बुद्ध बिहारमा पस्यो भाइरस
भगवान् बुद्धका उपदेश र उनका आदर्शहरूको प्रचार गरी सुखी मानिस र शान्त समाज स्थापना गर्ने उद्देश्यसहित सञ्चालित बौद्ध विहार प्रमुख वीरेन्द्रराज शाक्यमाथि अनेकौं भ्रष्टाचारको आरोप लागेको छ । राजधानी काठमाडौकै ढल्कोस्थित संघाराम बिहारका सञ्चालक सदस्य वीरेन्द्रले सोझा भिक्षुहरूको व्यक्तिगत खातामा रहेको रकमसमेत उनीहरूलाई थाहै नदिई निकालेर आफैंले हिनामिना गरेको बताइन्छ । भिक्षु अश्वघोष र भिक्षु आनन्दले स्थानीय समाजसेवी धर्मदासको नाममा पाको, नयाँसडकस्थित मिलन सहकारी संस्थामा मुद्दति खाता खोली ४ लाख ६० हजार रूपैयाँ राखेका थिए । भिक्षु आनन्द आफैं पनि दुई पटकसम्म राष्ट्रिय सभाको सदस्य भएका थिए भने अश्वघोष अन्तर्राष्ट्रिय रूपमा समेत बौद्ध दर्शन र ज्ञानका क्षेत्रमा परिचित नाम हो ।
अस्वस्थ भएका बेला वा अरु कतिपय सन्दर्भमा रकम आवश्यकता पर्नसक्ने ठानी दुई भिक्षुले निकै मेहनतका साथ संकलित रकम संयुक्त खाता खोली राखे । मुद्दतीमा राखिएको रकमको १ लाख त व्याज पनि जम्मा भइसकेको थियो । यसबीच वीरेन्द्रले बिहारको लेटरप्याड र छाप हात पारे । अर्कै भिक्षु अध्यक्ष र आफैं कोषाध्यक्ष बनेको निर्णय लेटरप्याडमा लेखी जिल्ला प्रशासन कार्यालयमा पत्र बुझाएको विवरण तयार पारे । लगत्तै सहकारीका नाममा ऐन बमोजिम आवश्यक कारवाही गर्नुहुन भनी सिडिओ कार्यालयको पत्र पनि तयार पारे । दुईथरी पत्र आफैं सहकारीमा गएर बुझाए ।
सहकारीका निर्देशकले भिक्षुहरूको नामको खाता वीरेन्द्रसहितका नाममा सारिदियो । खाताको मालिक बन्नासाथ वीरेन्द्रले ४ लाख ६० हजार साँवा र १ लाखभन्दा केही बढी व्याजसमेत निकाले । निश्चित समयका लागि मुद्धतीमा राखेको रकम राख्ने अवधि नवीकरण गर्न भिक्षुहरू निवेदनसहित सहकारी कार्यालयमा पुग्दा त बेग्लै रमिता । भिक्षुहरूले पैसा फिर्ता गराउन अनेक प्रयत्न गरे । तर केही लागेन । त्यतिबेलासम्ममा अश्वघोष र धर्मदासको देहावसान भइसकेको थियो । भिक्षु आनन्दले खाता रोक्का गरी रकम हिनामिना हुनबाट जोगाइ पाउन निवेदन दिए । तर हालसम्म पनि यससम्बन्धमा केही कारवाही भएको छैन । वीरेन्द्रले विहारका वृद्ध व्यक्ति सुवर्ण शाक्यलाई समेत मिलाएर रकम हिनामिना गरेको बताइन्छ ।
टिप्पणीहरू