फेरि पनि खतरा छ पार्टी फुटको
‘पहिचान र आत्मसम्मान’ का नाममा सद्भावना पार्टीबाट शुरु भएको मधेस केन्द्रित राजनीतिको पछिल्लो शक्ति सन्तुलन फरक किसिमले अभिव्यक्त भएको छ । यसचोटि निर्वाचनबाट मधेसको राजनीतिमा जसपा र लोसपाको ठाउँ जनमत पार्टीले लिएको छ । यससँगै, थारु समुदायमाझ राष्ट्रिय उन्मुक्ति पार्टी उदय भएको छ । थारु नेताहरू विजय गच्छदार, सुरेन्द्र चौधरीहरूलाई पनि पत्तो थिएन, त्यो धारको राजनीति यहाँसम्म आइपुग्ला भनेर । विजय गच्छदारले त रेशम चौधरीलाई जेलमा भेटेरै सहकार्यका निम्ति तयार भएको बताएका छन् । नत्र, त्यसअघि कहिल्यै उनले रेशमलाई भेटेका थिएनन् ।
अहिले थारु कल्याणकारी सभामा कांग्रेस, एमालेबाट अगाडि बढ्नुभन्दा थारुकै अलग शक्ति बनाउँदा राम्रो हुने निश्कर्ष निकालिएको छ । मूलधारका दलहरू अर्को चुनावमा झन् कमजोर हुने उनीहरूको अनुमान छ । अर्कातिर, महन्थ ठाकुर किंकर्तव्यविमूढको अवस्थामा छन् । शरद्सिंह भण्डारीले सत्ता गठबन्धनमा गएर मन्त्री बन्ने नीति ल्याएका छन् । महन्थको पहिलो रुचि छ, सर्वेन्द्रनाथ शुक्लामा । तर, उनी पक्षकै अरु नेता सर्वेन्द्रलाई रुचाउँदैनन् । मधेशी बाहुनका नातामा महन्थले रुचाएका हुन् । उनकै भित्रियाहरू त्यस आधारमा मान्छे रोज्नुहुँदैन भन्नेमा छन् । त्यसैले अर्को चुनावसम्म बचेखुचेको पार्टी पनि एउटै नहोला भन्ने अनुमान लगाइएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपाभित्र विभाजनको वीजारोपण भइसक्यो । हिजोको जसपामा महिन्द्रराय यादव र राजकिशोर यादवसँगै रहँदा महिन्द्र माओवादीमा जान चाहन्थे । राजकिशोरको त्यसमा रुचि थिएन । किनभने, उपेन्द्रले टिकट र मन्त्रीको ग्यारेण्टी गरेका थिए । अहिले उपेन्द्रले मन्त्रीका लागि एउटा अशोक राई वा पत्नी सुशीला र रामसहाय यादवलाई प्राथमिकताको सूचीमा राखेका छन् ।
अशोकले जसपाको शक्तिले जितेका हैनन्, एमालेको शक्ति कारक हो । एमालेहरू उनी मन्त्री बन्नुपर्छ भन्नेमा छन् । मन्त्री नबन्दा अशोकसँग भएका सांसदले दल विभाजन गर्न चाहेमा सकिने अवस्था छ । चुनावअघि केपी ओलीसँग सबै कुरा फाइनल गरेर रेणु यादव, प्रदीप यादव, राजकिशोर यादव, महिन्द्र रायहरू एमालेमा जान तयार भएका थिए । उनीहरूलाई रोक्नैका लागि एकता गरिएको बताइन्छ । रेणु अहिले संसदमा छैनन् । चुनाव जितेर आएका प्रदीप र राजकिशोर मन्त्री नहुँदा अशोकतिर लाग्ने देखिन्छ ।
तर, जसपाबाट दुईभन्दा बढी मन्त्री हुने स्थिति छैन । एकीकृत पार्टीमा, मधेस प्रदेशका अध्यक्ष रामबाबु यादव राजेन्द्र महतोको खास मानिस थिए । बीचमा महतोलाई छोडेर उपेन्द्रतिर लागे । सप्तरीमा धेरै ठूलो धनराशी खर्च गरी टिकट पाए । आफ्नै छोरा सुमितले उपेन्द्रलाई दुई करोड दिएको भन्ने गरेका थिए । त्यत्रो पैसा खर्च गरेर चुनाव लडेपछि अब मन्त्री नहुँदा उनी पनि त्यहाँ बस्दैनन् ।
सबैभन्दा विग्रहको स्थिति यहाँ छ । त्यसैले अहिले उपेन्द्र यादव आगोको भुङ्ग्रोमा फसेको भनिन्छ । सरकारमा अहिलेसम्म कसैलाई नपठाएको कारण पनि त्यही हो । प्रदीप, राजकिशोर, रामबाबु र अशोकलाई दिँदामात्रै पार्टी जोगिन्छ । जबकि, त्यति सीट पाउने सम्भावना शून्यप्रायः छ । उता, प्रदेश सरकारमा सिके राउतको दावी छ । उपेन्द्रले केपीसँग आफ्नो पार्टी जोगाउन मुख्यमन्त्री मागेका छन् । केपीसँग कुरा गरे पनि उनको मन बढी प्रचण्डसँग मिलेको छ ।
टिप्पणीहरू