ओली सबैभन्दा चतुर कि देउवा सदाबहार हुस्सु ?
एमाले अध्यक्ष केपी शर्मा ओली यसबेला चतुर खेलाडी भन्दै प्रशंसकहरूले सामाजिक सञ्जाल रंगाइरहेका छन् । तर, विश्लेषकहरू भने यो ओलीको चातुर्यता नभएर बाध्यता भएको बताउँछन् । अध्यक्ष ओलीले यतिखेर आएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुलाई चलाखी मान्ने हो भने प्रचण्डले नेकपाकालमै बैठक डाकौँ, बैठकबाट पारित एजेण्डा कार्यान्वयन गरौं भन्दा दुई दुई पटक संसद भंग गरेको, मध्यावधि निर्वाचनमा लान खोजेको र सत्ता छाड्न नमान्दानमान्दै बहिर्गमन हुनुपरेको घटनालाई के भन्ने जस्ता प्रश्न पनि सँगसँगै खडा भएको छ ।
सम्झौताअनुसार अढाई वर्षसम्म प्रचण्डलाई प्रधानमन्त्री नबनाएबापत पार्टीको काम जिम्मा लगाएको भए यतिखेरको प्रधानमन्त्री पनि ओली नै हुने थिए । एकीकृत कम्युनिष्ट पार्टी र वामपन्थी आन्दोलनका सफल नायकको रूपमा उनैको गणना हुन्थ्यो । नेपाली कांग्रेस २३ सिटबाट एक दर्जन सिटमा सीमित हुन सक्थ्यो । तर, यहाँनेर दम्भले काम ग¥यो । त्यसबेलै अध्यक्ष ओली उदार भइदिएका भए यो परिस्थिति आउने नै थिएन ।
सम्झौतालाई उधारो भन्दै नकारेको नतिजास्वरूप नेकपालाई परमादेशको भरमा, माग दाबी नभएको विषयमा फुटाउने काम भएको हो । तर, अहिले समयले कोल्टे फेरेको छ । त्यस्तै खाले हठ र दम्भको शिकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भएका छन् । अध्यक्ष ओली अन्तिम दाना चारो हालेर बसेका थिए, त्यसै चारोमा प्रचण्ड फसेका हुन् । यो उनको चातुर्यता र सक्षमताले पनि भएको होइन । सात पटक प्रधानमन्त्री हुने ज्योतिषीको भविष्यवाणीको भर पर्दा पनि सभापति देउवा तीन बल्ड्याङ खाना पुगेका हुन् ।
अध्यक्ष ओली र केही विश्लेषकले प्रचण्डलाई प्रधानमन्त्री बनाएर इण्डो–अमेरिकन रणनीतिलाई ध्वस्त पारेको दाबी गरिरहेका छन् । ढिलोचाँडो देश मध्यावधि निर्वाचनमा जाने खतरा छँदै छ । अनेक रुप रंगका समूहहरूलाई भेला गराएर १६९ को धार्नी पु¥याइएको छ । दुईटा उपियाँलाई त एक साथमा राख्न सकिँदैन भने अहिले त धेरै उपियाँहरूले सरकारमा उछलकुदल गरेको अवस्था छ । केही समयपछि ओली र प्रचण्डको दन्तबझान शुरु हुन्छ, त्यसमा मलाई यो भएन तँलाई त्यो भएन भन्ने गुनासो र एकअर्कालाई लडाउन थाल्नेछन् । सबैभन्दा पहिला जनता समाजवादी पार्टी (जसपा)लाई फुटाउन खोजिनेछ ।
राप्रपा ऐनमौकामा समर्थनको हिसाब माग्नेछ र रवि लामिछानेले प्रचण्ड–ओलीलाई बसिखान न उठि खान नसक्ने अवस्थामा पु¥याउन खोज्नेछन् । विश्लेषकहरूका अनुसार जसपाभित्र रहेका पहाडी मूल र मधेसी मूलका नेताबीच अब दरार पैदा गराउन कोसिस हुनेछ । पहाडीमूलका अशोककुमार राईलगायत एमाले अध्यक्ष ओली समर्थकका रूपमा देखिने सम्भावना छ । ती नेता माओवादी केन्द्रका रामबहादुर थापा मगर बादलजस्तै भूमिकामा प्रस्तुत हुन थाल्नेछन् । नेपाली कांग्रेसका नेताहरू भने सत्ता गुमाउनुको पीडा खप्दै एक अर्कालाई धारेहात लगाएर बस्नेछन् तर विभाजित हुने काम भने गर्दैनन् । सभापति देउवाले धान्नै नसक्ने गरी कांग्रेस जनको आरोप सामना गर्नुपर्नेछ ।
अहिले त घाउ तात्तात्तो छ, भोलिपर्सि भटाभट नियुक्ति हुँदै गएपछि कांग्रेसीलाई त मर्नुजत्तिक्कै गाह्रो हुनेछ । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको रिक्त पदमा हुने चुनावबाटै अब धोबी चुटाइ शुरु हुने पक्का छ । राजनीतिकर्मीमा धैर्यता भन्ने कुरा निकै कम देखिँदै गरेको बेला हो यो । माधवकुमार नेपालले पार्टी फुटाउँछन् भन्ने कुरा केपी ओलीले नचिताएझैँ देउवाले पनि प्रचण्ड गठबन्धन तोडेर ओलीको कित्तामा पुग्छन् भन्ने चिताएका थिएनन् ।
टिप्पणीहरू