नेपाली पक्षलाई झुक्याउँदै, फकाउँदै र तर्साउँदै छिमेकी
दार्चुला सदरमुकाम खलंगा क्षेत्रको महाकाली नदी किनारमा छिमेकी भारतले सीमा मिचेर तटबन्ध निर्माण गरिरहेको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट पठाएर तटबन्ध निर्माणको विरोध गरे पनि भारतले टेरेको छैन । स्थानीय प्रशासनिकस्तरको छलफलमा भने भारतीय पक्षले नेपाली पक्षलाई झुक्याउँदै आएको छ ।
दुई देशका स्थानीय प्रशासनबीच सम्पर्क गरिए पनि तटबन्ध निर्माणमा भइरहेको सीमा अतिक्रमण रोकिएको छैन । सदरमुकाम खलंगाको ठीक पारीपट्टि रहेको धारचुला बजारको सुरक्षाका लागि भन्दै महाकाली नदीको प्राकृतिक बहावमा १० मीटरभन्दा बढी क्षेत्र अतिक्रमण भइरहेको छ । नदी किनार क्षेत्रमा तटबन्धको संरचना निर्माणको नाममा उक्त तटबन्धमाथि दुई लेनको सर्भिस रोड निर्माणमा भारत सरकार जुटेको छ ।
दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा नेपाल सरकारले ५ किमि लामो पक्की तटबन्धको संरचना निर्माण अन्तिम चरणमा पु¥याएको छ । नेपालकोजस्तै भारतले पनि नदी किनारमा तटबन्ध निर्माण गर्न लागेको हो । नेपालतर्फको तटबन्ध निर्माण गरिँदा महाकाली नदीको प्राकृतिक बहावलाई असर नपर्ने गरी संरचना बनाइएको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ ।
०७० सालको वाढीपछि सदरमुकाम क्षेत्रको सुरक्षाका लागि नेपाल सरकारले ३ अर्ब ५ करोड लागतको पक्की तटबन्धको संरचना निर्माण शुरु गरेको थियो । नदीको बहाव क्षेत्र ९० मीटर चौडाइ राखेर नेपालतर्फको तटबन्ध संरचना बनाइएको आयोजनाले जनाएको छ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा नदीको औसत प्राकृतिक बहाव क्षेत्र ९० मीटर चौडाइमा हुने उल्लेख गरिएको छ । नेपालतर्फको तटबन्ध निर्माण गरिँदा नदीको प्राकृतिक बहाव क्षेत्रलाई ध्यानमा राखिए पनि हाल भारतले नदीको बहाव क्षेत्र साँघुरिने गरी तटबन्ध निर्माण गरिरहेको छ । धारचुलाको मुख्य बजार क्षेत्रको नदी किनारमा ९ सय ८५ मीटर लामो पक्की तटबन्ध निर्माण धमाधम भइरहेको छ ।
भारतले निर्माण गरिरहेको तटबन्धको संरचनाले भविष्यमा थप जोखिम निम्त्याउनेमा स्थानीय बासिन्दा चिन्तित छन् । यसका साथै पुलघाट क्षेत्रमा भारततर्फको नदी किनारमा थुप्रिएको ढुंगामाटो नहटाइँदा नदीको बहाव नेपालतर्फ फर्किएको छ । नेपाली पक्षले पटक–पटक नदी किनारमा थुप्रिएको ढुंगामाटो हटाएर मध्यभागमा नदीको पानी फर्काउन आग्रह गर्दै आएको छ । उल्टैै नदीलाई ४० मीटर नेपालतर्फ डाइभर्सन गरेको छ । अहिले बंगाबगर क्षेत्रको करिब २ सय मीटर लामो क्षेत्रमा महाकाली नदीको बहाव नेपालतर्फको तटबन्धको संरचना ठोक्किएको छ ।
सदरमुकाम खलंगाको बंगाबगर क्षेत्रमा नेपालतर्फ पनि नदी किनारमा ढुंगामाटो थुप्रिएको छ । नेपाली पक्षले पुलघाट क्षेत्रमा भारततर्फ थुप्रिएको ढुंगामाटो हटाएपछि मात्रै बंगाबगर क्षेत्रको नेपालतर्फको ढुंगामाटो हटाउने अडान राखेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय दार्चुलामा भएको दुई देशका अधिकारी र स्थानीय बासिन्दाबीचको छलफलमा पनि यही अडान राखिएको छ । भारतीय पक्षले छलफलको क्रममा नेपाली पक्षलाई फकाउने, झुक्याउने र थर्काउने प्रयास गरेको छलफलमा सहभागी स्थानीय बताउँछन् ।
‘दुई देशबीचको मित्रता भन्दै हामीलाई फकाएर बंगाबगर क्षेत्रको ढुंगामाटो हटाउन भारतीय पक्षले आग्रह गरेको छ’ छलफलमा सहभागी एक स्थानीयले बताए, ‘भारततर्फ तटबन्धको संरचना नदीको सीमा मिचेर बनाउने प्रस्ताव पनि भारतीय पक्षले राखेपछि नेपाली पक्षले लिखित सहमति गर्न मानेको छैन ।’ दुई देशबीचको मित्रता र समझदारीको नाममा झुक्याएर नदीको सीमा मिची तटबन्ध संरचना निर्माण गर्न नेपाली पक्षको लिखित सहमति लिने भारतीय प्रयास देखिएको छलफलका अर्का सहभागी बताउँछन् ।
छलफलमा सहभागी नेपाली पक्षले भारतीय प्रस्तावमा असहमति जनाएपछि व्यास जाने कुञ्चा (बसाइ–सराई)मा तपाईरूलाई सहयोग चाहिएला नि ? भन्दै भारतीय पक्षका प्रतिनिधिले धम्कीसमेत दिएको ती सहभागी बताउँछन् । तटबन्ध निर्माणमा अवरोध गर्दै नेपालतर्फबाट ढुंगा प्रहार गरेको आरोपसहित धारचुलास्थित पुलिस थानामा ७ जना नेपालीविरुद्ध मुद्दा दर्ता समेत गरिएको छ । ‘मुद्दा दर्ता गरेर नेपालीहरूमाथि दबाव बढाउने भारतीय प्रयास देखिन्छ’ बंगाबगरका एक स्थानीय बताउँछन्, ‘व्यास जाने स्थानीय बासिन्दाको बाध्यतामाथि खेलेर भारतीय मोटरबाटो प्रयोग गर्न नदिनेसम्मको धम्की दिएर नेपाली पक्षलाई गलाउने भारतीय चाल छ ।’
टिप्पणीहरू