर जाऔँ भन्दै हुनुहुन्छ । लौ, यहीबेला प्रचण्डजी आउनुभयो । अब उहाँलाई नै बनाएर जाने त होला नि † उहाँको कुरा पनि सुनौँ ।’

आइतबार दिउँसो राजनीतिक घटनाक्रमले नयाँ मोड लिने सन्दर्भमा बालकोटमा देखिएको दृश्य हो यो । ओलीले त्यति कुरा राखेपछि प्रचण्डले भन्नुभयो, ‘सकभर उतै (बालुवाटार) गठबन्धनबाटै प्रधानमन्त्री बनौँ भन्ने थियो । नभएपछि अब यतैबाट भए पनि जाऊँँ भन्ने भयो ।’ वरिपरि बसेका नेताहरु एक लयमा गलल हाँसे । त्यतिञ्जेलमा हलो, घण्टी, हर्नदेखि सबैखाले राजनीतिक दलका नेताहरु जुटिसकेका थिए । प्रचण्डलाई प्रधानमन्त्री बनाइयोस् भन्ने लिखतमा सही गर्न बाँकी रह्यो । अनि, जसपा नेता अशोक राई उठ्नुभयो र भन्नुभयो, ‘सही गर्ने भएपछि पार्टीको निर्णय त चाहियो । म निर्णय लिएर आउँछु ।’

अशोक पार्टी कार्यालय पुग्नासाथ जसपाले उपलब्ध नेताहरुको बैठक बोलायो । त्यसले सरकारमा सहभागी हुने निर्णय ग¥यो । तर, यो निर्णय भइसक्दा बालकोटमा जम्मा भएको टोली शीतलनिवास पुगिसकेको थियो । पछि उपेन्द्र यादव आफैँ शीतलनिवास जानुभयो र समर्थन गर्ने राजनीतिक दलको तल्तिर आफ्नो हस्ताक्षर गर्नुभयो । 

जसपा यसरी सरकारमा जान हतारिनुको कारण हो, पार्टी जोगाउनु । केही नेतालाई मन्त्री बनाएर, केहीलाई आगामी मन्त्री बनाउने आशा देखाएर नराखे पार्टी तितरबितर होला भन्ने खतराले उपेन्द्र यादवको मनमा घर गरेको छ । त्यसैले उहाँ एमालेसँग सबैखाले सहकार्य सकियो भनेको दुई हप्ता नबित्दै आफैँ शीतल निवास पुगेर हस्ताक्षर गर्ने अवस्थामा पुग्नुभयो । अशोक राईलाई अर्को आपत छ, मन्त्री नबनी नहुने, बन्दा पनि वरियता के हुने ? सरकारको वरियतामा अहिलेका मन्त्री त के प्रधानमन्त्रीभन्दा पनि सिनियर हो, अशोक राई । उहाँ ०५१ सालको मंसिर १४ गते निर्माण तथा यातायात राज्यमन्त्री हुँदा प्रचण्ड जनयुद्धको तयारीमै हुनुहुन्थ्यो, उपप्रधानमन्त्री भएकाहरु कोही पनि मन्त्री बनेकै थिएनन् । अहिलेको सरकारमा अशोक राईभन्दा निकै जुनियर तीनजना उपप्रधानमन्त्री छन् । 
 

टिप्पणीहरू