सशस्त्रमा पाप धुरीबाट करायो

सशस्त्रमा पाप धुरीबाट करायो

प्रहरीको रासनमा गडबड गर्ने, कोशेली मागिरहने र बिदा छाडिदिएबापत खाना, खाजाको रकम सबै तानेर दिक्क बनाउने सशस्त्र प्रहरीका प्राविधिक एसएसपी प्रमोद साहले शान्ति सेनाबाट फर्किनेलाई मदिरामा हैरान पार्ने गरेका छन् । १२ चक्के ट्रकमा हाली ८ ट्रक गाडीका पार्टपुर्जाहरू बलम्बुस्थित सशस्त्र भण्डारस्थलमा लग्ने भनी बीचमै बेचेर ३० लाखभन्दा बढी कमाएका प्रमोद यस घोटाला काण्डमा कारवाही नभएपछि अनियमितता गर्न र कमाउन थप हौसिएका छन् । यससम्बन्धी सामग्री जनआस्थामा प्रकाशित भएपछि त्यतिबेला एसएसपी प्रदीप पाल ( हाल सुर्खेत बाहिनी) को संयोजकत्वमा छानबिन समिति गठन भई अनियमितता भएको ठहरसहितको प्रतिवेदन कानुन शाखामा बुझाइए पनि कारवाही नगरी थन्काइएपछि उनमा जे गर्दा पनि हुन्छ भन्ने मानसिकता बनेको छ । 

अहिले त जागिर अवधिमा १ पटक र २ पटक मात्र विदेश गएका दर्जनौं हुँदाहुँदै ३ पटक गइसकेका तीर्थराज बर्तौलालाई चौथो पटकका लागि चयन गरेका छन् । एकपटक मात्र शान्ति गएका राजकुमार तामाङ, वीरबहादुर तामाङ, उमेश बन, गुप्तबहादुर सुनुवार, जसीराम बुढा, हरिश्चन्द्र दाहाल, रविन्द्र खड्का, अजय महर्जनहरूमाथि अन्याय गरी प्रमोदले चौथो पटक तीर्थराजलाई सिफारिस गरेका हुन् । तीर्थकै उमेरका तर दुई पटक मात्र गएकाहरू सुमन केसी, लीलाबहादुर आचार्य, मान बहादुर बुढा, सुमन केसी लगायत पनि तेश्रो पालो कुरिरहेका छन् । सशस्त्रले हालै कार्यान्वयनमा ल्याएको शारिरीक मापदण्ड पनि नपुगी तीर्थराज फेल भएका थिए । 

एक जना प्रहरीलाई काजमा पठाए भने ३ जनाको मिलाएर खानु त नियमित कार्यजस्तै हो । उनले सानेपामा २ करोडभन्दा बढी हालेर खरिद गरेको घर बैंकमा रहेको र किस्ता तिर्न नसकेपछि लिलामीमा जानै लागेको छ । जसबाट घर खरिद सम्झौता गरेका थिए ती मानिस किस्ता तिर्न नसकी फरार भएपछि पाप धुरीबाट कराउन लागेको बताइएको छ । बैंकमा राखिएको घर सस्तोमा पाइने भएपछि प्रमोदले शुरुमा १ करोड र पछि फेरि १ करोड गरी जम्मा २ करोड रुपैयाँ घरधनीलाई दिएका थिए । एसपी हुँदादेखि सवारी प्रमुख भएर बसेका प्रमोद एसएसपीमा बढुवा भएर पनि त्यहीं रहेका छन् । अनियमित कमाइबाट माथिका सबैलाई खुशी बनाई तल्ला तहकालाई बिरामी होउञ्जेल पेल्ने प्रमोदजस्ता हाकिमले उन्मुक्ति पाइरहँदा सशस्त्रले सीमा सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ला र ?

टिप्पणीहरू