अरुलाई बिगार्दा आफैँलाई आपत

अरुलाई बिगार्दा आफैँलाई आपत

उजुरीका चाङहरूको बीच एकजना जर्नेललाई एक वर्ष जागिर खान सर्वोच्च अदालतले त आदेश दियो, तर उनैलाई जंगी अड्डाले भने लाइन अरेष्ट गरी भित्रै थुनेको छ । शैक्षिक प्रमाणपत्र र नागरिकतामा जन्ममितिको फरक फरक अभिलेख भेटिएपछि पटक–पटक अदालत धाएर स्टे अर्डर ल्याएका उनले जागिरबाट अवकाशको पत्र बुझिसकेका थिए । यसबीच, अन्तरिम आदेशको पत्रसहित हाजिर हुन सैनिक मुख्यालय पुग्दा पक्राउ परे ।

अफिसको चिठीलाई मानेर सरासर घर गइदिएको भए यत्रो झमेलामा नपर्ने रहेछन् तर त्यत्तिका वर्ष जागिर खाएको संस्थाविरुद्ध सर्वोच्च जाने र संगठनको नीतिविरोधी गतिविधि गरेपछि लिगल (प्राड विवाक) का जर्नेल रत्नप्रकाश थापाले लगाएको उपायअनुसार पुरानो मितिमा नयाँ उजुरी पारेर अरु–अरु कुरामा पनि फस्दै गए । अहिले उनलाई बचाउनका लागि प्रधानमन्त्री र एमाले अध्यक्षकहाँ साथीभाइ र आफन्तहरूको दौडधुप चलिरहेको छ । जंगी अड्डाले उनको घर खानतलासी लिने, आर्थिक कारोबारबारे सूक्ष्म अध्ययन गर्नेलगायतका काम अगाडि बढाएको छ ।

उनीमाथि पहिले नै सैनिक अस्पतालको चार करोड घोटाला काण्ड थियो ।  भर्खरै तीनतारे जर्नेलबाट अवकाश पाएका बालकृष्ण कार्की दुई तारे हुँदै त्यसबारे अलग्गै छानबिन भएको थियो । पूर्णचन्द्रको सैनिक सहायक हुँदा प्रेमले त्यो उजुरी दबाएर राखे । १० बाहिनी महाराजगञ्जमा हुँदा निरीक्षणधिकृत विभागबाट कारवाहीको लेखापढी भएको थियो । त्यसबेला सैनिक सहायक र १० बाहिनी दुबै उनले हेर्थे । त्यहाँ आफूखुशी बजेट हालेर करिव दुई करोड घोटाला गरेको आरोप छ । यसबारे हालका ३ तारे सीताराम खड्काले रिपोर्ट बुझाएका थिए । सुर्खेतमा कमाण्ड सेनापति हुँदा ९ करोड बजेट अतिरिक्त लगेर नियमविपरित एकजना निकटस्थलाई भुक्तानी दिए । सैनिक सचिवको कार्यालयमा पनि विभिन्न शीर्षकमा बजेट राखेका थिए । 

१५ दिनपछि हुने अवकाशको चिठी बुझेर बिदा बसेका मान्छे, अदालतको आदेश आउनासाथ अफिस गएर कागजपत्रमा सही गर्न थालेपछि प्रधानसेनापति प्रभुराम शर्मा रुष्ट भए । जबकि, अदालतले आदेश गर्दैमा कोही कर्मचारी बहाली भइहाल्दैन, कार्यालयको प्रक्रिया पूरा गर्नुपर्छ । त्यसका लागि रक्षा मन्त्रालय हुँदै सैनिक मुख्यालयमा अदालतको आदेश पुगेर, जंगी अड्डाले त्यसबमोजिम काम लगाउने वा नलगाउने भन्ने निर्णय गर्न पाउँछ । तर, उनले प्रधानसेनापतिलाई नै च्यालेञ्ज गर्नाले अरु झमेलामा परेका हुन् । 

अर्कातिर ‘ओराली लागेको हरिणको चाल भो’ भन्ने गीतका लेखक तथा अवकाशको चिठी बुझेर घर बसेका जर्नेल आनन्द अधिकारी आफैँले लेखेको गीतझैँ बन्न पुगेका छन् । उनले पनि प्रेम शाहीले झैँ अझै एक वर्षको जागिर बाँकी रहेको जिकिर गर्दै रिट दायर गरे । आदेश आएको छैन । प्रबन्धरथी विभागबाट अवकाश पाएका हुन् । उनीहरूलाई प्रधानसेनापतिले मुद्दा नहाल भनेर सम्झाएका थिए । त्यसपछि बिदा बसे, तर मुद्दा पनि हाले । प्रेम शाहीले सिपाहीको नाममा राजधानीतिरै जग्गा किनेको तर ती सिपाही बेपत्ता भएको बताइन्छ । 

जर्नेल अशोक सिग्देललाई जागिरमा दुई तीन महिना भाँजो हाल्ने काम गरेका उनले निर्मल थापा, ताराध्वज पाण्डेहरूलाई रोक्न सकेको भए सात–आठ महिना बढी जागिर खान्थे । भक्तपुरस्थित सैनिक विद्यालयका कर्णेल भूपाल बस्नेतलाई करिब एक करोड तिराउने उनै हुन् । त्यही तनावमा परेकी भुपालकी पत्नीको हृदयघातबाट निधन भयो । अर्का जर्र्नेल पंकज कार्कीलाई पुरानो सुडानको यौनकाण्ड लगाएर लखेट्ने पनि उनै थिए । त्यही पीरले पंकजका बुबा फिल्म निर्देशक चेतनको निधन भयो ।

सैनिक अस्पतालमा रहँदा गरेका बदमासी भेट्टाउने जर्नेल प्रयोगजंग जबरा उल्टै अप्ठेरोमा परे । बदलास्वरुप उनलाई वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा रहँदा आर्थिक अनियमितता गरेको आरोपसहित जागिरबाट निकालियो । उनले एनडिसी कोर्ष गर्न पाउने थिएनन् । दैलेखमा रहेका फूलकर्णेल महेन्द्रजंग शाहसँग तत्कालिन प्रधानसेनापति गौरवसमशेर राणाको राम्रो सम्बन्ध भएका कारण उनकै सदाशयतामा उक्त कोर्ष गर्ने अवसर पाए । 

यसैबीच, गोरखामा प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । सेनाले पुस २७ देखि गोरखामा कालो लुगामा प्रस्तुत हुने गुर्जु पल्टनलाई नियमित रुपमा राख्ने भएको छ । १५ जनाको संख्यामा  शार्दूलजंग पल्टनका उनीहरू भरुवा बन्दुकसहित तैनाथ हुने गर्दछन् । त्यसबाहेक विभिन्न सभा, समारोहमा पनि उक्त टोली पुग्ने गरेको छ । त्यस्तै, सेनाले पृथ्वीनारायण शाहले मकवानपुर गढी, चिसापानी गढी, सिन्धुली गढीसहित जहाँ–जहाँ किल्ला खडा गरेका थिए, त्यहाँ–त्यहाँ गुर्जुको पल्टन तैनाथ गर्र्दैछ ।

 

टिप्पणीहरू