पाण्डेको बोलीले हृदय छुँदा पुडासैनीको बोली फासफुस

पाण्डेको बोलीले हृदय छुँदा पुडासैनीको बोली फासफुस

मर्ने मान्छेले कहिल्यै झुटो बोल्दैन भन्ने मान्यता नेपाली समाजमा व्याप्त छ । तर चितवनमा पत्रकार शालिकराम पुडासैनीको मर्नुअघिको रोदनलाई भीडले त कुल्च्यो कुल्च्यो, त्यसमाथि न्यायाधीशले समेत झुटो ठहर गरे । फलतः रवि लामिछाने आत्महत्याको दुरुत्साहनबाट उम्केर कानुन परिपालना गराउने गृहमन्त्रीको पदमा त्यसै चितवनबाटै निर्वाचित भएर आसीन हुन पुगेका छन् ।

चितवनमा गएर पुडासैनीले मेरो आत्महत्याको कारण रवि लामिछाने भनेर बारम्बार दाबी गरेका थिए । यसले न्यायाधीशको विवेक र संवेदना पनि कहिलेकाहीँ भीडजस्तै हराएर जान्छ भन्ने देखिएको छ । यस्तो किन हुन्छ ? खोजी गर्दा न्यायाधीशहरू पनि भीडबाट प्रभावित हुन्छन् वा डराउँछन् भन्ने देखिएको एक विश्लेषकले दाबी गरेका छन् । जस्तै पल साहको मुद्दामा पनि न्यायाधीशहरू प्रभावित देखिएको दाबी गरिएको छ । नाबालिगको सचेत स्वीकृति भए पनि ऊसँगको लसपसलाई अपराध मान्ने कानुन नेपालमा छ ।

तर, सेलिब्रिटी हिरो भन्दै पल शाहको पक्षमा भीड उर्लिएको उर्लिएकै छ । ठीक छ, पल शाह हिरो हुन्, उनले सबैको मन जितेका छन्, शारीरिक सम्पर्क राखेनन् होला तर हिरो हुँदैमा कानुनभन्दा माथि छन् भन्ने मान्यता त राख्न हुँदैन । तर, भीडले कानुनमा के छ भन्ने कुरा बुझ्ने झन्झट कहिल्यै गर्दैन । यस्तै मुद्दा सन्दीप लामिछानेको पनि देखिन्छ । लतारेर लगेको पनि हैन, रोइकराइ, हारगुहार केही छैन, दुवै जना सल्लाहले नै होटलमा बसेका छन् ।

तर, नाबालिग भएका कारण लामिछाने अप्ठ्यारोमा परे । यस मुद्दामा पनि भीडले नै निर्णय दिन सक्ने, न्यायाधीशहरूको कमलो मुटुलाई प्रभावित गर्न सक्ने सम्भावना ज्यूँकात्यूँ रहन सक्छ । किनभने भीडको अघि कानुनका कतिपय प्रावधान लुक्ने गरेका छन् । यी दुवै सेलिब्रिटीलाई बलात्कारीको आरोपमा नभईकन नाबालिगसँग सरसम्पर्क राखेको आधारमा मुद्दा चलाइएको छ । तर, किन बलात्कारी भनेर थुन्यो भन्ने भीडले नै सामाजिक सञ्जालहरू भरिएको छ । संसारभरिकै मान्छेले मर्ने बेलामा झुटो बोल्दैन भन्ने मान्यता झन् प्रखर भएको छ जब निराकार पाण्डेले गत हप्ता कम्बोडियाको होटलबाट मर्नुअघि परिवारका सदस्यसँग बातचित गरे ।

पाण्डे मर्दा खेरी मुलुक हल्लियो तर पुडासैनीको त्यस्तै हृदयविदारक दृश्य हेर्दा पनि मान्छेको मुटु किन हल्लिएन ? पाण्डेका बातचितले सबैको मन छोयो तर पुडासैनीको बोलीले किन मान्छेको मन मस्तिष्क हल्लिएन ? किन न्यायाधीश पनि भीडसँगै प्रभावित भए ? किन कसैले हो कि क्या हो भनेर सोचेनन् ? अपराधशास्त्रका अनुसार कसैले एउटा अपराध लुकाउन सयौं अपराधको श्रृंखला घटाउन सक्छ, एउटा सबुत लुकाउन पटक पटक प्रयास गर्छ । त्यस्तै प्रयासका रूपमा गृहमन्त्रीको बार्गेनिङ पनि त हुन सक्छ । देश विकास गर्छु भन्नेले विकाससँग सम्बन्धित मन्त्रालयहरूको नेतृत्व लिन तयार हुनुपथ्र्यो ।

तर, उनले गृह मन्त्रालय लिन पुगे । यसले पनि मिसन अन्यत्रै मोडिएको अड्कल लगाइएको हो । उनले शहरी विकास, स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक विकासजस्ता मन्त्रालयमा किन रुचि देखाएनन् ? यसबारे भीडले त सोचेन, सोचेन प्रवुद्ध भनिनेहरूले सोच्ने बेला भएको हो कि ?

–कौशल चेमजोङबाट

टिप्पणीहरू