नौथरी रंगको सत्ता संयोजनलाई शुभकामना !
– गोविन्द भट्टराई
पुराणमा पवित्र भनिएको, आस्थामा अब्बल मानिएको बागमतीमा धेरै पानी बगेको छ तर पछिल्ला दिनमा स्वच्छ पानीभन्दा फोहोर बढी देखियो । जस्तो काठमाडौंको राजनीति छ । राजनीतिमा इमान र बागमतीमा सफा पानी पाउने कुरा तत्काललाई कल्पनामा सीमित भएको छ ।
बागमतीलाई ढलमती भने फरक पर्दैन अनि नेपालको राजनीतिलाई छल नीति भने अपराध गरेको मानिँदैन ! नेपाली नागरिकका नाममा नेताहरूले ढाँट, छल गर्ने भएपछि किन यसलाई छलनीति नभन्ने ? खैर, सन्दर्भहरू अनेक छन् राजनीति छल नीतिबाट ढलनीति बन्दै गएको । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका लागि तत्कालीन शासकहरू विरुद्ध नागरिक अभियान थालनी गर्ने नेता अनि विगतका शासकलाई अर्थात् राजतन्त्रलाई राष्ट्रको मियो मान्ने, फेरि पनि महाराजकै हुकुम बरकरार गरिनुपर्छ भन्ठान्ने पात्रहरू पुस २७ को साइत पारेर अंगालोमा बेरिई राष्ट्र निर्माणको लोकाचार पार्नुलाई नागरिकले निरिहतापूर्वक नियालिरहेका छन् । नागरिकमा बिद्रोहको चेत जागेको छैन, सायद अझै केही समय नौ थरी रंग बोकेका नेताले नागरिकलाई रनभुल्लमा पार्नेछन् ।
भारत, अमेरिका, चीन जसले जे चाह्यो त्यही लागू हुन्छ पशुपतिनाथले नागरिकको कल्याण गर्ने मेरो देशमा । २ वर्षअघिको प्रचण्डघातलाई ओलीले देउवालाई दिउँसै तोरीको फूल देखाएर पश्चातापमा रूपान्तरण गरिदिएका छन् । आपसमा मौनता साँध्ने दाहाल र ओलीबीच एकाएक प्रेमभाव बढेको छ भने बिहानसम्मका हितैषी देउवा र दाहालबीच कटुता झाँगिएको छ । सपना देखेका नेपाली रनभूल्लमा छन् । थाहा छैन नौ थरी रंगको संयोजनमा यो सत्ता कहिलेसम्म जीवित रहन्छ ? यद्यपि सत्ताआरोहणको प्रचण्ड लिप्सालाई ओलीले तथास्तु गरिदिएका छन् ।
नागरिक दंग छन् अब टेलिभिजनमा नागरिक हक अधिकारका कुरा गर्ने लामिछानेबाट न्याय पाइने भयो, प्रशासनबाट सहज सेवा मिल्ने भयो अनि दलालका दिन गए भनेर । टाइम कार्ड लागू भैसक्यो तैपनि राहदानी, नागरिकता र सवारी अनुमतिपत्रका लागि लाइनमा बस्ने क्रम घटेको छैन । सुनिन्छ, सेटिङ नतोडिएसम्म प्रवृत्ति हराउँदैन । राजा चाहिन्छ भन्ने, राजा चाहिँदैन भन्ने अनि नागरिक सर्वोच्चताको कुरा गर्नेहरूले १०० दिनमा कस्तो राग देखाउने हुन् ? हेरेर बाँकी कुरा गरौंला । देउवा र शेखरको मतो मिलेमा साथै नेपाललाई मुसा ठानेर बिरालाको भूमिकामा उत्रने देशहरूको साठगाँठ भएमा कुन दिन प्रधानमन्त्रीको अनुहार फेरिने हो ? भविष्यवाणीको हतारो नगरौं । बार्दलीको मिलाप दिगो होस् । जय महाराज, लालसलाम अभिवादनसहित नागरिकले सास्ती खेप्नुपरे पनि अहिलेलाई सत्ता फापोस् भन्ने शुभकामना !
टिप्पणीहरू