एनटीसीले शेयरधनीलाई ४० प्रतिशत लाभांश दिने
नेपाल दूरसञ्चार कम्पनीले आर्थिक वर्ष २०७८–७९ को लाभांश घोषणा गरेको छ । आज काठमाडौँमा सम्पन्न १५ औं वार्षिक साधारणसभाले कूल मुनाफा रकमबाट प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कोरोना महामारीको प्रकोपबीच कम्पनीले सापेक्षित सफलता पाएको बताएका छन् ।
दूरसञ्चार क्षेत्रमा विद्यमान तीव्र प्रतिस्पर्धाको वातावरणमा पनि मुनाफाभन्दा बढी सेवाभावलाई प्राथमिकतामा राखी भौगोलिकरुपले अति विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक सेवाहरुको विस्तार गर्ने उनको भनाइ छ ।
विद्युतीय सुशासनको क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गर्नेतर्फ कम्पनीले आफ्नो कार्यक्रमहरु परिलक्षित गरेको उनले बताए ।
टिप्पणीहरू