मधेशमा पाइने थरीथरीका महामानव
– मनोजकुमार कर्ण
गणतन्त्र ल्याउने र गणतन्त्र फालेर राजतन्त्र ल्याउन खोज्ने, मधेशी, आदिवासी, जनजाति, महिला, थारू, मुस्लिम आदिका भाषिक पहिचान, आरक्षण र समानुपातिक समावेशी अधिकारको कुरा गर्नेहरु एकै ठाउँमा । अर्कातिर कांग्रेसबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापाहरुको समूह ! स्वतन्त्र भनिएका प्रभु साह र डा. अमरेशकुमार सिंहहरू ।
शपथग्रहणमा जनमत पार्टीका सबै सांसदले मधेशमा सर्वत्र बोलिने ‘ठेट’ भाषा प्रयोग गरे । उपराष्ट्रपति परमानन्द झालाई ऊ बेला गैरमधेशीहरूले नेपाली भाषाबाहेकको शपथ नमान्ने भनेर पेलपाल गरेका थिए । मैथिली ब्राह्मण, कायस्थ परिवारको हैकम लाद्ने पारिवारिक भाषा होइन तर मधेशी आयोगमा एमालेद्वारा नियुक्त अध्यक्ष विजय दत्तजस्ता घमण्डी जनकपुरियाको हैकम बेग्लै छ । तत्कालीन राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई अपमान गर्दै २०७२ सालको संविधान जारी गर्ने सुवाषचन्द्र नेम्वाङलाई आज उनै ‘आदिवासी–जनजाति’को नाममा राष्ट्रपति नभई भएको छैन । यिनैले विश्वकै उत्कृष्ट संविधान हो भनेकामा उनकै पार्टीका अध्यक्ष केपी ओलीले २–२ चोटी संसद् विघटन गर्दा र पछिल्लोपटक देउवा सरकारले २–२ चोटी संसदबाट नागरिकता विधेयक पारित गरेर प्रमाणिकरणका लागि पठाउँदा राष्ट्रपति विद्या भण्डारीले रोकेर राख्दा चुँसम्म बोलेनन् ।
कुनै बेला डा. शेखर कोइरालालाई पद्मकन्या क्याम्पसको डेनिस हलमा पुस १७ गतेको बिपीको मेलमिलाप दिवश पारेर मैले ‘मधेशवादी दलहरूलगायत आम मधेशीको चाहनाविपरीत कांग्रेसबाट तपाईंहरू राज्य पुनःसंरचनामा किन उत्तर–दक्षिण र ५ प्रदेश नै हुनुपर्छ भन्नुहुन्छ ? भनी सोध्दा झर्केर ‘किन पूर्व–पश्चिम नै हुनुपर्ने ?’ भनी थर्काएका थिए । ०७२ सालमा संविधान जारी भएपछि नेपाल–भारत सीमामाथि धर्नासँगै नेपालमा आयात ठप्पको बेला बौद्धको होटल हायातमा गगन थापाले कार्यक्रम गर्दा किरण यादवले वीर मधेशी शहीदलाई ‘पागल’ भनिन् । मैले तत्काल ‘तपाईंहरू मधेश जाँदा मागमा समर्थन जनाउने तर उपत्यका फर्कंदा शीर्ष नेतालाई गलत रिपोर्टिङ गर्ने ? यहाँ अधिकारका लागि प्राण दिनेलाई पागल भन्दा लाजशरम लाग्दैन ? भन्नासाथ उनै डा. शेखरले मलाई बोल्नमा रोक लगाएका थिए ।
मधेशी अधिकारलाई समेट्न संविधान संशोधन गगन–शेखरले गराउन सकेका छैनन् तर उल्टै रेशम चौधरीहरूको रिहाइवाला फौजदारी अध्यादेशको विरूद्ध उभिएर कित्ताकाट गरेका छन् शेखर–गगनहरूले । ‘मधेशविरोधी स्वभाव’ मिलेरै केपी ओलीहरूसँग चोचोमोचो मिलाएका हुन् भने रास्वपा, राप्रपा, मधेशी अधिकार र प्रदेश–संघीयताविरूद्ध उभिएका वा उभ्याइएका पार्टीहरूसँग मिलेका हुन् । एमाले, राप्रपा, रास्वपाले संघीयता र प्रदेश खारेज गरी पुरानो विकेन्द्रीकृत विकासको मोडलमा नेपाललाई ल्याउने कुरा गर्दा पहिला हिमाल, पहाड, तराई अनि १४ अञ्चल र ७५ जिल्लाकै संरचना हुँदा पनि विकास किन भएन ? कुन समुदाय मात्र लाभान्वित भए ? किन सो संरचनाले मधेशमा दोस्रो दर्जाको अनुभूति भएर देश नै टुक्र्याउनेसम्मको नारा उठ्यो ? भन्ने विचार खै गरेको ?
हाल महन्थ ठाकुरलाई खुसामद र धम्की दिई राष्ट्रिय सभा सदस्य पदले मात्र नपुगेर कथित विद्रोह गरी तमलोपा पुनर्गठन गरेका वृषेशचन्द्र लालले मलाई ‘गिरिजाबाबुको त अचम्म नेतृत्व क्षमता थियो, एकै चोटी एउटा समूहलाई एउटा माग लिएर सडकमा उतार्ने, दोस्रोलाई सो को विरोध गर्न लगाउने, तेस्रोलाई त्यसमाथि खेलेर छद्मरूपमा तोडफोड गराउन भन्ने अनि चौथोलाई मान्छे हताहती भएपछि सद्भाव ¥याली निकाल्न खटाउने गर्थे तर आजकालका नेताहरू त खत्तम छन्’ भनेका थिए ।
(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका)
टिप्पणीहरू