प्रचण्डसामु दुःखका पहाड

प्रचण्डसामु दुःखका पहाड

समसामयिक राजनीतिक परिस्थितिलाई दुईवटा कोणबाट हेरिँदैछ । कि, ‘कोलिसन बंक’, कि एमालेको ‘क्याप्चर’ ! आउने २६ गतेसम्म, अर्थात् प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिने दिनसम्म एमालेका कुरालाई ‘हो’ मा ‘हो’ मिलाएर जाने कि भएभरका मागलाई जस्ताको तस्तै मान्दा आफैँमाथि हुनसक्ने प्रहार सहेर अगाडि बढ्ने ? प्रचण्डसँग यी दुई बाटो छन्, रोज्ने सुविधा स्वयं उहाँसँगै छ । बुझ्न गाह्रो छैन, विश्वासको मत लिएपछि राष्ट्रपति र सभामुख लिने एमालेको चाहनाअनुसार त्यसपछि आमनेसामने हुने त प्रचण्डसँगै हो । उहाँलाई असफल बनाउने र ओली प्रधानमन्त्री बन्ने खेल लगत्तै शुरु हुनसक्छ । यस्तो स्थितिमा प्रचण्डसँग ‘कोलिसन बंक’ को बाटोमात्रै बाँकी रहन्छ र एमालेबाट कांग्रेसतर्फ ‘पावर शेयरिङ’ मा नजाला भन्न सकिन्न । किनकि नेपाल रात रहे अग्राख पलाउने र दिउँसै भूत जाग्ने देश हो ।

मानौँ, यदि त्यस्तो भएन र भनेअनुसार नै प्रचण्डहरूसँगको सम्बन्ध एमालेले राम्रो बनाउने हो भने पनि अप्ठेरो छ । प्रचण्डलाई नैतिक समस्या छ– जसपा र एकीकृत समाजवादीलाई साथ लिएर हिँड्नुपर्ने । एमालेचाहिँ ती दुवै पार्टीबाट निश्चित–निश्चित मानिसलाई मात्र लैजान चाहन्छ । जसरी ०७५ को पार्टी एकताको पूर्वकालमा ओली–प्रचण्डको दौँतरीमा माधव, झलनाथ र वामदेवहरू टाढिनुभयो, त्यसरी नै न प्रचण्डले, न ओलीले उहाँहरूलाई भाऊ दिनुभयो– कतै फेरि त्यस्तै त हुँदैछैन ? अर्थात्, मिल्दासम्म प्रचण्डसँग मिल्ने र आफ्नो अभिष्ट पूरा गर्ने ठाउँमा पुगेपछि उहाँलाई वास्ता नगर्ने शैली फेरि पनि हावी नहोला भन्न सकिन्न । त्यो स्थितिमा प्रचण्डलाई चाहिने भनेका तिनै माधव, झलनाथ, उपेन्द्र यादवहरू नै हुन् । त्यसैले पुरानो घटनालाई शिक्षाका रूपमा लिँदा नयाँ खतराहरूलाई समयमै व्यवस्थापन गर्ने कि नगर्ने ? यो कुरा प्रचण्डका निम्ति सबभन्दा ठूलो ‘दुःख’ का रूपमा रहेको छ ।

एकथरि एमाले नेताले भन्ने गरेका छन्, ‘सानातिना, अर्थात् दश–बाह्र सीटेहरूलाई बोकेर हिँड्नुभन्दा एमाले र माओवादीमात्रै मिल्दा मूलधार भइहाल्छ, त्यसैले कतिपय कुरा तलमाथि भए पनि सम्बन्ध टिकाउनुपर्छ ।’ भनिन्छ, अब प्रचण्डको खासै ठूलो महŒवाकांक्षा छैन । प्रधानमन्त्री बन्ने यो अन्तिम इच्छा थियो, जो एमालेले पूरा गरिदिएको छ । अब कमजोर शक्तिलाई धेरै पद बाँडेर जान सकिँदैन भन्ने उहाँले पनि भित्रभित्रै महसूस गर्नुभएको छ । त्यसैले माओवादीसँग पार्टी नमिलाउने, कार्यगत एकता गरेर सँगसँगै जाने लाइन एमालेको देखिन्छ । साढे दुई वर्षमा प्रचण्डले छोड्ने र ओलीले प्रधानमन्त्री भई आफ्नै नेतृत्वमा निर्वाचन गराउने काम भयो भने संसदमा दुई तिहाईसम्म पु¥याउन सकिने कतिपयको बुझाइ छ । अर्को चुनावसम्ममा समाजवादी र जसपाहरूको शक्ति कमजोर हुन्छ । गठबन्धनसँग कांग्रेस पनि फ्रस्टेटेड छ । त्यसैले फेरि पनि उसले आजका ‘दश–बाह्र सीटेहरूलाई’ बोकेर हिँड्दैन । फलतः देश दुई ध्रुवीय राजनीति (कांग्रेस–एमाले) मा जाने पक्का छ ।
 

टिप्पणीहरू