निर्मलाको बलात्कारी उही नै होला घुमिफिरी
० पैसा तिर्ने होइन ?
– तिर्ने ।
० कहिले तिर्ने ?
– तिर्ने, तिर्ने ।
० अनि तिर्नु न त ।
– कुन पैसा ।
नेपालका चर्चित हास्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको संवादजस्तै निर्मला पन्तको बलात्कार र हत्याकाण्डको गुत्थी कसरी सल्टाउने भन्ने अवस्थामा पुगेको छ । त्यसबेला डिएसपी अमर अंगुर जिसीले मानसिक सन्तुलन ठीक नभएको भनिएका दिलिप बिष्टलाई दोषी ठह¥याएका थिए ।
तर, उनी दोषी नभएको र डिएसपी जिसीको अनुसन्धान नै फितलो भएको भन्दै बिष्टलाई त्यत्तिकै छाडियो । त्यसबेला दिलिप बिष्ट दोषी होइनन् भन्दै प्रहरीविरुद्ध जाइलाग्ने रवि लामिछाने अहिले गृहमन्त्री भएका छन् । र, उनले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छाड्न प्रहरीलाई आदेश दिएका छन् । उनको आदेशपछि गुत्थी सुल्झाउन डिआईजी दुर्गा सिंहको नेतृत्वमा सिआईबीका तीन जना र अस्पतालका मनोचिकित्सक डा. आशिष दत्त खटिएका छन् ।
यसअघि नै तत्कालीन आइजिपी सर्वेन्द्र खनालसँग एक वर्षभित्र निर्मला पन्त हत्याकाण्डको दोषी पत्ता लगाएर कारबाही गरिछाड्छु भन्दै कञ्चनपुर जिल्लाको प्रहरी प्रमुख भएर एसपी मुकुन्द मरासिनी र दिनेश आचार्यहरू गएका थिए । तर यी दुवै अधिकृत नाकाम भएर फर्किए । कञ्चनपुर बसेर मुद्दा हुँडल्नेबाहेक अरु केही काम गर्न सकेनन् । मरासिनी अहिले प्रहरी एकेडेमीमा एसएसपी छन् ।
त्यसबेला जिसीको अनुसन्धानमा दोषी आरोपित बिष्ट अहिलेको अनुसन्धानबाट पहिलो निशानामा पर्ने बताइन्छ । यसै कारणले गर्दा मनोचिकित्सकलाई टोलीमा सामेल गरिएको छ । नेपाल प्रहरीको इतिहासमा निर्मला पन्त बलात्कारपछिको हत्याप्रकरणलाई सबैभन्दा बढी समय, श्रम र पैसा खर्च गरिएको मुद्दाको रूपमा लिइन्छ ।
बिष्टले दिएको बयानमा घटनाको सिलसिलेवार बयान देखिन्छ । यस्तो बयान त्यसबेला मात्र सम्भव हुन्छ जुन ठाउँ वा घटनाबारे व्यक्ति जानकार वा सम्बन्धित हुन्छ । यसबाहेक निर्मलाको किलकिले (घाँटी) थिच्न देब्रे हात प्रयोग भएको रिपोर्टमा देखिन्छ । र, बिष्ट देब्रे हाते भएको, सेनाको तालिममा किलकिले थिचेर कसरी हत्या गर्ने भन्ने कुरासमेत सिकेको उनैले बताएका छन् । बिष्ट सो बाटो हिँड्ने अरु महिलाप्रति पनि यौन मनशायले आक्रामक रूपमा प्रस्तुत हुँदै आएको पुष्टि भैसकेको । यिनै कारणले गर्दा आरोपित बिष्ट नै दोषी करार हुन सक्ने सम्भावना बलियो रहेको बताइन्छ ।
तर, डिएनएलगायत भरपर्दो र साक्ष्य प्रमाणको कमिका आधारमा अदालतबाट भने उनी छुट्न सक्ने सम्भावना पनि प्रवल रहेको निर्मला पन्तको केशबारे स्वतन्त्र तवरले अध्ययन तथा अनुसन्धान गरिरहेका एक विज्ञले जानकारी गराए ।
टिप्पणीहरू