फेरि फुटाइनसक्छ माओवादीलाई
अबको राजनीति उति सजिलो छैन भन्ने कुरा संसद, सरकारको बनावट र सत्तारुढहरुका चालढाल हेरे पुग्छ । आफ्नो समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाइसकेपछि अब एमाले, अर्थात् केपी ओलीले शक्ति सञ्चय गर्ने नै हुनुभयो । सक्दा वा जान्दा प्रचण्डलाई पनि क्षतिपूर्ति गर्ने अवसर छ । तर, जनमत, उन्मुक्ति, राष्ट्रिय स्वतन्त्रजस्ता पार्टी लिएर सरकार बनाएका कारण सजिलो हुँदैन । प्रचण्डलाई ओलीले नत्थी लगाइरहने अवस्था हुन्छ । यस्तो हुँदा उहाँले प्रचण्डलाई पूरै ‘छोक्रा’ बनाइदिन सक्नेदेखि माओवादीभित्रै खेल्न सक्ने अवस्थाबारे समेत नेताहरु चर्चा गर्दैछन् ।
तत्काल सत्ताको रापतापमा त केही फरक नपर्ला तर प्रचण्डले अढाई वर्षपछि ओलीलाई चुनावी सरकारको चाबी बुझाउँदा थप ज्वालाकुमारीहरु एमालेतिरै रहने र भविष्य नदेखेर पार्टी विभाजनसम्मको अवस्था आउने खतरा देख्दैछन् हरिबोल गजुरेलहरु । चुनावले कतिसम्म तनाव दिनसक्छ र सत्ता कति स्वादिलो हुन्छ भन्ने कुराका ज्वलन्त नमूना हुन्– प्रभु साह, लेखराज भट्ट, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा आदि इत्यादि ।
उता, कांग्रेसको राजनीति रमाइलो छ । हिजो गठबन्धनको विरोध गर्ने गगन थापाहरु अहिले गठबन्धन टुट्दा पनि शेरबहादुर देउवाको राजीनामा मागिरहेका छन् । विमलेन्द्र निधी र ज्ञानेन्द्र कार्कीले माओवादी कुनै पनि हालतमा एमालेसँग नजाने भनेर आश्वस्त पारी देउवालाई हुस्सु बनाएकै छन् ।
प्रचण्डले केही दिनअघिसम्म ‘मेरो कारण गठबन्धन टुट्दैन, ओलीको प्रस्तावमा प्रधानमन्त्री खान्न’ भनेकोमा देउवा साँच्चै हो कि भन्नेमै हुनुहुन्थ्यो । जबकि, पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्कीहरु भएकै ठाउँमा गठबन्धनको पहिलो प्रधानमन्त्री प्रचण्डलाई भनिएको थियो । तर, देउवालाई अन्तिम–अन्तिममा विभिन्न ‘फ्याक्टर’ ले उकासिरह्यो, प्रधानमन्त्री नछाड्नका निम्ति । त्यसरी नै, जसरी ०७२ मा संविधान जारी गरेपछि पक्कापक्की भनिएको राष्ट्रपति छोडेर सुशील कोइराला प्रधानमन्त्रीको प्रतिस्पर्धामा उत्रिनुभयो ।
न प्रधानमन्त्री जित्नुभयो, न त राष्ट्रपति नै बन्नुभयो । यसरी नेपालको राजनीतिमा केही वर्षका लागि कांग्रेसको मात्रै हैन, भारत र पश्चिमाहरुको हातबाट पनि सबै कुरा गयो । प्रचण्डसँग चुनौति थियो, पश्चिमाहरुको घेराबन्दी जसरी पनि तोड्नु † त्यो त तोडियो । अब अर्को घेराबन्दी छ, केपी ओली र गगन थापाहरुको । त्यसलाई कसरी तोड्नुहोला ?
टिप्पणीहरू