यी गम्भीर प्रश्नको जवाफ चाहियो कमरेड
अन्ततः माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक एमालेको अगुवाइ, ७ दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा धारा ७६ (२) अन्तर्गत राष्ट्रपतिले दिएको ७ दिने म्यादभित्रै अर्थात् पुस १० गते ५ बजेदेखि प्रधानमन्त्री बन्नुभएको छ । यसरी माओवादीले कांग्रेस–एकीकृत समाजवादी र लोसपाहरूसँगको अलायन्स तोडेर पुनः ‘छला¨’ हानेको छ ।
२०७९ साल वैशाख ३० गतेको स्थानीय निर्वाचन र गत मंसिरको प्रदेश–संघ निर्वाचनमा पुरानो गठबन्धनले साझा उम्मेवार चयनलगायत भोट ट्रान्सफरका झन्झट व्यहोरे पनि विपक्षी एमाले–राप्रपा–परिवार दल–जनता प्रगतिशील आदिको अलायन्सभन्दा उल्लेखनीय सफलता प्राप्त गरेको थियो । सत्तागठबन्धन भत्कनुको सबै दोष माओवादीले कांग्रेसमाथि थोपरेको छ भने कांग्रेसभित्र महत्वाकांक्षा र पदको रडाको मच्चिएर एकले अर्कामाथि दोष लगाएको पाइन्छ ।
कांग्रेसभित्र १४ औं महाधिवेशनकै तुष राखेर डा. शेखर कोइराला–गगन थापा समूहले सभापति शेरबहादुर देउवालाई गुटबन्दी हटाउने र भागबण्डा नगर्ने उद्घोषविपरीत स्वयं त्यस्तो क्रियाकलापमार्फत एक प्रकार पाइला–पाइलामा सकेजति असहयोग पु¥याएकै कारण कांग्रेसले गत निर्वाचनमा गठबन्धनको धर्म माओवादीसँग राम्ररी निर्वाह गर्न सकेन र हाल पनि माओवादीले सत्ताबाट बाहिरिनुप¥यो । निर्वाचन अघिदेखि नै उक्त समूहको अघोषित तालमेल एमाले र ओली तथा बिनाकुनै पार्टी नीति र सिद्धान्त सामाजिक सञ्जालको भरमा ‘उदाएका’ रास्वपाहरूसँग थियो जसको एउटै उद्देश्य हो, कुनै पनि हालतमा देउवालाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्ने, त्यसको लागि चाहे जे–जस्तो अपवित्र तालमेल कसैसँग किन गर्नु नपरोस् !
नत्र कांग्रेस–माओवादी–एकीकृत समाजवादीको मत रास्वपाले काटेर कसरी ठूलो बन्यो अनि सबैलाई हराउन उम्मेदवार उठाउने रास्वपाले गगन थापाहरूको क्षेत्रमात्र किन खाली राख्यो ? कांग्रेसभित्र अन्य दललाई राष्ट्रपति दिएर आलोपालो प्रधानमन्त्री लिई सत्तागठबन्धन जोगाउन दबाब र सुझाव दिनेहरू थुप्रै थिए तर संसदीय दलको नेतामा विधानतः हारेर रन्थनिएका महामन्त्री गगन थापाले कांग्रेसले नै राष्ट्रपतिसहित पूरै ५ वर्ष वा पहिलो साढे दुई वर्ष प्रधानमन्त्री राख्नुपर्नेजस्ता धम्की दिनहुँ दिन थाले । सभापति महामन्त्रीभन्दा माथि हुन्छ । भोलि डा. शेखर–गगनहरू नै सभापति बने भने पनि यही तालले कसरी पार्टी हाँक्लान् ?
यहाँ सिद्धान्त कुनै पनि पार्टी वा अलायन्समा देखिएन, कांग्रेसभित्र पुस्तान्तरणको मादल ठोक्ने गगन थापाहरूले १५औँ महाधिवेशनमा निःशर्त उनै डा. शेखर कोइरालालाई सघाउने नाउँमा हाल संसदीय दलको ‘सर्वसम्मत’ उम्मेदवार बन्दा कहाँनेर पुस्तान्तरण हुन्छ ? कांग्रेसलाई २०६४ सालमा राष्ट्रपति नदिएको र ०७४ सालको संघीय निर्वाचनताका माओवादीबाट धोखा पाएर पनि कांग्रेसले सहेकै हो । तर, यहाँ त एमालेले राप्रपा र परिवार दलसँग अप्राकृतिक गठबन्धन बनाएर आफू प्रतिपक्षमा बस्ने जनमत पाउँदाखेरि पनि संवैधानिक पद पाउनुलाई माओवादीमा महत्वाकांक्षा बढाइदियो । त्यो पनि पहिलो कार्यकाल मात्र प्रधानमन्त्री बन्न दिने नाममा । अनैतिकताको पराकाष्ठा त रास्वपा र राप्रपाहरूमा पनि छ, जो प्रचण्डहरूलाई हराउन चुनावमा उत्रे, आज सबै एकै ठाउँमा सत्ताभोग गर्न मिलेरै कस्सिएका छन्, डा. सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराए, आज सँगै छन्, एमालेबाट बागी उठेका प्रभु साहहरू आज फेरि ओलीको अभियानमा मिसिन पुगेका छन् ।
जनताले जान्न चाहेका छन्– केपी ओलीले तत्कालीन नेकपाको झण्डै दुई तिहाइ मत प्राप्त संसदलाई २–२ चोटी बिघटन गरेर प्रतिपक्षमा बस्ने म्याण्डेट दिएकोमा त्यो कुरा आज एक थान कुर्सीको निम्ति किन भुलेको ? रामबहादुर थापा ‘बादल’, प्रभु साह, लेखराज भट्ट, टोपबहादुर रायमाझीहरूलाई खोसेर यस्तै चिसो महिना डेढ वर्षअघि बबरमहलको सडकमा ‘हामी यहाँ छौं !’ को प्लेकार्डसहित भुइँमा बस्न बाध्य बनाएको, एमालेसँग माओवादीको ‘अग्रगामी’ एजेण्डा कतिञ्जेल सन्तुलित रहला ? आउने निर्वाचनमा माओवादीले के भनेर भोट माग्ला ? के माओवादीले जनतालाई हामी अब चुनावपछि एमालेसँग मिलेर जानेछौँ भनेको थियो ?
त्यस्तै, जनमत, नागरिक उन्मुक्ति, रास्वपा वा राप्रपाहरूले राजसंस्था र अग्रगमनका अजेण्डामाझ विपरीत ध्रुवमा मिल्छौं भनेका थिए ? देउवा सरकारको अध्यादेशलाई रोकाएको एमालेले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीहरूलाई माफी दिन अब के गर्ला वा २–२ चोटि संसदबाट रीतपूर्वक पारित नागरिकता विधेयक रोकेर राष्ट्रपतिले संविधानमाथि धावा बोलेकोमा मधेशका जनताको हिमायती हौं भन्ने जनमत, जसपा तथा स्वयं माओवादीले के गर्लान् ? जुन देशमा शैक्षिक र वित्तीय अराजकता मच्चिएको छ, उसलाई पाकिस्तान, इरान र उत्तरकोरियाजस्तो कालोसूचीमा पर्नबाट कसले रोक्ला ?
(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, ललितपुर)
टिप्पणीहरू