बैतडीमा माओवादी संगठन ध्वस्त

बैतडीमा माओवादी संगठन ध्वस्त

नेतृत्व तहमा रहेको एकै जना मात्रै खराब व्यक्तिले पनि सिंगो पार्टी संगठन कसरी ध्वस्त बनाउनेरहेछ भन्ने ज्वलन्त उदाहरण बनेको छ, माओवादी केन्द्रको बैतडी जिल्ला कमिटी । जिल्ला इञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य नरेन्द्र कुँवर विजयसुन्दर निरन्तर अलोकप्रिय र आलोचित भइरहे पनि केन्द्रले काखी च्यापिरहँदा संगठन भने क्रमशः ध्वस्त बन्दै गएको छ । ‘पार्टीका लागि संगठन महत्वको कुरा हो कि व्यक्ति, अब नेतृत्वसँग यसको हिसाब माग्नुपर्ने भएको छ’, जिल्ला कमिटीका एक सदस्यले भने ‘यदि व्यक्ति नै महत्वको हो भने नेतृत्वले सोहीअनुसार कुरा गर्नुप¥यो । होइन भने संगठन बचाउने उपाय लगाउनुप¥यो ।’ 

गत वैशाखमा सम्पन्न स्थानीय चुनाव होस् अथवा भर्खरै सम्पन्न आमनिर्वाचन, दुवैमा माओवादी ज्यादै कमजोर देखिएको छ । प्रतिनिधिसभामा कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्दको जोडदार दाबी थियो । तर, ५ दलीय गठबन्धनको तर्फबाट माओवादीका नरेन्द्र कुँवर ‘विजय सुन्दर’ले टिकट पाए । आफूले टिकट नपाए पनि गठबन्धनका उम्मेदवार कुँवरलाई जिताउन कांग्रेस सभापति चन्द र कांग्रेसको सिंगो टिम खटियो । 

यति हुँदाहुँदै पनि कुँवरले जित्न सकेनन् । पाँचदलीय गठबन्धन हुँदासमेत जित्न नसकेपछि अहिले हारको कारण खोजी भइरहेको छ । जनयुद्धमा लामो समय खटिएर अहिले पनि सक्रिय बैतडीका एक नेताले भने ‘यस्तो व्यक्तिलाई टिकट दिनु नै पहिलो गल्ती भयो ।’ ती नेताका अनुसार कुँवर माओवादी युद्धको रापताप बढ्दै गएपछि राप्रपाबाट प्रवेश गरेका व्यक्ति हुन् । उनको सामन्ती चरित्रबाट जनयुद्ध लडेर आएको ठूलो पंक्ति कहिल्यै सकारात्मक छैन । 

त्यसबाहेक युद्धताका सुर्नयाको रौलेश्वर मन्दिरबाट ५५ तोला सुन पार्टी निर्णयविपरीत कब्जा गरेर गायब बनाएको घटनाका पनि मुख्य दोषी हुन् । पार्टीमा अहिलेसम्म पनि त्यो सुनबारे कुरा उठ्ने गरेको छ । उनले नै मेलौलीको मन्दिरबाट कब्जा गरेको सुन भने युद्धको समयमै पार्टीभित्र व्यापक विरोध भएपछि कागज नै गरेर फिर्ता दिइएको थियो । कुँवर जनयुद्धकै बेलादेखि अराजक गतिविधिका कारण विवादमा आएको बताइन्छ । साँस्कृतिक क्रान्तिको नाममा उनले जबर्जस्ती महिलाको कपाल काट्न लगाएको र नाकमा लगाएको सुनको बुलाकी लुटिएपछि त्यतिबेला नै आत्मालोचना गर्न लगाएको थियो । 

पहिलो संविधानसभामा सभासद् हुँदा २०६७ सालमा जिल्ला कमिटी बैठकमा कार्यकर्तामाथि छुरी प्रहार गरेका कारण निकै आलोचित बनेका थिए । कमिटी र लाभको पदमा भतिज, भिनाजु र भाञ्जालाई मात्र स्थान दिएर पनि आलोचनाको केन्द्रमा परेका उनको कार्यशैलीकै कारण धेरै माओवादी कार्यकर्ताले पार्टी छाडेका छन् । माओवादीबाट तत्कालीन पुर्चौडीको उपमेयर जानकी बम र अर्का नेता रमिल बम अनि तत्कालीन पार्टी सचिव दीपेन्द्र कुँवर ‘यथार्थ’ एमालेमा प्रवेश गरिसकेका छन् । ‘उहाँहरू कुँवरको अन्याय सहन नसकेरै पार्टी छाड्न बाध्य हुनुभएको हो’, माओवादी जिल्ला कमिटीका एक सदस्यले भने ‘यति सबै हुँदा पनि पार्टीको उपल्ल्लो तहले उनैलाई मात्रै अवसर दिने काम गरिरहेको छ । यही कारण जिल्लामा संगठन ध्वस्त बन्दै गएको हो ।’  

कतिसम्म भने २०७४ को स्थानीय निर्वाचनमा पुर्चौडी नगरपालिकाबाट भिनाजु रणबहादुर कुँवर दिपेन्द्रलाई मेयरको टिकट दिए भने गएको स्थानीय चुनावमा भाञ्जा बिक्रम कुँवर प्रतिकलाई उठाए तर उनी चुनाव हारे । स्थानीय चुनावको बेला नेपाली कांग्रेसका कार्यकर्तालाई आफै गएर सांघातिक हमला गरी घाइते बनाएका उनलाई कांग्रेस कार्यकर्ता भोट दिन तयार थिएनन् । 

यतिमात्रै होइन, चुनावमा खस्या एक हौं भनेर जातीय तथा क्षेत्रीय नारा उठाए तर पनि आफ्नै जाति र पुर्चौडी क्षेत्रका जनताले खराब आचरणकै कारण मत दिएनन् । आफ्नै गृहपालिकाबाट नै उनलाई निकै कम मत आयो र एमालेका दामोदर भण्डारीसँग १३ सयभन्दा बढी भोटले हारे । 
 

टिप्पणीहरू