आरजू र मञ्जुले ज–जसलाई अड्याए
के प्रहरी, के सशस्त्र– उठ्तीपुठ्तीमा कोहीभन्दा कोही कम नहुँदा दुबैथरि कारवाहीका निम्ति धमाधम तानिँदैछन् । कसैलाई सुरक्षाकर्मी फिर्ता लगेको पिरलो छ, गृहमन्त्रीचाहिँ कहिले सिडिओ त कहिले डिआइजीहरू भेला पार्नमै व्यस्त छन् ।
सशस्त्र आइजी राजु अर्यालले प्रदेश १, मधेस, लुम्बिनी र सुदूरपश्चिमबाट डिआइजीहरूलाई कार्यसम्पादनको विवरण लिएर हाजिर हुन बोलाएका छन् । सीमा समस्या रहेका ती प्रदेशको राजस्व चुहावटका मामिलामा केही न केही फरक निर्देशन दिने उद्देश्यले बोलाइएको अनुमान गरिएको छ । ती डिआइजीहरू काठमाडौंमा हाजिर भइसकेका छन् ।
अर्कातिर, पश्चिम नवलपरासीबाट नेपाल प्रहरी र सशस्त्र गरी दुबैतिरका एसपीहरू आर्थिक मामिलामा विवादमा आएपछि तानिएका छन् । सशस्त्रको २६ नं. गण बर्दघाटका एसपी रूपकुमार क्षेत्री र जिल्ला प्रहरी, पश्चिम परासीका एसपी ऋषिराम कँडेल यसरी तानिएका हुन् । त्यसबाहेक सशस्त्रकै १२ नं. गण, बाराका राजेन्द्र थापा र १३ नं. गण, वीरगञ्जका तेजप्रसाद पोखरेल हेडक्वार्टर तानिएको एक महिना कटिसक्यो । उनीहरूमाथि अनियमितताको अभियोग छ । सीमामा बसेर देशको हैन, तस्कर र कालाबजारीको सेवा गरेको भनी हल्चोकदेखि अख्तियारसम्म उजुरी परेको छ । जुजु दरबार (आरजु र मञ्जु) यतिबेला पनि पावरमा हुन्थे भने तिनीहरूको फिर्ती रमाना भइसक्ने थियो । बुटवलका डिएसपी ठगबहादुर केसी पनि रंगेहात समातिने थिएनन् ।
प्रहरीका एसपी कँडेलले पश्चिम नवलपरासीस्थित नाकाबाट छोडेका तस्करीका सामान पूर्वी नवलपरासीको टोलीले पटक–पटक समातेपछि हेडक्वार्टरले छानवीन गर्दा कैफियत देखिएपछि जीवन श्रेष्ठ नेतृत्वको उजुरी छानबिन महाशाखाद्वारा उनी तानिएका हुन् ।
देउवा सरकारको पालामा यसरी तानिने हाकिमहरू ‘जु–जु दरबार’ देखि भानु देउवासम्मका कृपाले सर्लक्कै उही ठाउँमा फर्किने गरेका थिए । तर, नयाँ गृहमन्त्रीका ‘बिचौलियाको पहिचान’ नहुँदा भन्न कहाँ जाने ? कसरी भन्ने ? भन्दै उनीहरू हल्चोकमै थन्किएका छन् । बजारमा गृहमन्त्रीका केही ‘बिचौलिया’ त सल्बलाइरहेका छन्, तर ती सक्कली हुन् कि नक्कली भन्ने कुरा पत्ता नलाग्दा तानिएका हाकिमहरू रनभूलमा परेको बताइन्छ ।
अर्कातिर, निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको जबरजस्तीले इन्स्पेक्टर दरबन्दी रहेको बुटवलस्थित फरवार्ड बेसमा राखिएका डिएसपी सुरज पाण्डे त तानिए । उनको सट्टामा इन्स्पेक्टर नै खटिएका छन् । तर, उनी पनि सही बाटोबाट पठाइएनन् । अर्थमन्त्री विष्णु पौडेलको च्यानल लगाएर २८ नं. गणमा दरबन्दी भएका इन्स्पेक्टर दीपेन्द्र पौडेल गए । भर्खरै रूपन्देहीको बोगडी बिओपीमा बसेका र कपिलवस्तु गणमा दरबन्दी कायम भएका उनले लगत्तै ठाडो आदेशबाट फरवार्ड बेस पाएका हुन् । जबकि बिओपीमा जानका लागि ज्येष्ठताका आधारमा, हेडक्वार्टरले स्वीकृति दिएर बल्ल इन्स्पेक्टरहरूलाई पठाइने हो । यी सबै च्यानल फेरि पनि लत्याइएको भनी सशस्त्रमा असन्तुष्टि देखिन्छ ।
अर्कातिर, निर्मला पन्त काण्डको छानवीनका लागि डिआइजी दुर्गा सिंहको टोली खटाइएको छ । एसपी हुँदा केही समय जिप्रका कञ्चनपुरमा काम गरेकी उनलाई उक्त घटनाबारे गहिरो जानकारी भएको भन्दै खटाइएको हो । अहिलेको टोलीमा प्रहरी अस्पतालका एसपी डा.आशिष दत्तलाई समेत पहिलोचोटि सामेल गरिएको छ । अघिल्लो अनुसन्धानमा संलग्न अंगुर जिसीसहितका टोलीको रायसहित लिइँदैछ ।
त्यस्तै, पूर्वमन्त्री डा.रामशरण महतको घरबाट सुरक्षाकर्मी तानिएपछि आफूलाई खतरा रहेको भन्दै फेरि गुनासो गरेका छन् । प्रधानमन्त्री प्रचण्डको हकमा प्रहरीले पुरानै पिएसओ (डिएसपी) सिद्धराज न्यौपानेलाई खटाएको छ । शेरबहादुर देउवालाई पनि डिएसपी प्रतिक राठौरकै निरन्तरता छ । प्रधानमन्त्रीलाई प्रहरीबाट १२५ जनाको टोली दिने प्रचलन छ ।
टिप्पणीहरू